माघेसंक्रान्तिमा रिडी मेला
Published on
12:05:00 AM //
निरु अर्याल/टोपराज शर्मा
कारोबार दैनिक
पश्चिमाञ्चलको पहाडी जिल्ला गुल्मीस्थित कालीगण्डकीको तीरमा अवस्थित रिडीघाट प्रसिद्ध धार्मिकस्थलका रूपमा परिचित छ । माघेसंक्रान्तिको आगमनसँगै रिडी सिंगारिएको हो ।
हरेक वर्ष माघ एक गते अर्थात् माघेसंक्रान्तिको दिन यहाँ विशेष मेला लाग्ने गरेको छ । कालीगण्डकीको तीरमा अवस्थित घाट, परम्परागत शैलीमा बनेका मठ मन्दिरका रूपमा परिचित छ । माघेसंक्रान्तिमा यहाँ श्रद्धालु भक्तजन मात्र नभएर भारतका विभिन्न स्थानबाट सन्त, महन्त तथा साधु, महन्त पनि प्रशस्त आउने गर्छन् ।नेपालमा भएका धेरै घाटमध्ये माघेसंक्रान्तिमा कालीगण्डकी नदी घाटमा स्नान गरे पुण्य प्राप्त हुन्छ भन्ने जनविश्वास छ । माघेसंक्रान्ति आगमनसँगै स्वदेश तथा विदेशका श्रद्धालु भक्तजन यहाँ आउने क्रमले घाटसँग जोडिएर रहेको रिडी बजारमा समेत मानिसहरूको चहलपहल बढेको छ । नेपालको बनारस भनेर उपमा दिइने यस स्थान प्राकृतिक मनोरम दृश्यले समेत सुन्दर छ । तीन जिल्ला पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रहेको यस स्थानलाई धार्मिक ग्रन्थहरूमा रुरु क्षेत्रका नामले समेत वर्णन गरिएको पाइन्छ ।
ऐतिहासिक र पौराणिक महत्व बोकेको रुरु क्षेत्र धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न स्थानीय संघ-संस्था सक्रिय रूपमा लागि परेका छन् । राजधानीबाट करिब ४ सय किलोमिटर दूरीमा रहेको रुरु क्षेत्रमा माघेसंक्रान्तिको आगमनसँगै व्यापार व्यवसायमा समेत वृद्धि हुने गरेको व्यापारी बताउँछन् ।
रुरु क्षेत्रमा रहेका ऋषिकेशवको मन्दिर, ऋषिकेशवको पूर्णकदको मूर्ति, ऋषिमुनि तथा विभिन्न देवीदेवताका मन्दिरमा, घाटमा स्नान गर्न माघेसंक्रान्तिमा दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्छ ।
रुरु कन्याले तपस्या गरेको गुफा, फराकिलो कालीगण्डकी नदी, प्रथम प्रधामन्त्री भीमसेन थापाद्वारा आफ्नी आमाको स्मृतिमा बनाएको पौवालगायतका प्राकृतिक स्थल तथा भौतिक संरचना पर्यटकका लागि आकर्षण बनेका छन् ।
रुरु क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न पर्यटन विकास समितिसमेत गठन गरेर यस क्षेत्रको विकासमा स्थानीय संघ÷संस्थाले सक्रियता देखाएका छन् । उनीहरूको सक्रियताका कारण सरकाले यसवर्ष यो क्षत्रको विकास र सम्बद्र्धनका लागि १० लाख रुपैयाँ विनियोजन गरेको छ । उक्त बजेटबाट देवदत्तपार्क निर्माण सुरु गरिएको समितिले जनाएको छ ।
माघेसंक्रान्ति मेला धार्मिक हिसाबले जति महत्वको छ, स्थानीय बासिन्दाका लागि त्यति नै घरेलु उत्पादनको प्रवद्र्धन गर्ने अवसर पनि बन्ने गरेको छ । पछिल्ला वर्षहरूमा धेरै पर्यटकलाई आकर्षित गर्न रुरु क्षेत्रमा माघेसंक्रान्ति मेलाको आवसरमा सांस्कृतिक कार्यक्रम, घरेलु उत्पादन तथा सामग्रीको व्यापार, कृषि प्रदर्शनी, श्रीमद्भागवत विश्वशान्ति ज्ञान महायज्ञलगायतका कार्यक्रमहरू पनि आयोजना गरिँदै आएको छ ।
रुरु क्षेत्रमा माघेसंक्रान्तिबाहेक वैशाखे संक्रान्ति, हरिबोधनी एकादशी लगायतका विभिन्न पर्वमा आगन्तुकको भीड लाग्छ ।
गुल्मी, पाल्पा, स्याङ्जा, बागलुङ, रोल्पा, रुकुम, अर्घाखाँचीलगायत नवलपरासी कपिलवस्तु, रूपन्देहीलगायतका पर्वत जिल्ला र भारतको उत्तर प्रदेश, बिहार लगायतका क्षेत्रबाट भक्तजनहरू यहाँ आउँछन् । रुरु रेसुंगा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अर्जुन आचार्य धार्मिक आस्थाकै कारण रुरु क्षेत्रमा पर्यटन विकासका प्रशस्त आधार रहेको बताउँछन् । नेपालको सबैभन्दा गहिरो नदीका रूपमा परिचित गण्डकी नदी पनि यहीनै भएकाले भक्तजन तथा पर्यटकको मुख्य गन्तव्यका रूपमा लिने गरिएको छ ।
दर्शनार्थीहरूको यकिन विवरण नभए पनि प्रत्येक वर्ष यो क्षेत्रमा ५ लाख दर्शनार्थी आउने गरेको अनुमान समितिले गरेको छ । धार्मिक र पौराणिक मान्यताअनुसार रुरु क्षेत्रको कालीगण्डकीमा स्नान र ऋषिकेशव मन्दिरको दर्शन गरेमा जीवनभर गरेका पापहरू नष्ट भई मोक्ष पाइने विश्वास रहिआएको छ । पौराणिक किंवदन्तीअनुसार प्राचीनकालमा देवदत्त ऋषिले भगवान् शिवको तपस्या गरेका कारण स्वर्गका राजा इन्द्रको गद्दी डगमगाएकाले इन्द्रले स्वर्गबाट अप्सरा पठाएर ऋषि देवदत्तको तपस्या यही भंग गराएका थिए ।
तपस्या भंग गर्न स्वर्गकी अप्सरा र देवदत्त ऋषिबीच सम्भोग भएपछि उनीहरूबाट पम्मोचा नामकी बालिकाको जन्म भएको र बालिकालाई मृगले पालनपोषण गरेकाले ती बालिकाको नाम रुरु कन्या रहन गएको बताइन्छ । मृगलाई संस्कृत भाषामा रुरु भन्ने गरिन्छ । तिनै रुरु कन्याले भगवान् विष्णुको तपस्या गर्दा भगवान् विष्णु ऋषिकेशवका रूपमा प्रकट भएका र रुरु कन्याले तपाईं ऋषिकेशवकै रूपमा यही क्षेत्रमा बसिदिनुस् र समस्त मानवको पाप नष्ट गरिदिनुस् भनी मागेको बर विष्णुले पूरा गरिदिएको पौराणिक मान्यता छ । सोही समयदेखि रुरु क्षेत्रको दर्शन गर्दा सबै पाप नष्ट हुने र मोक्ष प्राप्त हुने धार्मिक विश्वासका आधारमा सयौं वर्षदेखि सो क्षेत्रमा दर्शन गर्ने प्रचलन सुरु भएको मानिन्छ ।
५ सय वर्ष पहिला पाल्पाली सेनराजा अर्गलीबाट कालीगण्डकी नदीमा नुहाउन जाँदा ऋषिकेशवको मूर्ति भेटाएर केहीपर लगेका तर पछि लैजान नसकेपछि त्यहीं राखेर मूर्ति स्थापना गरेको इतिहासमा उल्लेख छ ।
धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गरेको महत्वपूर्ण रुरु क्षेत्रमा रिडी बजार र आसपासमा रहेका होटल तथा रेस्टुरेन्ट मुख्य बाधक रहेको धार्मिक अगुवाहरूको गुनासो छ । रुरु क्षेत्रमा मदिरा र मासुको सेवन तथा बिक्री वितरणमा पूर्णरूपमा रोक लगाउन सकेमा यो क्षेत्र देशकै प्रमुख धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुनसक्ने स्थानीय केशव घिमिरेले बताए । धार्मिक क्षेत्रमा मदिरा र मासुको निर्वाध व्यापारले यसको गरिमा घटाउँदै लगेको गुनासो स्थानीय बासिन्दाको छ ।
रुरु क्षेत्रलाई मदिरा र मासु निषेधित क्षेत्र बनाउन सके हिन्दू धर्मका अनुयायीको धार्मिक आस्थाको केन्द्र बन्न सक्ने र त्यसबाट पर्यटनको विकास हुने विश्वास समितिले लिएको छ । यस क्षेत्रको महत्वलाई झल्काउँदै स्थानीय तथा राष्ट्रिय विद्युतीय सञ्चारमाध्यमले संक्रान्तिका दिन प्रत्यक्ष प्रसारण गर्ने गरेका छन् । यस वर्ष पनि त्यस क्रमलाई निरन्तरता दिने तयारीमा स्थानीय एफएमहरू जुटेका छन् ।