'युद्ध' मा एउटा अधिकृत
Published on
4:52:00 AM //
उत्तर अफ्रिकी मुलुक इजिप्टमा राजनीतिक विद्रोह भड्किँदा होस् वा त्यसैको छिमेकी लिबियामा अन्तरसंघर्ष चर्कंदा होस्- नेपालीहरूलाई उद्धार गर्ने सन्दर्भमा एक लो प्रोफाइल कर्मचारीको नाम छापाहरूमा आइरह्यो । उनी हुन्, परराष्ट्र सेवामा साढे तीन वर्षअघि मात्रै प्रवेश गरेर पहिलो पोस्टिङमा इजिप्टको कायरोस्थित नेपाली दूतावासमा पुगेका अधिकृत तीर्थराज अर्याल ।
'हजुर उहाँ त अफिसमा हुनुहुन्छ । मोबाइलमा गर्नुस् न, म बाहुनी बोलेकी,' तीर्थराजकी श्रीमती मायाको लवजबाट थाहा लाग्थ्यो, पक्कै पनि यी अधिकृत कुनै सुदूर गाउँठाउँबाट हुर्केर आएका एक प्रतिनिधि पात्र हुन् ।
गुल्मीको भित्री गाउँ मर्भुङमा जन्मेका ४१ वर्षे तीर्थराज स्थानीय सिमलटारी गाउँको मालिका माध्यमिक विद्यालयका छात्र थिए । गुन्द्री र चकटीमा बसेर पढेको, १० कक्षासम्म जुत्ताचप्पल लगाउने अवसर नपाएको, छल्ली खोलामा हाम फाल्दै स्कुल पुगेको, हाफपेन्ट पछाडि फाटेर आँखीझ्याल आकृतिमा कुदाकुद गर्नुपर्दाको अवस्थामा गाउँले ठिटो तीर्थराजसँग अरू ठूला सपना केही थिएनन् । उनी केबल चाहन्थे, एसएलसी भने जसोतसो पास गर्न पाए हुन्थ्यो ।
तर लेखान्तको कुरा न तीर्थराजलाई थाहा थियो, न उनका स्कुले सहपाठीहरूलाई । पढाइको तिर्खा बढ्दै गएर पाटन क्याम्पस, शंकरदेव हुँदै त्रिभुवन विश्वविद्यालयबाट एमबीए पढाइ छिचोलेपछि नसोचेको बाटोमा हिँड्न थालेझैं भयो । सिमलटारी गाउँको त्यही मालिका विद्यालयका आफ्ना सहपाठीहरू (अथवा अग्रजहरू) झवीन्द्रप्रसाद अर्याल, डोरनाथ अर्याल, घनश्याम लम्साल, तेजबहादुर छेत्री, दधिराम भण्डारी, घनश्याम भण्डारी, जितबहादुर कार्की, चन्द्रकान्त खनालसहितका आठ जवान आज परराष्ट्र मन्त्रालयमा उपसचिवदेखि नायब सुब्बासम्म) छन् भन्ने सम्झँदा मात्रै पनि तीर्थराजलाई अरब भूमिमा समेत उल्काको आनन्द लाग्ने गरेको छ ।
'पहिला मास्टरीतिर लागियो, निजी स्कुल खोल्ने र अरूतिर पढाउने काम पनि गरें । बोर्डिङ स्कुल हुँदै डिल्लीबजार कन्या क्याम्पस, सरस्वती क्याम्पसमा पनि केही समय पढाएँ । तर चकडस्टरमा उति सन्तुष्टि मिलेन,' तीर्थराज कायरोदेखि फोनमा भन्दै थिए, 'यही कारण ढिलै भए पनि लोकसेवा आयोगतिर छिरें ।' २०६३ भदौमा परराष्ट्र छिर्नुअघि महालेखा परीक्षक कार्यालय, प्रधानमन्त्री कार्यालयमा पनि उनले केही समय जागिर खाएका रहेछन् ।
छनोट, ग्रेडिङ र अवसरका आधारमा पनि उत्तर अफ्रिकी मुलुक इजिप्ट परराष्ट्रका अधिकांश कर्मचारीका लागि छनोटमा परिरहेको हुन्न । अमेरिका, युरोप वा जापानको पोस्टिङ रुचाउनेहरू यहाँ धेरै भेटिन्छन् । 'खासमा इजिप्ट मेरो पनि च्वाइस थिएन, छोराछोरी पढाउने र अन्य अर्थमा समेत,' आफ्नो पहिलो पोस्टिङबारे तीर्थ भन्दै थिए, 'तर यता आएर ठीकै भएछ भन्ने अहिले भइरहेको छ ।'
