Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भाँडा माझेर पढाई खर्च जुटाउदैं

Published on 10:21:00 AM //

घनश्याम गौतम
तम्घासको बालमन्दिर प्राङ्गणमा मंगलबार सयौं बालिबालिका बिच विविध प्रतिस्पर्धाका बीच मंगलबार बालदिवस मनाईयो । तर तम्घासकै ५० भन्दा बढी होटलहरुमा बाल मजदुरको रुपमा काम गर्नेहरुले न त बाल दिवस बुझे, न अधिकारका कुरा नै सुने ।बाल दिवस कार्यक्रम मनाईरहँदा छेवैमा रहेको न्यू मैत्री रेष्टुरेण्टमा प्यूठानको रजबारा गाविसमा रहेको ज्ञानोदय माविको कक्षा ६ मा अध्ययनरत हिमाल बुढा भाँडा माझदै थिए । उनी मात्र होइन सोही स्कुलकै दिलेन्द्र र्घर्तीले पनि २ महिना देखि पढाई खर्च जुटाउन होटलमै भाँडा माझदै छन् ।
विद्यालयमा लाग्ने पढाई खर्च, ड्रेस र कापी किताब किन्ने पैसा नभएपछि बर्षोनी प्यूठानको अर्खा, रजबारा, स्यालीबाङ्ग, बाग्लुङ्गको देविस्थान, दर्लिङ्ग, लगायतका गाउँबाट आएका ५० भन्दा बढी बालबालिकाहरु तम्घासका विभिन्न होटलहरुमा भाँडा माझेरै पढाई खर्च जुटाउँदै छन् । असार र साउनको विदा अनि भदौ महिनाभर काम गरेर दशैंको मौकामा विद्यार्थीहरुले कापी, किताब र कपडा किनेर घर फर्कने गर्दछन् । यसरी काम गर्नेहरुका मासिक आम्दानी एक हजार देखि १५ सय रुपैंयासम्म छ ।
१४ वर्षिय हिमाल बुढा सहित एकै विद्यालयका मात्र ७ जना कामका लागि तम्घास आएका छन् । ‘कापि किताब किनेर एक वर्षको लागि पढ्न पुग्ने पैसा कमाउने हो’, बुढाले भने, ‘हाम्रो स्कुलमा कहिल्यै बालदिवस भनेर केही हुँदैन् ।’ तम्घासका होटलहरुमा मात्र यस्ता पढ्ने उमेरका भाडाँ माझने बालबालिकाहरुको संख्या २ सय भन्दा बढी छ ।
अत्यन्तै विपन्न परिवारका ती बालबालिका मध्ये अधिकांश पढाई नै छोड्नेपर्ने भएपछि पैसा कमाएर पढ्ने इच्छाले आएको बताउँछन् । यस्ता बालबालिकाहरुको उमेर प्रायः ८ देखि १६ वर्षम्म हुने गरेको छ । दुर्गम क्षेत्रबाट आउने उनीहरुलाई तम्घास आईपुग्न दुई दिन लाग्ने गर्दछ । ‘दुई महिना छुट्टी भएको छ’-दुई दिन पैदल हिडेर आएका देविस्थान मा.वि. बाग्लुङ्गमा कक्षा ६ मा पढ्दै गरेका शिबलाल पुनले भने-‘अब दशैं सम्म काम गरेर कापी, किताब र लुगा किनेर र्फकने हो ।’ उनीसंगै १३ जनाको समुह भाँडा माझेर पढाई खर्च जुटाउन तम्घास आएको छ । उनीहरु सबैले एक वर्षा लागि यसै गरी पढाई खर्च जुटाउने हुन । ‘सबैले होटलहरुमा काम खोजेर मिलेर गरेका छौं’-संगै आएका दिलेन्द्र घर्तीले थपे- ‘धेरैको तलब एक हजार छ ।’
देविस्थान माविकै भक्तलाल पुनका अनुसार यसरी पढाई खर्च जुटाउन गाउँबाट तम्घास आउने क्रम निकै पुरानो भैसकेको छ । पहिला आएर फर्कनेहरुले भने नयाँ आउनेलाई समेत काम खोजिदिनु पर्ने उनीहरुको प्रचलन छ । ‘पुराना दाईहरुले हामीलाई काममा लगाईदिए ।’, भक्तलालले भने, ‘यस वर्षहामी पुराना भएकाले नयाँलाई पनि काम खोजिदिएका छौं ।’ उनी गत वर्षपनि आएका थिए ।
तम्घासको न्यू मैत्री होटल एण्ड रेष्टुरेण्टका अर्जुन पाण्डेका अनुसार तम्घासमा यसरी पढाई खर्चै जुटाउने उद्देश्यले आउने मजदुरहरुको एकिन तथ्याङ्क नभएपनि ५० भन्दा बढी बालबालिका छन् । पढाई खर्च जुटाउने उद्देश्यले आउने यस्ता बालबालिकाहरुलाई आफुहरुले सहयोगको रुपमा हेर्ने पनि होटल व्यवसायी पाण्डेले बताए ।
‘पढ्नकै लागि आउनेहरुलाई सघाउनु हाम्रो कर्तव्य पनि हो ।’ पाण्डेले भने, ‘दशैंमा घर जाने बेलामा कापी, किताब र कपडा किन्ने भनेपछि थप सहयोग गर्न मन लाग्यो ।’
दुई महिना काम गर्ने उद्देश्यका साथ प्यूठानको अर्खाबाट आएका कालुराम पुनले पनि फर्कने बेला आफ्ना दुई भाई र एक बैनीका लागि कापी, किताब, मसी किनेर लैजाने बताए । ‘भाई बैनीलाई पनि एक वर्षको लागि पुग्ने गरी कापी कलम किन्ने हो ।’-उनले भने-‘पैसा बच्यो भने घरमा पनि बुझाउनु पर्छ ।’ पैसा घरमा बुझाउन नपाए अर्को वर्ष आउन नपाउने उनको गुनासो थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग