उहाँ पनि: आरक्षण र पहुँच शिक्षामा
राजेन्द्र फुयाल
गुल्मीको गरिब परिवारमा जन्मेर ठूलीआमासँग हुर्कंदा विना ज्ञवालीलाई घरको चौघेरा नाघेर सिंहदरबार कुल्चुँला भन्ने लागेको थिएन । झन्डै तीस वर्षको उमेरसम्म उनका लागि औपचारिक शिक्षाको ढोका खुलेको थिएन । आफ्नै प्रयासमा अधबैंसे उमेरमा विश्वविद्यालय टेकेकी ज्ञवाली नयाँ संविधानले महिला र निम्न वर्गका सबैलाई शिक्षामा अवसर दिलाउने पक्षमा छिन् ।
गुल्मी जुभुङ गाविसमा ०१५ मा गौतम परिवारमा जन्मिएकी ज्ञवाली तीन वर्षमै ठूलीआमाको घर जोहाङमा लगिइन् । बिरामी बाबु, कमजोर आर्थिक अवस्थाका कारण उनको लालनपालन ठूलीआमाबाट भयो । १३ वर्षको कलिलो उमेरमै उनको विवाह भयो, मानकोटका विनोद ज्ञवालीसँग । ०३३ देखि उनी परिवारसँगै बर्दियाको सूर्यपटुवा- ८ मा बसाइँ सरिन् । राजनीतिमा लागेका श्रीमान, ०३५ को विद्यार्थी आन्दोलन, ०३६ को जनमत संग्रहले सामाजिक परिवेशबारे बुझ्ने र चेतनाका आँखा खोल्ने अवसर दियो ।
शिक्षा दिवसको शुभकामना दिने सन्दर्भमा रेडियोबाट प्रसारित सन्देशले उनको जीवन बदलिदियो । शिक्षा भनेको ज्योति हो भन्ने सुनेपछि उनलाई पढाइको भोक जाग्यो । तर भन्नेबित्तिकै पढ्ने वातावरण कहाँ पाउनु ? उनी सम्झन्छिन्- 'गीता लक्ष्मी ज्ञवाली -शिक्षिका) ले दिनुभएको प्रेरणा नै अघि बढ्ने आधार बन्यो । श्रीमान र परिवारले मद्दत गर्नुभयो ।' भारतबाट एसएलसी दिने प्रयास पनि असफल भएपछि उनले स्थानीय त्रिभुवन माविका शिक्षकहरूसँग सहयोग मागिन् । कखरा चिनेर केही धार्मिक ग्रन्थको भेउ पाएकी उनले सिधै नौ कक्षामा प्रवेश पाइन् । विद्यालय पुग्न वनको बाटो, खोला तरेर एक घन्टा हिँड्नुपथ्र्यो । गृहिणीलाई दिनहुँ यसो गर्न सम्भव थिएन । घरमै बसेर गरेको तयारीबाट उनी ०४४ मा सहभागी भएको एसएलसी टेस्ट परीक्षामा अंग्रेजी र गणित विषयमा असफल भइन् । अर्को वर्ष राजापुर गएर ट्युसन पढिन् । तर फेरि पनि गणित विषय फलामका च्युरा भयो । परीक्षाहलमै बेहोश भएपछि चारदिशामा उनको चर्चा
भयो । एसएलसी पास नहुन्जेल परीक्षा फारम भरिराख्न उनले जोहो गरेको १२ प्रति फोटोको काम फेरि आयो । 'भाउजू पास हुँदा भैंसी चराउने राजु र पल्पु -घरमा पालेको कुकुर) पनि पास हुन्छन्' भन्ने छेडले उनलाई कम्ती असह्य बनाएको थिएन । तर अहिले उनलाई लाग्छ, 'त्यो त मार्गदर्शन रहेछ ।'
अर्को वर्ष परीक्षाको तयारीका लागि उनले आमाको सहयोग लिइन् । माइत गएर आमालाई बोलाइन्, घरमा राखेर बच्चा जिम्मा लगाइन् र हिँडिन् ट्युसन पढ्न । इच्छाशक्ति र निरन्तरको प्रयासले नहुने के थियो र ? नतिजा सार्वजनिक हुँदा उनको सिम्बोल नम्बर दोस्रो श्रेणीको लहरमा देखियो । ०४७ मा उनी क्याम्पस पढ्दा छोरा कपिल, उनी ९ कक्षामा थिए । ०६० मा उनले त्रिविबाट शिक्षाशास्त्रमा स्नातकोत्तर गर्दा कपिलले पनि विद्यावारिधीका लागि योग्यता पुर्याएका थिए । अहिले आमाले छोरालाई र छोराले आमालाई पहिले पीएचडी गर्न प्रोत्साहित गरिरहेका छन् । त्यसो त टेष्ट परीक्षाको तयारीमा गणित विषयमा आमाका गुरु उनै छोरा थिए । '१० रुपैयाँ दिएर फकाएर हिसाब सिकाउन लगाउँथेँ', उनी सम्झन्छिन् । उनलाई बबई बहुमुखी क्याम्पस बर्दियाबाट प्रमाणपत्र उत्तीर्ण गर्न तीन वर्ष र स्नातक गर्न चार वर्ष लाग्यो । औपचारिक अध्ययनसँगको यो संघर्षमा उनी राजनीतिबाट भने टाढा भइनन् । कतिपय बेलामा त परीक्षा नै छाडेर पार्टी काममा हिँडेको सम्झना छ उनीसँग ।
अहिले उनी अनेमसंघ केन्द्रीय सदस्य र एमाले जिल्ला कमिटी सदस्य छिन् । पार्टीले उनलाई समानुपातिक सभासद बनाएको छ । संविधानसभाको सामाजिक, सांस्कृतिक ऐक्यबद्धताको आधार निर्धारण समिति, व्यवस्थापिकामा विशेष सुरक्षा समितिको सदस्यको जिम्मेवारी पूरा गर्न उनको शिक्षाले निकै मद्दत गरेको छ । संस्कृतिमा महिलाको सशक्तीकरण, आफैं पछाडि पर्नु र पार्नुको कारण खोज्ने र समाधान गर्ने उनका प्राथमिकता हुन् । राज्यका सबै क्षेत्रमा महिलाको समानुपातिक सहभागिता उनको पनि एजेन्डा हो । 'महिलालाई अवसर दिएपछि मात्र क्षमताको मापन हुन्छ', उनी भन्छिन् । पुरुषको नेतृत्व स्वीकार्न सहमत हुने, तर महिलाको नेतृत्व स्वीकार्न कठिन मान्ने प्रवृत्तिले नेतृत्व तहमा महिलाको समानुपातिक हिस्सेदारी नभएको उनको ठम्याइ छ । 'अवसरलाई सदुपयोग गर्नेमा कमी छ', उनी भन्छिन्- 'आमरूपमा शिक्षामा अवसर सिर्जना गर्नुपर्छ । राज्यको दायित्वभित्र शिक्षालाई पार्नुपर्छ ।'