रोपेको एक महिनामै धान फल्यो
जिल्ला कृषि विकास कार्यालयको सहयोगमा ‘हर्दिनाथ’ धानको बीउ रोपेका उनले एक महिनामै धान फलाएका हुन् । यसरी एक महिनामै फलेको धानले स्वयं गौतम परिवार र स्थानीय कृषकलाई समेत चकित पारेको छ ।
कार्यालयले ‘हर्दिनाथ’ जातको धानको बीउ रोप्न आवश्यक सुझाव सल्लाह दिएपछि अर्जै–८, सत्तिम्ला निवासी शेषकान्त गौतमको करिब तीन रोपनी खेतमा साउनमा रोपिएको धान भदौमै फलेको हो । “दसैंअघि नै स्याहार्नुपर्ने भएको थियो तर चाडपर्वले गर्दा भ्याइएन,” धान काटेर थन्क्याउँदै गरेका उनले भने ।
यसअघि कोदो तथा मकै फल्ने बारीलाई गौतमले यसै वर्ष खेत बनाएका थिए । “करिब चार मुरी कोदो फल्ने सो बारीमा यस वर्ष करिब आठ मुरी धान फल्ने अनुमान गरेको छु,” गौतमले भने ।
कार्यालयले दिएको सो बीउले बारीलाई खेत बनाउन प्रेरित गरेको उनको भनाइ छ । कोदो तथा मकैको तुलनामा दोब्बर आम्दानी भएकाले आउँदो वर्ष बाँकी बारीलाई पनि खेत बनाएर धान रोप्ने योजना बनाएको उनले बताए ।
होचो जातको सो धानको बोटको लम्बाइ करिब ३२ इन्चमात्र छ तर धानको बाला भने करिब १२ इन्च छ ।
नियमित सिँचाइको समेत खासै आवश्यकता नपर्ने सो धानलाई वर्षायामको अकासे पानीमा रोप्न सकिने भएकाले गौतमले जस्तै अन्य कृषकले पनि आगामी वर्षदेखि बारीलाई खेत बनाएर सो धान रोप्ने बताएका छन् ।
“रोपेदेखि स्याहार्ने बेलासम्म दुःख बढी आम्दानी कम हुने कोदोखेती छाडेर हर्दीनाथ धान रोप्न अन्य कृषकलाई समेत सुझाव दिन चाहन्छु,” गौतमले भने ।
हर्दिनाथ धानलाई पहारिलो र सुख्खा जमिन भए पनि हुने भएकाले यसतर्फ कृषक आकर्षित भएका छन् । यस धानको बीउतर्फ धेरै कृषक जिज्ञासु बनेको बताएका छन् । कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत नरहरिप्रसाद घिमिरेले सरकारको स्रोत केन्द्र चितवनको रामपुरबाट ल्याइएको बताए । सुख्खा टारी खेतमा पनि चाँडै फल्ने भएकाले हर्दिनाथको बीउ कृषकले खोजिगरेको उनले बताए । “एकै महिनामा त नफल्नुपर्ने जस्तो लाग्छ,” अधिकृत घिमिरेले भने, “गौतमले बीउ छिप्याएर रोपेकोले छिट्टै फलेको हुनसक्छ ।”
गौतमले परम्परागत खेती छाडेर गत केही वर्षदेखि यस्तै नयाँ–नयाँ प्रकारका बीउको खोजी गर्दै उत्पादनमूलक आधुनिक खेतीतर्फ लागेका छन् । उनले सिमीलगायत तरकारीखेतीबाट मात्रै यसपालि करिब ५० हजार आम्दानी गरेको बताए । उनी सदरमुकाम तम्घामा गुल्मी अर्गानिक कफी जिल्ला सहकारी संस्था खोलेर जिल्लामा उत्पादित कफी विभिन्न मुलुकमा निर्यातसमेत गर्दै आएका छन् । “गाउँमा कृषकले उत्पादन गरेको तरकारी एवं अन्य बालीसमेत आफ्नो संस्थाले संकलन गरी उचित बजार व्यवस्था मिलाइदिनेछ,” उनले भने ।
राष्ट्रिय आर्थिक दैनिक 'कारोबार' बाट
0 प्रतिकृयाहरु