Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

फेसबुकले फर्कायो अमेरिकाबाट

Published on 6:13:00 PM //

भरत पाण्डेय,
तपाईं अमेरिका पुग्नुभयो भने भ्रमण छोट्याएरै फर्कने अवस्था कति बेला आउँछ ? श्रीमती, छोराछोरी वा बाबुआमाले बोलाएमा,  बिरामी भएमा वा अन्य कुनै आकस्मिक घटना भएमा ?


तैपनि अहिले विदेश पुगेको छोरा बाबुआमाको मृत्यु भइहाले पनि त्यहाँ बस्नुपर्ने अवधि सकिएपछि मात्र आएर किरिया गर्छन्। तर गुल्मीको सिमलटारीमा जन्मेर अमेरिका पुगेका एक व्यक्ति आफूले अक्षर चिनेको विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको थाहा पाएर अमेरिकाबाट नेपाल आएका छन्। त्यो पनि निमन्त्रणा पाएर होइन फेसबुकमार्फत थाहा पाएर।



ग्रिनकार्ड पाएर २ वर्षअघि अमेरिका पुगेका मर्भुङ गाविसको सिमलटारीका टेकराज पौडेल आफूले अक्षर चिनेको मालिका उच्च माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको कुरा फेसबुकमार्फत थाहा पाएर त्यहाँ बस्ने अवधि नै छोट्याएर हतारिंदै नेपाल आएका हुन्। २०३४ सालदेखि २०४२ सालसम्म आठ वर्षसम्म अध्ययन गरेको विद्यालयको मायाले गर्दा कसैको निम्तोविना नै नेपाल आएको पौडेलले बताए। कक्षा ४ देखि १० सम्म पढेको विद्यालय हो नेपालमा रहँदा पनि जहिल्यै विद्यालयमा आइरहन्थें। अमेरिकामा बसे पनि स्वर्ण महोत्सव हो भन्ने थाहा पाएपछि आइहाल्न मन लाग्यो -उनले भने। गुल्मी जिल्लामा एसएलसी उत्तीर्ण गरेपछि बुटवल बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका पौडेलले त्यसपछि कपिलवस्तुमै बसाइँ सरेका थिए। २०६६ सालको असोज महिनामा अमेरिका गएर २ वर्षसम्म बस्ने योजना बनाएका पौडेलले विद्यालयको स्वर्ण जयन्ती समारोहको बारेमा थाहा पाएपछि १५ महिनामै नेपाल फर्केको बताए। 



कपिलवस्तुमा बसाइँ सराइ गरेपछि २०४६ सालबाट शिक्षण पेसा शुरु गरेको र १५-१६ वर्षसम्म माध्यमिक विद्यालयको प्रधानाध्यापक भएका पौडेलले आफूले अध्यापन गरेको विद्यालयभन्दा अध्ययन गरेको विद्यालयको बढी माया लागेकोले आएको बताए। हुन त मैले करिब २० वर्ष जति अध्यापन पनि गरें तर आफूले अक्षर चिनेको विद्यालयको माया भनेको छुट्टै हुँदोरहेछ -अमेरिकाबाट छोटो समयमै फर्कनुको कारण प्रस्ट पार्दै उनले भने। 



विद्यालयमा आएर उनले छात्रवृत्तिको लागि आर्थिक सहयोग मात्र गरेनन् विद्यालयको चौतर्फी विकासको लागि सहयोग पुर्याउने उद्देश्यले आफ्नै पहलमा भूतपूर्व विद्यार्थी समाजसमेत स्थापना गरे। भर्खरै त विद्यालय राम्रो छ कुन पक्ष सुधार गर्ने भन्ने छैन तर स्वर्ण महोत्सवको लागि १२ हजार रुपियाँ सहयोग गरें -उनले भने- सुधार गर्नुपर्ने क्षेत्र पहिचान गरेर सहयोग गर्नको लागि भूतपूर्व विद्यार्थी समाज गठन गरेका छौँ ग्रामीण क्षेत्र भएकोले सूचना प्रविधिको पहुँचको अलि अभाव छ त्यसका लागि पहल गर्नेछौं।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग