रोजगारी खोज्दै युवा भारत, गाउँमा पुरुष भेट्न गार्हो
Published on
10:41:00 AM //
घनश्यम गौतम
गाउँभरि जम्मा ५६ घर । कोही खरका झुपडी त कोही मुस्किलले ४ जनाको परिवार अट्न सक्ने घर । हरेक घरमा कम्तीमा ४ जनासम्म पुरुष सदस्य छन् तर घरमा कोही पुरुष भेटिंदैनन् ।
बलिथुम गाविसको बोटेगाउँमा दिउँसो पुग्ने जोकसैले पनि बालबालिका बाहेक अन्य अभिभावक देख्न पाउँदैनन् । बोटे गाउँमा मात्र ४ सयभन्दा बढी पुरुष सदस्य रहेको भए पनि गाउँमा नगन्य मात्रामा छन् । धेरै रोजगारीका लागि भारतको बम्बै पुगेका छन् । एक दर्जन मात्र साउदी अरबमा छन् ।
विपन्न समुदायका भएकै कारण दिउँसोमा गाउँका महिलाहरूसमेत ज्याला मजदुरीमा जाने गरेकाले गाउँमा बालबालिका मात्र भेटिने गरेका हुन् । स्थानीय समाजसेवी हरिप्रसाद गौतमका अनुसार गाउँबाट रोजगारीका लागि बम्बैमा पुग्नेहरूमा ७/८ वर्षदेखि ४० वर्ष उमेरका छन् ।
'गाउँ महिलाहरूले मात्र धानेका छन्', उनले भने, 'धेरैका श्रीमान् र छोराहरू भारतको बम्बै र अरबतिर गएका छन् ।'
बम्बैमा काम गर्नेहरूले मासिक ३ देखि ५ हजारसम्म कमाउने गरेको स्थानीय दुर्गा माझीले बताइन् । 'बम्बैको प्लास्टिक कम्पनीमा काम गर्नुहुन्छ ।', वर्षमा एक पटक आउने श्रीमान्का बारेमा उनले भनिन्, 'सबै गर्दा मासिक ४ हजारसम्म कमाइ हुन्छ ।'
बम्बैमा गएका झण्डै ४० युवामध्ये एक जनाले मात्र गाउँमा पक्की घर बताएका छन् । अन्य धेरैको कमाइ निकै थोरै हुने भएकाले घरखर्चमै सीमित हुने गाउँका अगुवा झमानसिंह माझीले बताए ।
स्थानीय मुना माझीका श्रीमान् पनि १५ वर्षदेखि बम्बैको कोठीमा काम गर्दै आएका छन् । उनको तलब पनि नेपाली २ हजार छ । उनले पनि दुई वर्षमा एक पटक घरमा आउने श्रीमान्ले आउँदा २०/२५ हजार लिएर आउने बताइन् ।
कम्पनीमा भन्दा कोठीमा काम गर्नेहरूको पारीश्रमिक निकै कम हुने भएकाले बम्बैमा पुगेका धेरैको आम्दानी निकै कम हुने गरेको श्रीमतीहरूले बताए ।
बलिथुमको बोटे गाउँ मात्र होइन अमरपुरको बुल्म र बम्घाको आँटीपाटाको अवस्था पनि उस्तै छ । जिल्लाका शान्तिपुर, हस्तिचौर, बडागाउँ, तुराङ्ग लगायत गाविसका माझी, बोटे र कुमाल समुदायका अधिकांश युवाहरू यसरी नै गाउँ नै छोडेर रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुग्ने गरे पनि अत्यन्तै कम पारिश्रमिकमा काम गर्न बाध्य छन् ।
अमरपुरको बुल्मबाट पनि गाउँका झण्डै २ सय युवा भारतको गुजरातमा रोजगारीका लागि पुगेका छन् । विपन्न समुदायका अधिकांश युवाहरूले गुजरातमा घोडा चलाउने काम गर्ने गर्दछन् । 'दिनभर घोडामा यात्रु ओसारपसार गर्ने हो', बुल्मकै प्रेम मुखियाले भने, 'दिनभर भएको कमाइ साँझ मालिकलाई बुझाउने र आफूले मासिक ३ देखि ५ हजारसम्म तलब बुझ्ने हो ।'
तीन वर्षसम्म घोडा चलाएर फर्केका मुखियाले आम्दानी धेरै हुने भए पनि मालिकले थोरै तलबमा काम गराउने उनले बताए ।
अधिकांश विपन्न समुदायका युवाहरू कम ज्यालामा भारतमा मजदुरीका लागि पुगे पनि जिल्लाका कुन गाविसमा कति युवाहरू रोजगारीका लागि बाहिर गएका छन् भन्ने कुनै तथ्यांक छैन ।
अधिकांश गाविस सचिवहरू सदरमुकाम तम्घासमै बस्ने गरेका कारण तथ्यांक संकलन हुन नसकेको जिविसले जनाएको छ । यो वर्षदेखि सबै गाविसले अनिवार्य 'भिलेज प्रोफाइल' तयार गर्ने गरी बजेट छुट्याएको गाविस सचिव हकहित संरक्षण मञ्चले जनाएको छ ।