तीर्थराजका स्कुले समकक्षी डोरनाथ अर्याल अहिले परराष्ट्रको राहदानी कार्यालयमा उपसचिव छन् । 'साथी तीर्थले ज्यान जोखिममा राखेर काम गरेको छ, उसको पहिलो पोस्टिङ भए पनि इजिप्ट र लिबिया घटनामा नेपाली उद्धारमा उसले देखाएको परिपक्वता प्रशंसनीय छ,' डोरनाथ आफ्नो साथीप्रति गौरवान्वित हुँदै भनिरहेका थिए । कुनै पोस्टिङमा जान नचाहेमा 'म जान्न' भन्न सकिने भए पनि सहपाठी तीर्थराजको आत्मबल र अन्तरइच्छा उल्लेख्य भएको उनको मूल्यांकन छ ।
सिंगो अरबभूमिमा राजनीतिक परिवर्तन र अन्तरविद्रोहको राँको सल्किन थालेका बेला उत्तर अफ्रिकी मुलुकहरू -अल्जेरिया, इथियोपिया, लेबनान, लिबिया, मोरक्को, नाइजेरिया, सिरिया, ट्युनिसिया) समेत हेर्ने गरी तीर्थराज इजिप्ट पुगेका थिए । मुस्किलले तीन जना कर्मचारीको पोस्टिङ रहने विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा 'राजनीतिक कोटा' मा पुगेका अधिकांश राजदूतहरूले कूटनीतिक चालचलन बुझ्नै महिनौं अभ्यास गर्नुपर्ने हुन्छ ।
-कांग्रेसी इतिहास हुँदै फोरम (गच्छदार) कोटामा राजदूत बनेर इजिप्ट गएका पूर्वशिक्षक श्यामलाल तबदार पनि 'कूटनीतिक गृहकार्य' गर्नमा शिशु कक्षाको विद्यार्थीझैं तल्लीन भइरहेको खबर मिडियाहरूमा आइरहेको थियो । परराष्ट्रबाट 'रवाना पत्र' समेत नलिई हत्तारिएर कायरो पुगेका तबेदारबाट अरू कूटनीतिक कलाकौशलको अपेक्षा गर्नुको उति अर्थ पनि थिएन)
'इजिप्टको आन्तरिक संघर्ष तीन साताभन्दा बढी लम्बिएन, यस बीचको एक साता मात्रै निकै कठिनाइ अनुभव भएको थियो,' तीर्थराज भन्दै थिए, 'त्यसमा पनि दूतावास र मेरो आवास एउटै भवनमा भएकाले हरबखत सर्तक र चनाखो त रहनैपथ्र्यो ।' तर संख्यामा निकै थोरै नेपाली -झन्डै २ सय) रहेको इजिप्टभूमिमा आन्दोलन चर्किएका बेला पनि सबैसँग निरन्तर सम्पर्क र स्थिति जानकारी भइरहेकाले सोचेजस्तो विपत्ति झेल्नु परेन । तर डेढ महिनाअघि छिमेकी मुलुक लिबियामा पनि पुराना शासक कर्नेल गद्दाफीको विरोधमा जनलहर सुरु भएपछि त्यहाँका झन्डै २ हजार नेपालीको जीवनरक्षा र उद्धारमा कायरो नियोगको हैरानी स्वभावतः सुरु भयो ।
'धेरैजसो नेपालीहरूलाई त्रिपोली (लिबिया राजधानी) बाटै नेपाल घर फर्काइउला र, त्यस्तो धेरै समस्या नउब्जिएला कि भन्ने सुरुमा लागेको थियो,' तीर्थ भन्दै थिए, 'पछि लिबियामा सशस्त्र द्वन्द्व सुरु भएपछि भने बढी अत्तालिनुपर्ने स्थिति आयो ।' लिबिया मामिलासमेत कायरो नियोगले हेर्नुपर्दा केही कूटनीतिक कामहरू लिएर विगतमा लिबिया गएको अनुभव भने तीर्थसँग निकै सुखद रहेछ । त्रिपोलीका अधिकांश अधिकारीहरू बढो सहज, सरल र सहयोगी रहेछन् । तर त्यही मुलुकमा ठूलै अन्तरसंघर्ष सुरु भएपछिको स्थिति भने भिन्न थियो, कसले कसलाई सहयोग गर्ने भन्ने जस्तो !

नेपालजस्तो आर्थिक स्रोतसाधनको खडेरी रहेको मुलुकका कूटनीतिक नियोगहरू र त्यहाँ काम गर्ने कर्मचारीको मनोदशा कस्तो होला (?) भन्दै नकारात्मक गफ मात्रै गरिरहेका पात्र-प्रवृत्तिका लागि यस पटकको इजिप्ट र लिबिया प्रकरण आफैंमा एउटा उदाहरण हो । लिबियामा जारी हिंसामा अहिलेसम्म १ हजारभन्दा बढी लिबियन र अन्य मूलका नागरिकको मृत्यु भइसक्दा एउटै नेपाली पनि हताहत भएको खबर आएन । यसमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय, म्यानपावर संस्था -ज-जसले श्रमिक लिबिया पठाए), उनीहरूको भूमिका अग्रणी रह्यो । योभन्दा फिल्डमा खटेर कहिले यो सीमा त कहिले त्यो सीमा पुग्ने स्थानीय नियोग कर्मचारीको जिम्मेवारीबोधलाई कम आँक्न मिल्दैन । 'एक्लै भए पनि काम गर्न सकिने रहेछ । तर केही स्रोतसाधन र इच्छाशक्तिको साथ चाहिने रहेछ,' नियोगका प्रथम सचिव अर्यालको आत्ममूल्यांकन थियो ।
यसपालाको द्वन्द्व र संघर्षबाट यी अधिकृत स्वयंले पनि केही पाठ सिकेका छन् । र, यो पाठ अरू नेपालीलाई पनि पढाउन चाहेका छन् । 'आफू कहाँ जाँदैछु, आफ्नो कम्पनी के-कस्तो हो, विपत्ति पर्दाका सहयोगी बाटाहरू के-के हुन् भन्ने हामी सबैले सुरुमा बुझ्न पाए राम्रो हुने थियो,' उनी भन्दै थिए, 'जुन देशमा जाने हो त्यो देशको दुई/चार शब्द भए पनि औपचारिकताको भाषा, रहनसहन र संस्कृतिको पत्तो पाइरहनु राम्रो हुनेछ । र, थाहै नभएको गन्तव्यका बारे नचाहिँदो सपना देख्ने/देखाउने काम पनि नभइदिए राम्रो हुन्छ ।'
यसरी अरबभूमिमा एक्ला अधिकृत रहेका तीर्थराज अर्यालले यसपाला नसोचेको काम गर्ने अवसर पाए र काम गरेर पनि देखाए । लिबियाबाट झन्डै २ हजार नेपाली उद्धार भएर घर आइसक्दा पनि तीर्थराजको मनमा एउटा 'सूक्ष्म तर गम्भीर' चिन्ता बाँकी नै थियो । उनी भन्दै थिए, 'अहिले लिबियाबाट फिर्न बाँकी चार जनामध्ये तनहुँका पूर्णबहादुर थापा र रूपबहादुर विक भने दुई सातायता सम्पर्कहीन बनेका छन् । तपाईं आफ्नो पत्रिकामा यो कुरा छापेर उता गाउँका आफन्तहरूसम्म खबर पुर्याइदिन सक्नुहुन्छ कि ? के थाहा, उता घरपरिवारतिर पो थापा र विक दाइको सम्पर्क भइरहेको छ कि ?'
(कान्तिपुर दैनिकबाट साभार)