Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँगाउँमा बैंक, दैनिक २ करोड रेमिट्यान्स

Published on 1:54:00 PM //

बिकास बैंकहरुले ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेपछि दुर्गम क्षेत्रका सर्वसाधरणलाई बैकिङ्ग सुविधामा सहजता भएको छ । बैंकहरुको शाखा विस्तारले रेमिटान्स लिनेसंगै ब्यापार व्यवसाय समेत बढेको छ ।
जिल्लाका सबै ग्रामिण बजारहरुमा रेसुङ्गा, गुल्मी र काष्ठमण्डप विकास बैंकले शाखा विस्तार गरी सर्वसाधरणमाझ बैकिङ्ग सुविधा पुर्‍याएका हुन् । बैंकिङ्ग सुविधाले गाउँका सर्वसाधरणलाई रेमिटान्स कारोबारमा सबै भन्दा बढी सुविधा पुर्‍याएका छन् ।
Resunga Bikash Bank, Majuwa Branch. Photo: Tara Bhushal
बैकहरुका अनुसार जिल्लामा दैनिक झण्डै २ करोड भन्दा बढी रेमिटान्स भित्रिने गरेको छ । रेसुङ्गा विकास बैंकका सहायक प्रवन्धक दिपक पोखरेलका अनुसार बैंकले ग्रामिण क्षेत्रमा खोलेका ६ शाखाबाट दैनिक ८० लाख भन्दा बढी रेमिटान्स वितरण भैरहेको छ । बैंकले जिल्लाका वामीटक्सार, शान्तिपुर, खैरेनी, बलेटक्सार, मजुवा र सिमलटारीमा शाखा विस्तार गरेको छ । ‘वामी र बलेटक्सार शाखामा रेमिटान्सको लागि सर्वसाधरणको सधै भिड लाग्ने गरेको छ’, पोखरेलले भने, ‘एकै दिन ७० देखि १ सय जनासम्मले एकै शाखाबाट रकम लिने गरेका छन् ।’ तम्घासबाट पनि दैनिक ४० लाख भन्दा बढी वितरण गर्दै आएको छ ।
त्यस्तै गुल्मी विकास बैंकले पनि वामीटक्सार र मजुवामा शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ । बैंकका कार्यकारी निर्देशक चिरञ्जीवी आचार्यका अनुसार शाखा र तम्घासबाट समेत गरी दैनिक ४० लाख रेमिटान्स भित्रि्ने गरेको छ । त्यस्तै दैनिक ३५ लाख जिल्लाबाट बाहिर समेत जाने गरेको आचार्यले बताए । ‘किष्ट बैंक र लक्ष्मी बैंकसंगको सहकार्य भएकाले पनि बाहिर पठाउने धेरै छन् ।’, आचार्यले भने । त्यस्तै रिडीमा काष्ठमण्डप बैंकले शाखा खोलेको छ । सदरमुकामका बैंकहरुको तुलनामा ग्रामिण क्षेत्रका शाखाहरुमा खाता खोल्ने ग्राहकहरु समेत धेरै छन् । सबै बैंकका शाखाहरुमा गरेर २० हजार ग्राहकले खाता खोलेको बैंकले जनाएका छन् ।
बैंकहरुले गाउँबाटै रेमिटान्स वितरण गर्न थालेपछि बाहिरबाट आफन्तले पठाएको रकम लिन सदरमुकाम र पाल्पा, बुटवल पुग्ने पर्ने बाध्यताबाट सर्वसाधरण मुक्त भएका छन् । ‘सधै रकम लिन पाल्पा पुग्नु पथ्र्यो’, तुराङ्गकी सर्मिला अर्यालले भनिन्, ‘गाउँमै बैंक आएपछि निकै सजिलो भएको छ ।’ बैंकले फोनबाटै जानकारी गराएपनि रकम खातामा जम्मा गर्ने सुविधा समेत उपलब्ध गराएकाले धेरै महिलालाई सहयोग पुगेको उनले बताईन ।
रेमिटान्ससंगै बषौंदेखि बैंकिँ सुविधाको उपभोग गर्न नपाएका सर्वसाधरणले नियमित बचत गर्ने र हायरपर्चेज, ब्यापार, भवन निर्माण, बिपन्न वर्ग, शिक्षा, कृषि, लगायतका क्षेत्रमा ऋण लिनेहरुको संख्या झण्डै छ सय भन्दा बढी छ । गाउँमा खुलेका बैंकहरुले सहज रुपमै ऋण उपलब्ध गराउन थालेपछि गाउँ गाउँमा जिप, कार र मोटरसाईकलको संख्या समेत निकै बढेको वामीटक्सारका व्यवसायी अर्जुन सापकोटाले बताए । बैंकहरुले सहज रुपमा हायरपर्चेज कर्जा उपलब्ध गराउन थालेपछि जिल्लाका अधिकांस जिप चालकहरु आफै मालिक बनेका छन् । सदरमुकाम तम्घासमा समेत कार र भ्यान चढ्नेहरुको संख्या पछिल्लो एक वर्षको अवधिमा तीन दर्जन पुगेको छ ।
छ शाखा विस्तार गरेको रेसुङ्गा बैंकका कर्जा प्रमुख लालमणी पन्थीका अनुसार बैंकका शाखा सहित तम्घासबाट १३ करोड ७५ लाख रुपैंयाँ हायरपर्चेजमा मात्र लगानी भएको छ । बैंकले ३ सय ४० भन्दा बढीलाई हायरपर्चेज कर्जा उपलब्ध गराएको छ । हायरपर्चेजसंगै ब्यापार, व्यक्तिगत, विपन्नबर्ग, कृषि लगायतका क्षेत्रमा ऋण लिनेहरुको संख्या समेत बढेको पन्थीले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग