Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आमालाई दागबत्ती दिन हिँडेका जेठा छोरा दुर्घटनामा परेर आफै बिते

Published on 6:26:00 PM //

 टेकनारायण भट्टराई, केराबारी (पाल्पा),
नागरिकन्युजबाट 
बिहीबार राती दिलबहादुर रजालीलाई बुटवल सेमराबाट आफन्तले फोन गरे -'आमा बित्नु भयो तिमी तुरुन्त आऊ।'

९० वर्षीया वृद्ध आमा देवकला रजालीको मृत्यु भएको खबर सुनेपछि राति १० बजे नै जिप रिजर्भ गरेर दिलबहादुर पत्नी देउकलासहित गुल्मी तुराङबाट बुटवलतर्फ हिँडे।

'सासु बितेर काजकिरिया गर्न हिँडेको झनै पो दशा लग्यो।' लुम्बिनी मेडिकल कलेजमा आकस्मिक कक्षको ७ नम्बर बेडमा सिकिस्त अवस्थाकी देउकलाले भनिन्, 'सासुको लाश देवघाटमा गण्डकी किनारामा छ, दागबत्ती दिन जेठो छोरा कुरेर बसेका छन्।'
उनलाई पतिको मृत्यु भैसकेको थाहा दिइएको छैन।
'मेरा बुढालाई कता लगे, यहीँ नजिकै ल्याएको भए हुन्थ्यो।' उपचारमा खटिएका नर्ससँग उनले पति भेट्ने इच्छा पटक पटक दोहोर्‍याइन्।
मृतक वृद्धाका तीन भाइ छोरा मध्ये दुई भाइ रोजगारीका लागि भारतमा छन् भने दागबत्ती दिन हिँडेका जेठा छोरा दुर्घटनामा परेर बितेका हुन्। भारतमा रहेका छोराहरु आउन केही दिन लाग्ने आफन्त टेकबहादुर रजालीले बताए।

सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडक खण्डमा आज बिहान भएको जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। तीनजना घाइते छन्।

गुल्मी तुराङबाट बुटवल हिडेको लु १ च ३६६९ नम्बरको पिकअप महेन्द्रा जिप पाल्पा मस्याम गाविस-४ केराबारीमा शुक्रबार बिहान साढे ४ बजे सडकबाट करिब डेढसय मिटर तल खसेको थियो।
दुर्घटनामा जिप चालक सल्यान जिल्ला हिवाल्चा-५ का ३७ बर्षीय शेरबहादुर थापा, गुल्मी तुराङ्ग गाविस-४ का ५२ बर्षीय दिल बहादुर रजाली र ६८ बर्षीय धनबहादुर बस्नेत, तुराङ-१ का ४६ बर्षीय खगेश्वर अर्याल र तुराङ-२ का ४७ बर्षीय नारायण खनालको मृत्यु भएको प्रहरीले जनाएको छ।

तुराङ-१ का कमल अर्याल र उनकी पत्नी आरती र तुराङ-४ की देउकला रजाली घाईते छन्। घाईते दम्पत्तिको बुटवल स्थित लुम्बिनी अञ्चल अस्पताल र रजालीको लुम्बिनी मेडिकल कलेज तानसेन प्रभासमा उपचार भैरहेको छ।

जिप खसेको २ घण्टा पछि प्रहरी घटनास्थल पुगेको थियो। झ्यालबाट उछिट्टिएर भिरमा अडिएका कमल अर्याल घाइते अवस्थामै सडकमा निस्केर गाडी कुरेर बसे। उनकी पत्नी आरती र बुबा खगेश्वर जिपसँगै तल पुगेका थिए। बिहान अँधेरो भएकाले उनी कतै हारगुहार गर्न सकेनन्।

'एक घण्टा कुरेपछि बुटवल जाने मोटरसाइकलमा लिफ्ट मागेर दोभान प्रहरी चौकीमा पुगेर खबर गर्नुभयो।' ट्राफिक प्रहरी सहायक निरिक्षक रेशम रानाभाटले भने, 'वहाँलाई उपचारका लागि बुटवल पठायौं र हामी घटनास्थलमा आयौं।' दुर्घटनास्थल देखि ५० मिटर टाढाको केराबारी बजारका स्थानीयले प्रहरी पुगिसके पछि मात्रै थाहा पाएका थिए।

'रातभर गाडी चलाएका ड्राइभरले झुपुक्क निद्रा लागेर गाडी हुत्तिएछन्।' रानाभाटले भने, 'यात्रुले निद्रा लागेको भए केही बेर रोकेर सुतौं भन्दा ड्राइभर छिटो पुग्न हतारिएछन्।' निकै अप्ठेरो भिरमा जिप खसेको र घाइतेको उद्दार र शव निकाल्न ७ घण्टा लागेको उनले बताए।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग