Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

ब्लग बार्ता: लाहुरे दाईसँग

Published on 6:17:00 PM //

गुल्मी, जुभुङ ३, झिरबासमा २०२९ सालमा जन्मिनुभएका लाहुरे दाईको वास्तविक नाम भने श्री प्रसाद थापा हो । नेपाली कला क्षत्रको हाँस्य बिधामा एक स्थापित नाम हो यो ।
तितो सत्यको "लाहुरेको करिम...." र रेडियो अडियोको "झ्याम्मै दोहरी"बाट चर्चाको शिखरमा पुग्नुभएका थापा कलाकारितामा भने २०४५ माघ १७ देखी प्रवेश गर्नुभएको हो । बिएल सम्म अध्ययन गर्नुभएका थापा अहिले रेडियो नाटक, रेडियो कार्यक्रम सन्चालन, टेलिचलचित्र, म्युजिक भिडियो, टेलिभिजन कार्यक्रम र चलचित्र आदिमा ब्यस्त हुनुहुन्छ । उहाँ अहिले रेडियो अडियो, हिमालय टि.भी र नेपाल टि.भीमा बिबिध कमेडी कार्यक्रमहरु सन्चालन गरिरहनुभएको छ भने उहाँद्वारा अभिनित नेपाली चलचित्र गोर्खा प्ल्टन भर्खरै सफलता पुर्वक प्रदर्शन भएको छ । प्रस्त्तुत छ उनै लाहुरे उर्फ श्री प्रसाद थापासँग गुल्मीन्युज.कमले लिएको ब्लग वार्ता :  
¤ श्रीप्रसाद थापा या लाहुरे दाई ? दर्शक स्रोताहरुले के भनेर बोलाएको मन पर्छ?
-लाहुरेदाई या श्री थापा जे भने पनि खुशी । सबै भन्दा पहिला श्री थापा त्यसपछी मात्र लाहुरे दाई भाको हो ।

¤ नाम लाहुरे दाई नै रोज्नुको केही खास कारण छ कि ?
-त्यस्तो यही नै कारणले भन्ने त केही छैन, पब्लिकले लाहुरे दाई नै खुबै मन पराइदिनुभयो त्यसैले ।

¤ कोही कोही त तपाईंलाई साँच्चिकै लाहुरे भन्ठान्दा हुन नि ?
-हो त धेरै जना झुक्किनुहुन्छ, साच्चिकै लाहुरे ठानेर । लाहुरे नभए पनि लाहुरेको अनुभुती गर्न सक्ने भएकोले घटनाले खासै फरक पार्दैन ।

¤ तपाईं त फौजी पृष्‍ठभुमिको मान्छे, बाबु बाजे जस्तै तपाईंलाई पनि लाहुरे हुने रहर जागेन?
-स्कुल जीवनमा लाहुरे हुने चाहना नभएको त होइन तर जब क्याम्पस पढ्न थालेँ त्यस पछी पुर्खाले रोजेकै बाटो हिंड्नु पर्छ भन्ने लागेन । कलाकारिता तिर लागियो, पर्दा र स्टेजमा धेरै पटक लाहुरे भईयो ।

¤ बिहे कसरी गर्नु भयो ? (प्रेम कि मागी?)
-कुनै शंकै छैन । पूर्ण रुपमा परम्परगत मागी विवाह हो ।

¤ खुबै ह्याण्डसम हुनुहुन्छ, प्रेम कतिजनासँग गर्नुभयो अहिलेसम्म ?
-फुलको आँखामा फुलै संसार, म त खासै राम्रो छु जस्तो लाग्दैन तर मलाई राम्रो भन्नेहरुका आँखा सुन्दर हुन । प्रेमको गिन्ती हुँदैन जन्माउने बाबु-आमा, जन्मिएको ठाउँ, आफन्त, नातागोता, समाज, मुलुक, प्रकृती सबैसँग प्रेम छ । मलाई माया गर्नेले माया गरुन्जेल माया रहिरहन्छ ।

¤ गाउँमै घाँस दाउरा गर्दा त गोठाल्नी संगिनिहरुसँग त माया बस्याथ्यो होला नि ?
-घाँस दाउरा गर्दा त माया के हो थाहै थिएन हो । तर घाँस-दाउरा गरेको ठाँउसँग भने गज्जबैसँग माया बस्याथ्यो ।

¤ कानुन पढेको मान्छे, कलाकारितामा कसरी आउनुभयो ?
-कानुनका अक्षरहरुमा कला देखिएछ कि ? (हाहाहा) मेरो रुची नै कलामा भो, अहिले त रगत रगतमा कला छ ।

¤ रेडियो नाटक या रेडियो कार्यक्रम सन्चालनमा कुनै एक रोज्नु पर्‍यो भने ?
-बिधाको हिसाबमा रोज्नु पर्दा नाटक रोज्छु । रेडियो कार्यक्रमलाई नै नाटकिय बनाउन मिल्ने भो भने दुबै भन्नुपर्छ ।
¤ कलाकारिताले नै जिबिकोपार्जन गर्न पुग्दोरैछ कि अरु नै कुनै जागिर पनि गर्नुहुन्छ ?
-मन हो जुन पेसाले पनि बाँच्न त सकिन्छ तर म रेडियो र टि.भी दुबै मिडियामा काम गर्छु, त्यसैले गुजारा चलाऊन गर्हो छैन ।

¤ गाउँ कत्तिको जानुहुन्छ ?
-जान त मन लाग्छ तर कामले गर्दा फुर्सद कम मिल्छ । त्यसैले कहिले काँही मात्र जान्छु ।

¤ तपाईंको हातमा कुनै त्यस्तो जादु वा भनौँ शक्ती भएको भए आफ्नो गाउँ र जिल्लाको लागि के गर्नुहुन्थ्यो?
-नेतालाई जस्तो प्रश्न पो सोध्नु भो त । मैले सक्नेजती त गरिहाल्छु नि ।

¤ तपाईं छँदाको बेला र अहिलेको गाउँमा के चाँही सकारत्मक परिवर्तन भए जस्तो लाग्छ ?
-धेरै परिवर्तन भएको छ । हाम्रो पालामा भन्दा लगभग सबै कुरामा परिवर्तन आएको छ । गाउँ सुबिधयुक्त भएको छ बिजुली, पानी, मोटारबाटो, संचार, शिक्षा अनी चेतना र आम मानिषहरुको जीवनशैली सबै कुरा राम्रो भएको छ ।

¤ मागेर पाउने भए के भगवानसँग के माग्नुहुन्थ्यो?
-बाबु-आमा माग्ने थिए, जो यो संसारबाट बिदा भईसक्नु भएको छ ।

¤ अहिलेसम्म परिवर्तन हुन नसकेको कुरा? किन होला ?
-सोच, पुरानो सोच वा नकारात्मक सोच जसलाई परिवर्तन गर्नु अती जरुरि छ । बुझाईको कमीले पनि होला ।

¤ आफ्नो गाउँ-ठाउँ र समग्र जिल्ला नै छोडेर बहिर रहनुभएको गुल्मेली दाजुभाइ दिदीबहिनिहरुलाई के भन्न चाहनुहुन्छ ?
-जुनसुकै ठाँउमा रहे पनि आफ्नो गाउँ ठाउँ पाखा पखेरालाई कहिल्यै नबिर्सनु । नेपाली कला र सँस्कृतिलाई सधैं माया गरिदुनुहोला ।

¤ अन्त्यमा गुल्मीन्युज डट कमलाई केही सल्लाह सुझाब ?
-साइट राम्रो छ । हाम्रो आफ्नोपन, परम्परा, सँस्कार अनी साकारात्मक कुराहरुको बिषयमा सबैलाई जानकारी गराउदैँ जानु , मेरो शुभकामना ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग