जग्गाधनीलाई नियन्त्रणमा लिई डोजर
Published on
6:13:00 PM //
मोटरबाटो खन्ने क्रममा जग्गाधनी र उपभोक्ता समितिबीच विवाद हुने गरेको त सुनिएको थियो, तर बल प्रयोग गरी जग्गाधनीलाईं नै नियन्त्रणमा लिई डोजर सञ्चालन गरेको भने सुनिएको थिएन । गत आइतबार यस्तो नौलो घटना घट्यो, गुल्मीमा ।
बडागाउँ गाविस वडा नं ७ थुम्काको करमबोटमा निस्ती थुम्का हुँदै मैदान मोटरबाटो खन्दा आफ्नो खेतबाट बिना सहमति डोजर चलाएकोमा विरोध गर्न पुगेकी सोही गाविसको ठूलाचौरनिवासी कोपिला रिजाललाई मोटरबाटो समितिले स्थानीय महिला लगाएर नियन्त्रणमा लिई डोजर सञ्चालन गरेर नौलो घटना घटाएका हुन् ।

समितिका अध्यक्ष लेखनाथ र आरोपित महिलाहरूले भने चलिरहेको डोजर रोक्न नजिकै गएकाले कुनै अप्रिय घटना नघटोस् भन्नका लागि आफूहरूले कोपिलालाई समातेर राखेको बताए । पीडितले भने श्रीमान् तथा आफ्ना अभिभावक कोही पनि घरमा नभएकाले सहमति नलिएसम्म डोजर रोकिदिन आग्रह गर्दा समितिका व्यक्तिले महिलाहरूलाई बोलाई आफूमाथि आक्रमण गरेको बताइन् ।
यस सम्बन्धमा स्थानीय ए. नेकपा माओवादीका स्थानीय नेता गोमबहादुर सुनार, नेपाली कांग्रेसका वसन्त रिजाल र एमालेका बालकृष्ण रिजालले घटनाको निन्दा गर्दै उपभोक्ता समितिले एक्ली महिलामाथि हातपात गरेर अन्याय गरेको भन्दै पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कारबाही हुनुपर्नेमा जोड दिए ।
पीडित कोपिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय, गुल्मीमा अन्यायका विरुद्ध उजुरी दिएकी छन् । प्रहरीले उपभोक्ता समितिलाई बोलाई दुवै पक्षबीच छलफल गराउने बताएको छ । उजुरी आएपछि विवादित सो मोटरबाटोमा डोजर सञ्चालन बन्द गर्न लगाइएको प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले जानकारी दिए ।
जिल्लाका अधिकांश स्थानमा सबै दल सम्मिलित उपभोक्ता समितिले जग्गा धनीको सहमतिबिना जबरजस्ती डोजर सञ्चालन गर्ने गरेका छन्, जसले गर्दा कतिपय गरिबको गाँसवास नै गुमेको गुनासो सर्वसाधारणको छ ।
कारोबार दैनिकबाट
0 प्रतिकृयाहरु