Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीको बर्मेली माइतीलाई पाहुर

Published on 3:35:00 PM //

कृष्ण मल्ल
पाखो पारिलो बारी । मकैको काटेको डाँठमा लहरे बोट । हरियै बोटमा हरियै कोसा । अरुबेला रातै देखिने बारी लहरे बोटले छपक्कै छोपेको छ । त्यही बोटको अहिले चर्चा चलिरहेको छ । तोरी भर्खर फुल्दै छ त गहुँ उम्रिने क्रम छ । यही मौसममा चर्चा छ त्यही लहरे बोट बर्मेलीको ।
चर्चा हँुदैछ बर्मेली यो साल कस्तो होला ? पोहर सालभन्दा कम या बढी । कसैले बढी हुन्छ भनिरहेका छन् त कसैले कम ।

गुल्मीको ग्वादीमा बर्मेलीको चर्चा चलिरहेकै बेला कृषक यमलाल पाण्डे भेटिए बर्मेली बारीमा । बर्मेली कस्तो फल्यो भन्दै बारी चहारिरहेका पाण्डेले भने– कोसा लाग्न त थाल्यो, अझै एक तहरो पानी पाए स्याहारी नसक्नु फल्थ्यो । उनको भनाइमा आकाशबाट पानी पर्‍यो भने बर्मेली खुबै फल्नेछ । ग्वादीमा पाण्डेको जस्तो बर्मेली अरु कसैको नभएको अडकल बूढापाकाले गरेका छन् । बारीमा फोक्का फोक्का परेर लहरिएको उनको बर्मेलीको बोट साँच्चिकै हेर्न लायक रहेको कृषक शिव बहादुर दंगालले बताए । आफूले पनि आधा बारीभरि बर्मेली लगाएका दंगालले भने– बर्मेली मेरो बारीको पनि राम्रो छ तर पाण्डेको झनै राम्रो रहेछ । उनका अनुसार चर्चा सुन्नेहरू पाण्डेको बर्मेली हेरेर दंग परेका छन् ।

खास गरी बर्मेली पारिलो भिरालो पाखामा हुने एक किसिमको कोशे बाली हो जसलाई कतैकतै गहते सिमी भनेर पनि भन्ने गर्छन् । फाटफुट रूपमा अन्य ठाउँमा पनि पाइन थालेको यस बाली खास गरी ग्वादी, बलेटक्सार, सिंदुरे, ज्ञवा, रातामाटा र यस वरपरको क्षेत्रमा पाइन्छ । हरियो कोसा रहेको अवस्थामा कोसा फोकेर गेडाको तरकारी खाइन्छ । जुन तरकारी मन नपराउने कमै भेटिन्छन् । यसलाई आलु, करेला, बोडी अथवा कुनै अरु तरकारीसँग मिसाएर पकाउन सकिन्छ । कोही त तरकारीको स्वाद लिन पनि बर्मेली पाक्ने समयमा गाउँ फर्किन्छन् । बुटवल बस्दै आएका पुस्तक व्यवसायी माधव गौतमले एक हप्ताको लागि गुल्मीको बलेटक्सारमा पर्ने सिंदुरे गाउँ फर्कन लागेको र हप्ता दिनसम्म बर्मेलीको तरकारी खान आतुर भएको बताए । उनले भने - "हरियो कोसा फोकेर बनाएको तरकारीको स्वाद खुबै मिठो हुन्छ, त्यसलाई म कसरी वर्णन गरूँ ।" तरकारीमध्ये सबैभन्दा मन पर्ने बर्मेलीको तरकारी भएको उनले बताए । त्यस्तै कोसै टिपेर कोसेली समेत लगिदिने चलन छ । कोसा पाकेपछि पिसेर दाल पकाउन सकिन्छ भने गेडाकै अवस्थामा पनि पकाएर खान सकिन्छ । ग्वादीमा हुने बिहे, भोज, पूजाआजामा बर्मेलीको दाल प्रयोग गरिन्छ ।

बर्मेलीलाई पाहुरको रूपमा पनि लगिदिने प्रचलन छ । सहर बजार बस्ने, विदेश रहने आफन्त होस् या माइत आएका चेलीबेटी होस् या माइत जाने बुहारी, सबैले बर्मेली पाहुरको रूपमा लगिदिन्छन् । ग्वादीका पारिलो बारी हुने सबैजसो घरमा बर्मेली लगाइन्छ । थोरै हुनेले घर खर्चको लागि बर्मेलीको दाल बनाउँछन् भने धेरै बनाउनेले तीन, चार क्वीन्टलसम्म बनाउँछन् । जसको बिक्रीबाट घर खर्चको लागि सहयोग पुग्ने गर्दछ । स्थानीय रूपमा गत साल बर्मेलीको दालको मूल्य पाथीको दुई सय रुपियाँ रहेको थियो । स्थानीय व्यापारीहरूले बर्मेलीको दाल खरिद गरी रिडी, पाल्पा, बुटवल, काठमाडौंसम्म पुर्याउने गरेका छन् ।

बर्मेलीको सुकेको लहरा गाईवस्तुलाई घाँसको रूपमा प्रयोगमा आउँछ । यो लहरा गाईवस्तुले पनि खुबै मन पराउँछ । कोसाको बोक्रा गाईवस्तुलाई कुँडो पकाउँदा मिसाइन्छ ।  मकैसँग वा मकै एकोहोरो खन्ने बेलामा बर्मेली रोपिन्छ भने सामान्यतया मंसिरको अन्तिमतिर वा पुसमा पाक्छ अनि बर्मेली स्याहारिन्छ । गाईवस्तुले खाँदा मर्ने हुँदा बारबन्देज लगाउने झन्टट पनि हुँदैन । रासायनिक मलको प्रयोग बिना लगाइएको हुँदा पनि बर्मेली स्वास्थ्यको लागि झनै उपयोगी मान्न सकिन्छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग