Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

व्यावहारिक ज्ञानका लागि विज्ञान प्रदर्शनी

Published on 5:23:00 PM //

घनश्याम गौतम 
विद्यार्थी र शिक्षक दुवैमा सैद्धान्तिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने उद्देश्यले विज्ञान शिक्षक समाजले विज्ञान सामग्रीहरूको एकदिने प्रदर्शन गरेको छ ।
सिद्धबाबा उच्च मावि तम्घासमा गरिएकको प्रदर्शनीमा स्थानीय सामग्रीको प्रयोग गरेर तयार गरिएका प्याराग्लाइडिङ, हेलिकप्टर, पानीजहाज, विद्युत् उत्पादन गर्ने हाइड्रोलिक, सौर्य ऊर्जा ब्याट्री, पानीका दुई तत्त्व पत्ता लगाउने यन्त्रलगायत सामग्री राखिएको थियो ।

प्रदर्शनीमा राखिएका अधिकांश सामग्री विज्ञान शिक्षक र विद्यार्थीले स्थानीयस्तरका सामग्री प्रयोग गरेर तयार गरेको आयोजकले बताए ।

प्रदर्शनमा राखिएका सामग्रीहरू निर्माण गर्न पूर्ण रूपले विज्ञान र अध्ययन गरेको सीपको प्रयोग गरिएको विज्ञान शिक्षकहरूले बताए । 'यस्तो प्रदर्शनीले हरेक शिक्षकलाई शैक्षिक सामग्री निर्माण र अध्यापनमा सहजता ल्याउनेछ,' आयोजक समाजका सचिव युवराज आचार्यले भने, 'विद्यार्थीलाई पढेको ज्ञान छिटो सिक्नका लागिसमेत मद्दत पुर्‍याउनेछ ।' विद्यालयका विद्यार्थीले पनि तयार पारिएका सामग्रीहरूको अभिरुचिपूर्वक अवलोकन गरेका थिए ।

तम्घासको रेसुङ्गा माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थी माधव पन्थीले प्रदर्शनी हेरेपछि आफूले पानीघट्ट, डुंगा, गोबरग्यास प्लान्ट सजिलै तयार गर्न सक्ने भएको बताए । महेन्द्र उच्च माविकी छात्रा राधा बस्नेतले प्रदर्शनीमा राखिएका सामग्री हेरेपछि विज्ञानप्रति थप रुचि जागेको बताइन् । प्रदर्शनी हेरेपछि अधिकांश विद्यार्थीले हरेक वर्ष यस्ता प्रदर्शनीहरूको आयोजना गर्न आग्रह गरे ।

प्रदर्शनीको अवलोकन गर्दै विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय अध्यक्ष डम्बरध्वज बस्यालले शैक्षिक पाठ्यक्रम व्यावहारिक भएनन् भन्नेहरूका लागि यस्ता प्रदर्शनीले पाठ सिकाउने बताए ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग