गाउँमा अझै ढिके नुनको प्रयोग
घनश्याम गौतम
चेतना र आर्थिक अभावमा दुर्गम गाउँहरूमा आयोडिनयुक्त नुनभन्दा ढिके नुनको प्रयोग बढी हुने गरेको छ ।
ढिके नुनको प्रयोग गर्दा आयोडिनको कमी हुने, गर्भवती महिलाहरूले ढिके नुनको प्रयोग गर्दा गर्भमा रहेको बच्चालाई पोषण तत्त्व नपुग्ने, अपांग हुने गर्छन् । तर चेतना र आयोडिनयुक्त नुनको तुलनामा सस्तो पर्ने गरेकै कारण दुर्गम गाउँका सर्वसाधारण ढिके नुनकै प्रयोग गर्ने गरेका हुन् ।
ढिके नुनको तुलनामा आयोडिनयुक्त नुन बालबालिका, गर्भवती महिला, मानसिक तथा शारीरिक रोगीहरूका लागि बढी प्रभावकारी हुने भन्दै आयोडिनयुक्त नुनको प्रयाग गर्न आग्रह गर्दै सरकारले हरेक वर्षको फेब्रुअरी महिनाभर प्रचारप्रसार तीव्र पार्ने गर्दछ । सदरमुकाममा गरिने यस्ता प्रचारले दुर्गम गाउँहरूमा कुनै प्रभाव पारेको देखिँदैन । यहाँका अधिकांश दुर्गम बस्तीहरूमा भने सरकारको यो नीति पूर्ण असफल बन्दै गएको छ ।
दुर्गम बस्तीका दलित र विपन्न समुदायमा आयोडिनयुक्त नुनको सट्टा आर्थिक र चेतना अभावले ढिके नुनको प्रयोग गर्नेहरू अधिकांश छन् । 'आयोडिनयुक्त नुन मानव शरीरका लागि अत्यन्त सूक्ष्म पोषक तत्त्व हो,' जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद पन्थीले भने, 'तर गाउँघरमा यसको प्रयोग सहरहरूको तुलनामा कम छ ।' हरेक वर्षको फेबु्रअरी महिनाभर आयोडिनयुक्त नुनका बारेमा सदरमुकाम र गाउँहरूमा प्रचारप्रसार र र्याली गर्ने गरिएको उनको दाबी छ । दुर्गम गाउँहरूमा आयोडिनयुक्त नुनभन्दा ढिके नुन प्रतिकिलो ५ रुपैँया सस्तो छ ।
पश्चिमी क्षेत्रको नेटा, दर्लिङ, ह्वाङ्दी, अर्खाबाङ, मलायागिरीलगायतका गाविसका दलित तथा विपन्न परिवारमा आयोडिनयुक्त नुनको बारेमा कमैलाई मात्र ज्ञान छ । सडक पुगेर पनि सवारी साधन नपुगेको ह्वाङदी गाविसमा ढिके नुन प्रतिकिलो २० रुपैयाँमा पाइन्छ । आयो नुन भने २८ रुपैयाँसम्म पर्ने ह्वाङदी ४ का जगबहादुर विकले बताए । 'सात जनाको परिवार भएकाले नुन धेरै चाहिन्छ,' विकले भने, 'सस्तो पनि हुने र गाईभैंसीलाई पनि त्यही खुवाउने भएकाले सबैले ढिके नुन नै प्रयोग गर्छौं ।' स्वास्थ्यका लागि कुन नुन फाइदाजनक हो भन्ने विषयमा आफूलाई कुनै जानकारी नभएको उनले बताए ।
सरकारले बालबालिकालाई सुस्त मनस्थितिबाट जोगाउन, लाटा लठेब्ब्रा हुनबाट बचाउन, गर्भवती महिलाहरूलाई गर्भपतन हुनबाट जोगाउन, मानव शरीरका सबै शारीरिक क्रियाकलापको वृद्धिमा सघाउने दुई बालबालिकाको चिन्न भएको आयोडिनयुक्त नुन खान आग्रह गर्ने गरेको छ । त्यसका लागि जिल्ला अस्पतालमा ५ हजार र हरेक उपस्वास्थ्य चौकीहरूमा ५ सय रुपैयाँ बजेट उपलब्ध हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
सडक भएर पनि सवारी नचल्दा दर्लिङ गाविसबाट ह्वाङदीसम्म पैदल बोकाएर सामान लैजानुपर्ने बाध्यता व्यवसायीहरूलाई छ । त्यसले गर्दा पनि सदरमुकाममा प्रतिकिलो १२ मा पाइने ढिके नुन गाउँमा पुग्दा २० रुपैयाँ प्रतिकिलो पुग्छ । 'बोकाएर ल्याउनुपर्ने बाध्यताले नुनदेखि सबै सामान महँगो पर्ने गरेको छ ।' ह्वाङदीका व्यवसायी हरि अर्यालले भने । उनका अनुसार त्यस क्षेत्रका गाउँका झन्डै ९० प्रतिशत जनताले ढिके नुनको प्रयोग गर्ने गरेका छन् । 'ढिके नुन आयोडिनयुक्त नुन हो भन्ने चेतना नै छैन,' दर्लिङका व्यवसायी तेज सुनारले भने, 'गाउँलेले गाईभैंसीलाई ढिके नुन खुवाउने भएकाले सर्वसाधारणले पनि ढिके नुनकै प्रयोग गर्छन् ।' उनले गाउँमा आयोडिनयुक्त नुनको प्रयोग गर्नेहरू मुस्किलले ५ प्रतिशतमात्र भएको बताए ।
0 प्रतिकृयाहरु