Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

परीक्षणको रूपमा शुरू गरिएको बेमौसमी प्याज खेती राम्रो

Published on 8:03:00 PM //

घनश्याम गौतम 
कृषि विकास कार्यालयले तराईका केही जिल्लामा गरेको परिक्षण पछि पहाडी जिल्लामा पनि परिक्षण शुरू गरेको हो । हरेवाका दुई दर्जन बढी घरमा यसै वर्ष शुरू गरिएको बेमौसमी प्याजको उत्पादन राम्रो देखिएको कार्यालयले जनाएको छ ।
शान्तिपुर सेवा केन्द्रका प्राविधिक राजकिशोर यादवका अनुसार बेमौसमी प्याजका लागि माघ महिनामा सेटमा बिउ रोप्ने, असार पहिलो हप्तामा सेटका गानो सहितका बिरूवा उखेल्ने र भदौ या असोजमा पुनः विरूवा रोप्ने गरिन्छ । ‘बेमौसमी प्याज खेतीको पहाडमा पनि राम्रो सम्भावना देखियो’ यादवले भने, ‘शुरूमा हरेवाका झण्डै ३० घरमा ५० ग्रामका दरले बिउ उपलब्ध गराएर परिक्षण गरिएको हो ।’ परिक्षणका रूपमा रोपिएको प्याज धेरैका घरमा राम्रो उत्पादन भएको उनले बताए ।
गाविसमै सबै भन्दा बढी जग्गामा बेमौषमी प्याज लगाएका हरेवा-९ का गोकर्ण शर्माले परिक्षणकै रूपमा रोपिएको भएपनि राम्रो फलेको बताए । ‘आधा रोपनी जतिमा लगाएको छु’, उनले भने ‘प्रति किलो ८५ रूपैयाँमा २३ किलो विक्रि भैसक्यो ।’ अन्य अझै तयार नभएकाले बिक्रि नगरिएको उनले बताए । पहिलो पटक भएकाले असारको पहिलो हप्ता विरूवा उखेलेर रोप्ने बेला भदौंमा यस वर्ष बढी पानी परेकाले केही असर पुगेको किसानहरूले बताएका छन् ।
हरेवामा बेमौषमी प्याज खेतीको परिक्षणका लागि जनकल्याण बहुउद्देश्यीय सहकारीले अगुवाई गरेको थियो । १ सय १३ जना सदस्य रहेको संस्थाका ३० जनाले पहिलो पटक खेती गरेका थिए । उनीहरूले झण्डै ५ रोपनी जग्गामा आलु, टमाटर, बन्दा, काउली लगायत सामुहिक तरकारी खेती समेत गर्दै आएका छन् ।
बजारमा प्याज अभाव भएका बेला बेमौषमी प्याज बजारमा खोसाखोस भएको समेत कृषक शर्माले बताए । ‘बारीमा प्याज तयार नहुँदै घरमा खोज्न आउने धेरै छन्’, उनले भने, ‘सबैले लगाएमा यसको सम्भावना शुरूमै राम्रो देखिएको छ ।’ धेरैले ५० किलो देखि १ क्वीन्टलसम्म प्याज उत्पादन गरेका छन् । सिंचाईको प्रयाप्त सुविधा भएका यस क्षेत्रका हरेवा, शान्तिपुर, हर्राचौर, लगायत तिन दर्जन गाविसमा बेमौषमी प्याजको राम्रो सम्भावना भएको सेवा केन्द्रका यादवले बताए ।
जिल्लाका अन्य गाविसमा पुष माघमा प्याज रोप्ने गरिन्छ । ‘हरेवा गाविसमा अहिले प्याज फलेर खाने भएका छन्’, अर्का कृषक विष्णु गौतमले भने, ‘सबैले गर्ने हो भने बजार खोज्नै नपर्ने रहेछ ।’ न्यून आय र सिंचाई सुविधा सहितको प्रशस्त जग्गा हुनेहरूलाई यो निकै उपयोगी खेती हुने उनले बताए । जिल्ला कृषि विकास कार्यालयका बरिष्ट अधिकृत नरहरीप्रसाद घिमिरेले जिल्लामा बेमौषमी प्याज, धानको गाँजमा लसुन, र तरकारीको लागि ओल खेती परिक्षणको रूपमा शुरू गरिएको बताए ।
‘सबैको उत्पादन राम्रो भएको छ’, घिमिरेले भने,‘अब पकेट क्षेत्र नै घोषणा गरेर अन्य गाविसमा पनि बिस्तारको तयारीमा छौं ।’ हरेवा गाविसमा बेमौषमी प्याज, अर्खले र द्रिरुङ्गमा धान पाक्ने बेलामा गाँजमा लसुनका पोटी राखेर उत्पादन गर्ने गरी लसुन खेती र तरूल, पिडालु, आलु जस्तै खालको ओल खेती पनि शुरू गरिएको उनले बताए । पानी कम भएको पाखो र रूखो जमिनमा समेत फल्ने भएकाले जिल्लाका धेरै गाविस ओल खेतीका लागि समेत राम्रो हुन सक्ने उनले बताए ।
‘बेमौषमी प्याज पहिलो र नयाँ प्रविधि भएपनि निकै राम्रो भएको छ’, उनले भने, ‘सेटबाट गानो उत्पादन गरेर रोपिने यो खेती राम्रो भएपछि किसान समेत आकर्षित भएकाले अब अन्य गाविसमा समेत विस्तार गर्ने तयारीमा छौं ।’

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग