Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सौताको भन्दा बढी छोरा जन्माउन खोज्दा जन्मे तिम्ल्याहा छोरी

Published on 7:28:00 PM //


गगनशिला खड्का गुल्मी, ६ असोज
कान्छी श्रीमतीले सौताको भन्दा बढी छोरा जन्माउने सपना देखेपछि गुल्मीको एक दलित परिवार बिचल्लीमा परेको छ । दैनिक ज्यालादारीबाट गुजारा चलाउँदै आएका नयाँगाउँ- ५ का धनबहादुर नेपालीकी कान्छी श्रीमती सुन्तलीले नवौँ सन्तानका रूपमा तिम्ल्याहा छोरी जन्माएपछि उनको परिवार बिचल्लीमा परेको हो एक छोरा र तीन छोरी पाएर जेठी श्रीमतीको मृत्यु भएपछि धनबहादुरले दोस्री श्रीमतीका रूपमा सुन्तलीलाई भित्र्याएका थिए । एक छोरा र एक छोरीकी आमा सुन्तलीले सौताको भन्दा बढी छोरा बनाउने आशमा गत साता तिम्ल्याहा छोरी जन्माएकी छिन् । धेरै सन्तान जन्माएपछि छाक रोकिएका नेपाली परिवारलाई स्थानीय महिलाले चन्दा उठाएर बिहान बेलुकाको छाक टारिदिएका छन् । सुत्केरी खर्च नभएर उनको परिवारले सहयोग जुटाएर खर्च चलाउन थालेको छ । दुई छोरा बनाउने आशामा यस्तो अवस्था भोग्नुपरेको ३४ वर्षीया सुन्तलीले बताइन् । 'मपट्टि एउटा छोरा थियो,' उनले भनिन्, 'मैले गलत सोचले यस्तो गरे पनि अरू दिदीबहीनिले यस्तो नगरून् ।' सुत्केरी खर्चमात्र होइन श्रीमान् धनबहादुर नेपालीलाई ११ जनाको परिवार कसरी पाल्ने भन्ने समस्या भएको छ । 'घरमा खाने एक गेडा अन्न छैन,' उनले भने, 'दिनभरिको मजदुरीले मुस्किलले बिहान-बेलुकाको छाक टर्छ । वेलामा आँखा नदेखेपछि यस्तो हुँदो रहेछ ।' बच्चा पाउन डेढ महिनासम्म तम्घास अस्पताल र एक हप्ता पाल्पाको मिसन अस्पतालमा भर्ना भएकी सुन्तली र तीन शिशुलाई अस्पतालले नै निःशुल्क उपचार र लत्ताकपडा दियो, तर घर आएपछि सुत्केरीको बिचल्ली भएको छ । पाल्पाबाट तम्घाससम्म आए पनि नयाँगाउँसम्म जाने खर्च नभएर तम्घासकै एक होटलमा बसेकी सुन्तलीलाई सदरमुकाममा क्रियाशील आमा समूहले चन्दा उठाएर सुत्केरी खर्च चलाइरहेका छन् । उनको परिवारलाई तम्घासस्थित लेकबेसी आमा समूहले चार हजार पाँच सय रुपैयाँ र कपडा सहयोग गरेको छ भने स्थानीय समाजसेवी सन्तोष लम्सालले एक किलो घीउ र १० किलो चामल उपलब्ध गराएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग