गुल्मीमा वेल विवाह सुरु, ६ जिल्लाका १४४ बालिकाको सामुहिक विवाह
Published on
12:11:00 AM //
पी.एम.मगर
गुल्मीको बम्घा गाविसको रानीबासमा आज देखि नेवार समुदायका बालिकाहरुको सामुहिक बेल विवाह (इही) शुरु भएको छ ।

जिल्लाबाट आएका १ सय ४४ बालिका सहभागी भएको विवाह समितिका अध्यक्ष तिर्थ श्रेष्ठले बताउनु भयो । विवाहमा ५ देखि १२ वर्ष उमेरका बालिकाहरु सहभागी छन् । नेवार समुदायले बेल विवाहलाई सुवर्णकुमार विवाह पनि भन्ने गरिन्छ । बालिकाहरुको विवाहका लागि स्थानीय समुदायले काठमाण्डौबाट पण्डित विष्णुचन्दन आचार्यलाई झिकाएका छन् । अन्य समुदायका युवतिको विवाह जस्तै नै गरी बालिकाहरुको जल खाने, सिन्दुर लगाउने र कन्या दानका सबै कर्म गरिने पण्डित आचार्यले जानकारी दिनुभयो ।

तिन दिनसम्म चल्ने बेल विवाहको पहिलो दिन मंगलबार बलेटक्सार बजारबाट बालिका र उनीहरुका अभिभावक सहित झण्डै ५ किलोमिटर कलश यात्रा गरिएको थियो । बेल विवाहका लागि ल्याईएका सबै बालिकाहरु झकिझकाउ सुनका गहना र रङ्गीचङ्गी पोशाकमा सजिएका थिए । बिवाहका लागि बालिकाहरुलाई विभिन्न श्रेणीमा बिभाजन गर्ने गरिएको अध्यक्ष श्रेष्ठले बताए । जसअनुसार मुल कन्या, तिन कन्या, पाँच कन्या, नौं कन्या र साधारण कन्या गरेर विभाजन गरिएको थियो ।