एकै गाउँमा दूधबाट वार्षिक डेढ करोड आम्दानी
जिल्लाका डेढ दर्जन गाविसका जनताले गाई र भैंसी पालेर व्यावसायिक दूग्ध उत्पादन गर्न थालेपछि यस व्यवसायबाट वार्षिक रू. डेढ करोड आम्दानी भएको छ।
ती गाविसमा विदेश जानेक्रम पनि रोकिएको छ। जिल्ला पशुसेवा कार्यालयको सहयोगमा डेढदर्जन गाविसलाई गाई तथा भैंसी पकेटक्षेत्र घोषणा गरी दूध उत्पादन गरिँदै आएपछि आम्दानीमा वृद्धि भएको हो। जिल्लाका दूग्ध व्यावसायीले दूग्ध व्यावसायबाट मात्रै वार्षिक रू. एक करोड ५६ लाख आम्दानी गरेको जिल्ला पशुसेवा कार्यालय, गुल्मीका प्रमुख तुल्सीराम भण्डारीले बताउनुभयो।
सहकारीमार्फत किसानले ४६७ मेटि्रक टन दूध उत्पादन गरेका थिए भने व्यावसायिक कृषकले ४०३ मेटि्रक टन दूध बिक्री गरेर वार्षिक रू. एक करोड ५६ लाख आम्दानी गरेका हुन्।
भण्डारीले भन्नुभयो– “उत्पादन गरेर बिक्री नै नगरी घरमै प्रयोग गरे पनि दूध उत्पादनको लागि व्यावसायिक पशुपालन गर्नेको त लहरै चलेको छ।”
पशुसेवा कार्यालयले जिल्लाका रुरु, थानापति, बम्घा, बलेटक्सार, दिगाम, हुँगा, विरबास, गौँडाकोट, सिमीचौर, जैसीथोक, खज्याङ, बामी टक्सार, पौँदी अमराई, अर्खले, हरेवा, हर्दिनेटा, विसुखर्क, ह्वाँङदी गाविसका विभिन्न क्षेत्रलाई गाई तथा भैंसी पकेट क्षेत्र घोषणा गरेर किसानलाई दूग्ध उत्पादनको लागि सहयोग गरिरहेको छ।
“किसानहरू दुग्ध व्यावसायमा आकर्षित भएपछि गाईभैंसी ढुवानी, घाँस, औषधि, वीमामा कोष खडा गरेर सहयोग गरिरहेका छौँ। राँगो किन्न पनि कार्यालयले सहयोग गरिरहेको छ”– भण्डारीले भन्नुभयो।
दूग्ध व्यावसायी भाष्कर ज्ञवालीले पशुपालन र कृषि नेपालीको पुर्ख्यौली व्यवसाय पनि भएकाले गरिरहेको व्यवसायमा केही आधुनिकता अपनाएमा विदेशमा गरेजति आम्दानी घरमै बसिबसी गर्न सकिने अनुभव आफूसँग भएको बताउनुभयो।
जिल्लामा पशुसेवा कार्यालयको सहयोगमा छवटा दूग्ध चिस्यान केन्द्र स्थापना गरेर किसानले उत्पादन गरेको दूध सङ्कलन गरी चार डेरीले बजारमा लैजाने गरेका छन्। गुल्मीबाट अहिले दैनिक ७०० लिटर दूध सुजल डेरीमार्फत पोखराको बजारमा पुगेको छ।
थानापति गाविसका अगुवा कृषक चोलानाथ ज्ञवालीले आफूले गाईपालन र घाँसखेतीबाट मात्रै मासिक रू. १० देखि रू. १८ हजार आम्दानी गरेको बताउनुभयो। दूग्ध व्यावसाय र कृषिबाट वार्षिक रू. १० लाखभन्दा बढी आम्दानी गरेको बताउँदै उहाँले नेपालमा काम भएन भन्दै विदेश जानु भनेको आफूप्रति विश्वास नभएको र आफ्नो मेहनतप्रति आफँैलाई विश्वास नगर्नु हो भन्नुभयो।
“अहिले दूधबाट रू. एक लाख ५० हजारदेखि रू. दुई लाखसम्म आम्दानी हुने गरेको छ। दुग्ध व्यवसायलाई सहयोग पुग्ने घाँसको लागि बारीमा अन्नखेती नगरेर अदुवा र उखु लगाएको छु। अदुवाबाट रू. पाँच लाखदेखि रू. सात लाख र उखुबाट रू. दुई लाख ५० हजार देखि रू. तीनलाख गरी वार्षिक रू. १३ लाखदेखि रू. १७ लाखसम्म आम्दानी भएको छ।”– उहाँले भन्नुभयो–“मेरो फर्ममा काम गर्न कोही आउँछ भने राम्रो मेहनत गर्नेलाई मैले मासिक रू. १५ हजार तलब दिएर राख्छु।”
वामीमा निजीस्तरको तारादेवी दूग्ध उद्योगले वामीटक्सार र आसपासका गाविसका जनताले उत्पादन गरेको दूध बजारमा लैजाने गरेको छ। बलेटक्सारमा ईश्वर डेरीले थानापति, हुँगा, बम्घा बलेटक्सार दिगामलगायतका क्षेत्रका किसानले उत्पादन गरेको दूध सङ्कलन गरेर बजारमा पठाउने गरेको छ।
क्षेत्र नं ३ र २ का अधिकाँंश गाविसका जनताको दूध तम्घासमा रहेको मैत्री डेरीले बजारमा पठाउने गरेको छ। किसानले सुरुसुरुमा दूधको मूल्य नपाएको र गाउँबाटै दूध लैजाने यातायातका साधन नहुँदा पर्याप्त मात्रामा दूध पठाउन नसकिएको बताएका थिए।
रौताडी दूध सहकारी संस्थाका अध्यक्ष पूर्णप्रसाद पोखरेलले भन्नुभयो –“अहिले मूल्य पाएपछि कृषक उत्साहित भएका छन्। गाउँगाउँबाट दूध ढुवानी गर्ने साधन भरपर्दो नहुँदा केही समस्या भएको छ।”
दूग्ध व्यावसाय सफल देखिएपछि जिल्लाका राजनीतिक दलका नेता पनि गाईभैंसीपालनमा लागेका छन्। पूर्व सांसद तथा नेकपा (एमाले), गुल्मीका निर्वतमान जिल्ला कमिटी सचिव कमलराज श्रेष्ठले जिल्लामा दूग्ध उत्पादन व्यवसायले सफलता हासिल गर्दै गएकाले आफू पनि दूग्ध व्यावसायमा लाग्ने बताउनुभयो।
“राजनीतिमा अगुवाइ गर्नेहरू एकपछि अर्को नेता निस्किएका छन् तर, कृषिको लागि अगुवाइ गर्ने नेताहरू धेरै भेटिँदैनन्।”–उहाँले भन्नुभयो–“त्यसैले दूग्ध उत्पादन व्यावसाय सुरु गर्ने योजनाका साथ लागेको छु।”
एकीकृत नेकपा (माओवादी), गुल्मीका सचिवालय सदस्य भूपाल पोखरेलले पनि आफू गाउँमा दूग्ध व्यावसायमै लाग्ने अभियान सुरु गरेको बताउनुभयो। “जिल्लाका विभिन्न ठाउँमा किसानको पशुपालनको अवस्था हेर्दा दूग्ध व्यवसायबाट मात्र किसानको हित हुने देखिएकेा छ”, उहाँले भन्नुभयो–“आफँैले दूग्ध उत्पादन व्यवसाय गरेपछि जनतालाई विश्वास पनि लाग्ने र आम्दानी पनि मनग्य हुने भएकाले आफ्नै गाउँमा दूग्ध उत्पादन व्यवसाय सुरु गरेको छु।”
Source: WeeklyNepal.com