Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासनद्वारा बजार अनुगमन

Published on 10:31:00 PM //

घनश्याम गौतम
दशैं नजिकिंदै गर्दा जिल्ला प्रशासनले सदरमुकाम तम्घासका पसलहरुमा अनुगमन शुरु गरेको छ । अनुगमनका क्रममा प्रशासनले म्याद नाघेका र अखाध्य सामाग्रीहरु बरामद समेत गरेको छ ।

बर्षौ पछि भएको अनुगमनका क्रममा चामल, दाल, चाउचाउ, बिस्कुट, सोयाबिन, लगायतका दैनिक उपभोग्य बस्तुहरु म्याद सकिएको बर्षौ बितिसक्दा पनि बिक्रि भैरहेको फेला पारिएको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । अर्यालको नेतृत्वमा उपभोक्ता हित संरक्षण मञ्चकी केन्द्रिय प्रतिनिधी ललिता गौतम, उद्योग बाणिज्य सघंका कोषध्यक्ष गोमराज श्रेष्ठ, प्रहरी सहायक निरीक्षक महाविरप्रसाद यादव, संचारकर्मी सहितको टोलीले बजार अनुगमन गरेको हो । टोलीले मंगलबार र बुधवार गरी सदरमुकामका ६० भन्दा बढी पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा फेला पारिएका म्याद नाघेका र खान नमिल्ने बस्तुहरु नियन्त्रणमा लिएर पहिलो पटक भएकाले कुनै कारवाही नगरिएको अर्यालले बताए । ‘अब हरेक १५ दिनमा अनुगमन गर्ने सहमति भएको छ’, अर्यालले भने, ‘लामो समय देखि अनुगमन नगरिएको भन्ने भएपछि पहिलो पटक कसैलाई पनि कारवाही गरिएको छैन ।’ टोलीले दर्ता बिना होटलहरुले मदिरा विक्रि गर्ने, खाध्यसामाग्रीहरु नढाकी विक्रि गर्ने गरेकोमा समेत सचेत गराएको अर्यालले बताए । टोलीले पुराना र खिया लागेका जोखिमयुक्त ग्यासका सिलिण्डर समेत फेला पारेको छ । म्याद समेत उल्लेख नभएका सिलिण्डर फेला परेकाले तत्काल फिर्ता गर्न टोलीले निर्देशन दिएको केन्द्रिय प्रतिनिधि ललिता गौतमले बताईन । दशैं नजिकिंदै गएपनि जिल्लाका अधिकांश पसलहरुमा मुल्य सुची नहुँदा उपभोक्ता पसलै पिच्छे फरक मुल्य तिर्न बाध्य छन् । गत वर्ष उद्योग वाणिज्य संघले मुल्यमा एक रुपता ल्याउन सबै पसलमा मुल्य सुची राख्न निर्देशन गरेपनि अहिले कतै मुल्य सुचि भेटिदैनन् । अनुगमन समितिले मुल्य सुची फेला नपरेकाले पुनः राख्न लगाएको जनाएको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग