पहाडमा रमाउँदै चौधरी परिवार
कृष्ण मल्ल,
रोजगारीको खोजी गर्दे शहर पस्नु कुनै नौलो कुरा होइन । अझै अहिले त अध्ययन भन्दै पश्चिमी मुलुक जाने परम्परा नै बस्न थालेको छ । तर हाम्रा सामु यस्ता उदाहरण पनि छन् जुन तराईबाट रोजगारीका लागि पहाड उक्लनेहरु ।
रोजगारीको सिलसिलामा पहाड उक्लेका तराईमूलका शिक्षकको पहाडअसँग मितेरी बसिसकेको छ । सुरुका दिनहरुमा उकालो ओरालो र भाषाको झन्झट झेलेको शिक्षकहरु अहिले यो समस्याबाट मुक्त छन् । अझै कसैले त परिवार नै पहाड उकालेर छोराछोरीको पढाइदेखि पहाडमै खेतीपाती गर्नसम्म पनि भ्याएका छन् । तिनै मध्येका एक हुन् सिराहा सुखीपुर गाविस वडा नं. १ सुखीपुर गाउँका रामसेवक चौधरी । उनले पहाडमा शिक्षक पेशाको जागिर मात्रै गरेका छैनन् ।
उनीसंगै ६ वर्षदेखि गुल्मीको ग्वादीमा छन् श्रीमती जानकी, छोरा थोमस र दुई छोरी ज्योति र आरती समेत । छोरा कक्षा ९ मा, छोरी कक्षा ८ र ५ मा पढ्दै छन् । चौधरी ग्वादी माध्यमिक विद्यालयको मावि तहको स्थायी विज्ञान विषयका शिक्षक हुन् । उनले गुल्मीको विभिन्न विद्यालयमा अध्यापन गर्न थालेको १४ बर्ष पुगिसकेको छ । ग्वादीमा आएपछि चौधरी परिवारसंगै पहाडमा बस्दै आएका छन् । चौधरीले स्थानीयको जमीन कुतमा लिएर खेतिपाती समेत गरेका छन् । बस्तुभाउ समेत पालेका चौधरीलाई पहाडको मन पर्ने भनेको यहा�को समाज हो । सहयोगी भावना र आत्मीयताले मलाई तराई बिर्साएको छ चौधरीले भने, चाडपर्व समेत पहाडमै मनाउन थाल्यौं ।
पहाडीयाहरुको मायाले तराईको नियास्रो मेटाइदिएको छ, चौधरीले भने पहाडको हावापानी नै मिठो, मान्छेको बानी नै मिठो । पहिले अप्ठ्यारो पर्ने उकालो ओरालो बानी परिसक्यो तराइको हुँ भनेर एक्लो महशुस हुँदैन श्रीमती जानकी चौधरीले भनिन् । यहाँ त चोरी हुने डर पनि छैन, आनन्दसंग समय बितेको छ, सिरहामा रहदा चोर, डाँकाको डर सम्झँदै चौधरीले भनिन् । हिंड्न, डुल्नदेखि अग्ला-अग्ला रुखका घाँस काट्न समेत बानी परिसकेको छोरा थोमस चौधरीले बताए ।
दुहुनो भैंसी पालेका चौधरी परिवारले दूध किनेर खानुपरेको छैन । बरु उनिहरुले दूध, घिउ बेचेर पैसा जम्मा पारेका छन् । यसै बर्षमा करिब ७० माना घिउ बेचेको उनिहरुले बताए । घरमा बाख्रा र खसी समेत पालेका उनिहरुले बर्षमा कहिलेकाहीं घरमै मासु खाने बन्दोबस्तसमेत गर्ने गरेका छन् । घर वरिपरि टम्मै तरकारी लगाएका उनिहरुले तरकारीसमेत किनेर खानु पर्दैन । दूध, दही, ताजा तरकारीले तागतिलो बनाएको उनिहरुको अनुभव छ । उनिहरुको चाल चलनमा तराईपनको झल्को देखिदैन । विद्यालयको लागि समय दिने र मिहिनेती शिक्षकको रुपमा काम गरिरहेको ग्वादी माविका प्रधानाध्यापक ओमप्रकाश शाहले बताए । सरल स्वभाव चौधरी आफ्नै गाउँको भन्दा फरक नभई बसिरहेको स्थानीय घनश्याम अर्यालले बताए । उनले भने को तराई ? को पराई ? हामी सबै नेपाली ।
0 प्रतिकृयाहरु