Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चौरमा राखेर उपचार

Published on 3:30:00 PM //

बाहिरबाट हेर्दा खोरजस्तै छ, भित्र भने जताततै औषधि र कागजपत्र छन् । कसैले अनुमान गर्दैनन्, यहाँ बिरामीको उपचार हुन्छ भनेर । तर, गुल्मीको बाम्घा उप-स्वास्थ्यचौकीको अवस्था हो यो । चौकीको आफ्नै भवन नहुँदा उपचारमा समस्या भएको छ । कोठा अभावमा चौरमा राखेर बिरामीको उपचार गर्न बाध्य भएको ग्रामीण स्वास्थ्य कार्यकर्ता गोकुलप्रसाद गौतमले बताए । 'भित्र औषधि र कर्मचारीलाई मात्र ठिक्क हुन्छ, साँघुरो कोठामा असजिलो भएकाले चौरमा राखेर उपचार गर्न बाध्य छौँ,' गौतमले भने, 'आपmनै भवन नबन्दा गाविस भवनको एउटा कोठामा औषधि, कागजपत्र मात्र राखिएको छ ।' ठाउँ अभावमा गर्भवती महिलाको परीक्षणमा समस्या भएको मातृशिशु कार्यकर्ता अरुण ज्ञवालीले बताइन् । 

भौतिक पूर्वाधार अभावमा ०५४ सालमा स्थापित सो चौकीलाई गाविसले एउटा कोठा उपलब्ध गराएको हो । ठाउँ अभावमा सामान्य बिरामीको चौरमा परीक्षण गरे पनि गम्भीर प्रकृतिका बिरामीलाई भने गाविसका कर्मचारीलाई बाहिर निकालेर उपचार गरिन्छ । भवन नभएपछि चौकीमा समस्या आएको स्थानीय हरिप्रसाद ज्ञवालीले बताए । उप-स्वास्थ्यचौकीको नयाँ भवन निर्माणका लागि कसैले पहल गरेको छैन । स्थानीय ज्ञानप्रसाद शर्मा भन्छन्, 'जेनतेन गाविस भवनमा कार्यालय राखियो, तर, भवन बनाउन नेता तथा राजनीतिक दलले बेवास्ता गरे ।' 

हाल चौकी रहेको बाम्घा-५ मा सार्वजनिक जग्गा नभएकाले भवन निर्माण गर्न समस्या भएको गाउँलेको भनाइ छ । 'नयाँ भवन निर्माणका गर्न सार्वजनिक जग्गा छैन,' स्थानीय रामप्रसाद भण्डारीले भने, 'उप-स्वास्थ्यचौकी बाहिर सार्न पनि दिइएको छैन ।'
स्रोत: नयाँपत्रीका

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग