Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"आम्मै... ! कम्प्युटर भित्र डाक्टर !"

Published on 8:53:00 PM //

फिचर: घनश्याम गौतम
तस्बिर: भरत पाण्डेय
बारीमा लडेर आँखामा चोट लागेका जुभुङ्ग-१ का ४७ वर्षीय जितबहादुर खड्का उपचारकै लागि भैरहवा जाने तयारीमा थिए ।
प्राथमिक परीक्षणका लागि शनिबार तम्घास आएका खड्का यहीं उपचार गरेर सोही दिन घर फर्किए । आँखा उपचारका लागि खर्चिनुपर्ने तीन हजार रुपैयाँभन्दा बढी रकमसमेत घरमै फिर्ता लगे ।


८३ वर्षीय हीराकुमारी श्रेष्ठलाई पनि आँखाको ज्योति बन्द हुँदै जान थालेको र पोल्ने, चिलाउने गरेकाले निकै चिन्ता थियो । तर शनिबार तम्घासमै बसेर रणअम्बिका आँखा अस्पताल भैरहवामा आँखा उपचार गराएपछि ढुक्क बनिन् । थप उपचारका लागि डाक्टरको सल्लाहमा औषधी लिएपछि उनलाई शीतल भयो । 'पैसा पनि जोगियो, उपचार पनि भयो ।', खड्काले भने, 'वषर्ाको समय खेतीपाती गर्ने समयमा घाइते भए पनि समयमै उपचार गरी घर फर्किन सकियो ।' यसले म जस्ता जिल्लाका दुर्गम गाविसका आँखा रोगीहरूलाई निकै नै सुविधा पुर्‍याउने छ ।

आपmनै स्रोतबाट जिल्लाका लाखौं आँखा रोगीहरूको उपचारमा सघाउँदै आएको नेपाल नेत्र ज्योति संघ तम्घासले सेवा फान्डेसन नेपालको आर्थिक एवं लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान, रणअम्बिका साह आँखा अस्पतालको प्राविधिक सहयोगमा शनिबारदेखि उपचार सुरु गरेको हो । तम्घासबाट भैरहवासम्म टेलिमेडिसिन सञ्चालनका लागि नेपाल टेलिकमले पाल्पाको मस्याम र गुल्मीको रेसुङ्गामा रहेको टावर उपलब्ध गराएको थियो ।

टेलिकमले टावर उपलब्ध गराएपछि सेवा फाउन्डेसनको १२ लाख रुपैयाँ सहयोगमा वायरलेस रेडियो लिंक जडान गरी सेवा सञ्चालन सुरु गरिएको फाउन्डेसनका कार्यक्रम संयोजक रामप्रसाद कँडेलले बताए । '६ महिना आन्तरिक परीक्षण गरियो' कँडेलले भने, 'परीक्षण सफल भएपछि सेवा सुरु गरेका हौं ।' कँडेलका अनुसार तम्घासको उपचार केन्द्रमा जडान गरिएको अत्याधुनिक क्यामराको सहयोगबाट रेसुङ्गा, पाल्पा हुँदै भैरहवामा रहेका आँखा विशेषज्ञले बिरामीका आँखाको समस्या पहिचान गरी भैरहवाबाटै उपचारका लागि सल्लाह दिनेछन् । जिल्लामा आँखाका रोगीहरूको संख्या बढ्दै गएको र उपचार गराउन भैरहवासम्म पुग्ने अवस्था नभएका दुर्गम गाउँका बासिन्दाहरूसमेत उपचार अभावमा दृष्टिविहीन हुन नपरोस् भनेर टेलिमेडिसिन सुरु गरिएको संघका सभापति भरतबहादुर चन्दले बताए । संघले आँखाका रोगीहरूलाई निःशुल्क उपचार सेवा दिंदै आएको छ । 'उपचारको अभावमा कसैले पनि दृष्टि गुमाउन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो', सभापति चन्दले भने ।

केन्द्रले दैनिक ४० जनाभन्दा बढीको निःशुल्क आँखा उपचार गर्दै आएको छ । जिल्लामा अहिलेसम्म परीक्षण गरिएका झण्डै २ लाख आँखा रोगीहरूमध्ये २० प्रतिशतलाई थप उपचारका लागि भैरहवा सिफारिस गर्ने गरिएको थियो । संघले जिल्लाका दुर्गम गाविसहरूमा समेत पुगेर निःशुल्क आँखा परीक्षण र उपचार गर्दै आएको छ । परीक्षण गरिएकामध्ये उपचार पुगेका बाहेक अन्य २० प्रतिशत बिरामीहरू भैरहवामा थप उपचारका लागि सिफरिस गरे पनि नजाने र दृष्टि गुमाएर बस्ने गरेका कारण टेलिमेडिसिनको उपचार सुरु गरिएको संघका सचिव अखिलेश्वरप्रसाद पाण्डेले बताए ।

जिल्लामा मोतियाविन्दुका रोगीहरू बढी छन् । त्यस्तै पछिल्ला वर्षहरूमा मधुमेहका कारण पनि आँखाका रोगीहरू बढ्दै गएको उपचार केन्द्रका प्रमुख सूर्य बस्नेतले बताए । जिल्लाका विभिन्न स्थानमा परीक्षण गरिएका ४ हजार ९ सय ९५ जना मधुमेह रोगीमध्येमा ५१ जना आँखाका रोगी फेला परेको बस्नेतले बताए । अप्रेसन गर्नुपर्ने बाहेक मोतियाविन्दु, मधुमेह लगायतका सबै उपचारमा टेलिमेडिसिनबाट सहयोग पुग्ने केन्द्रले जनाएको छ । गत वर्ष मोतियाविन्दुका कारण ३ हजार ८ सय ४८ जनाको आँखाको अप्रेसन गरिएकामा यस वर्ष त्यो संख्या बढेर झण्डै ४ हजार ४ सय भन्दा बढी पुगेको केन्द्रले जनाएको छ ।

१८ वर्ष अगाडि स्थानीय बुद्धिजीवीहरूकै पहलमा खोलिएको संघले स्थानीय स्रोतबाटै ६ जना कर्मचारीहरू राखेर आँखा परीक्षण र उपचारमा काम गर्दै आएको छ । संघले जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने नागरिकताको प्रतिर्फम १० रुपैयाँमा बिक्री गरेर भएको आम्दानीबाट आँखाका रोगीहरूको उपचारमा सघाउँदै आएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग