अगरउड किसान
Published on
2:44:00 AM //
देव पचभैया, पाल्पा
उच्चकोटिको अत्तर र धूप बन्ने अगरउड वृक्ष विश्वबाटै लोप हुँदैछ। भियतनाममा बेचबिखनमा प्रतिबन्ध लागिसकेको तथा प्राकृतिक थलो मानिने मलेसिया, कम्बोडिया र भारतको आसाममा लोपोन्मुख भइसकेको अगरउड नेपालमा हराभरा हुँदैछ। यो नौलो खेती गर्ने किसान हुन्― गुल्मीका धनबहादुर पुन।

स्याहार पुगे पाँच वर्षमा फल्ने अगरउडको प्रतिफल पाउन १५ वर्षजति पर्खनुपर्छ। तर, त्यो प्रतिफल अन्य खेतीबाट कल्पना गर्न नसकिने स्तरको छ। महँगो अत्तर, धूप र औषधिबाहेक धार्मिक-सांस्कृतिक प्रयोजनमा काम आउने राम्रो गुणस्तरको अगरउडका ग्राहक मध्यपूर्व, जापान, ताइवान र चीनका उच्च वर्ग तथा धार्मिक सम्प्रदाय हुन्, जसको अन्तर्राष्ट्रिय मूल्य प्रतिकेजी ३० हजार डलरभन्दा माथि छ। पल्टनमै +२ पास गरेका पुन भन्छन्, “नेपालमा कुनस्तरको अगरउड निस्कन्छ भन्ने कुरा थाहा पाउन १० वर्ष जति पर्खनुपर्छ, तर यसका लागि हाम्रो भूगोल उपयुक्त ठाउँ हो भन्ने कुरा चाहिँ थाहा भइसक्यो।
उनै पुनले यसमा आफ्नो पुस्तैनी लाहुरे परिवारको जमिनबाहेक रु.७० लाख लगानी गरेका छन्। शुरुमा थाइल्याण्ड र चितवनको बहिनीज्वाइँको नर्सरीबाट बिरुवा ल्याउने गरेका उनले अहिले आसामबाट दुई जना मिस्त्री झिकाएर आफैं नर्सरी राखेका छन्। अगरउड बगानका लागि पुनले १५ वटा भैंसी, चार हल गोरु र ७५ वटा बाख्रा पालेका छन्। ६-६ मिटरको फरकमा रोपिएको अगरउडको बीचबीचमा सुन्तला, कागती, खुर्सानी, चिराइतो, सतुवा, सिस्नु, बकाइनो, सतविज, तुलसी, सयजडी लगायतका फलफूल र रैथाने वनस्पति लगाएका छन्। आफ्नो ठाउँमा विद्यालय व्यवस्थापन, वन संरक्षण, स्थानीय विकास र सामाजिक कार्यको समेत अगुवाई गरिरहेका पुनलाई अगरउड खेतीमा श्रीमती रुकमाया र जेठा छोरा रामले साथ दिएका छन्। “तर, कान्छो भुवनले भने कृषि पढ्न मानेन, चितवनमा कमर्श पढ्दैछ। पछि अगरउड कारखानाको म्यानेजर बन्छ होला”, उनी भन्छन्।
नेपालका धेरै ठाउँका किसानले अगरउड बगान लगाउन चाहेको थाहा पाएका उनी न्यूनतम मूल्यमा बिरुवा दिने गरी नर्सरी विस्तार गर्दैछन्। आफूले गर्दै आएको खेती कति उचाइमा गर्दा बिरुवा कसरी हुर्कंदो रहेछ भन्ने थाहा पाउन अत्याधुनिक जीपीएस (भौगोलिक अवस्था बताउने) मेसिन बोक्ने पुनका अनुसार अगरउड नेपालको १५०० मिटरसम्मको उचाइको पारिलो ठाउँमा हुन्छ। पूर्वी पहाडमा यो अझ् सप्रने उनको अनुमान छ। पाँचथरको याङनाम गाविसमा रोपिएका १५०० बिरुवा राम्ररी सप्रेका छन्। अगरउड खेतीले नेपाली किसानलाई नसोचिएको फाइदा दिने बताउँदै धनबहादुर पुन भन्छन्, “यसको प्राकृतिक वन सकिएकाले अहिले विश्वबजारमा प्लान्टेसनबाट निस्केको उत्पादन खपत हुन थालेको छ।”
0 प्रतिकृयाहरु