“लेकको तितो सिटामोल भन्दा छिटो”
Published on
9:35:00 PM //
अरवौको जडिबुटी संरक्षण भएन
गगनशिला खड्का
गुल्मीका थुप्रै लेक पहाडहरुमा अरवौँ मुल्य वरावरको औषधीजन्य जडिवुटी खेर गईरहेको र कतिपय जडिवुटी लोप हुँदै गईरहेको भन्दै अव त्यसको संरक्षण र सदुपयोगका लागि लेकको तितो, सिटामोल भन्दा छिटो भन्ने उक्तीलाई अनुशरण गर्दै अगाडी वढ्नुपर्नेमा विहिवार एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
सदरमुकाम तमघासमा विहिवार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, उपल्लो तमघास, गुल्मीद्धारा आयोजित स्थानीय जडिवुटीको लगत संकलनका लागि सरोकारवालाहरुसँगको छलफल कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् । सहभागीहरुले अव केही दिन भित्रमै गुल्मी क्षेत्र नं. १ को प्रसिद्ध धार्मिक स्थल एवं जडिवुटीको भण्डार मानिने शालिमे दह क्षेत्रमा स्थलगत अध्ययनमा जाने निर्णय गरेका छन् ।
जिल्ला वन कार्यालय, इलाका वन कार्यालय, संवन्धित रेञ्जपोष्टसंग समन्वय गरी जिल्ला जडिवुटी प्रशोधन केन्द्र गुल्मीका अध्यक्ष खड्ग केसीको नेतृत्वमा शालिमे दहको जडिवुटीको लगत उतार्ने आयोजक संस्थाले जनाएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवालीले गुल्मीमा विभिन्न प्रजातिका अरवौँ मुल्यको औषधीजन्य जडिवुटी हुँदा हुँदै पनि मेडिकल औषधीको पछाडी लागेर आयुर्वेदिक औषधी भुलेकाले त्यस्तो जडिवुटी खेर गईरहेको वताउनुभयो । सदरमुकाम तमघासकै रेसुङ्गा वन र अर्जुन डाँडामा मात्रै पाखण्डीवेद, टिमुर, चिराईतो, सतुवा लगायतका विभिन्न प्रजातिका अरवौँ मुल्य वरावरको जडिवुटी खेर गएको भन्दै सहभागीहरुले चिन्ता व्यक्त गरेका थिए ।
त्यस्तै लम्विनी अञ्चलकै सवैभन्दा अग्लो थाप्ले सत्यवती क्षेत्र, मदाने लेक लगायतका टापु लगायतका स्थानहरुमा रहेका जडिवुटीको सदुपयोग तथा आयुर्वेदिक औषधी उद्योगको विकास गर्न जिल्ला स्तरीय समिति समेत गठन गर्नुपर्ने आवश्यक रहेको छ । जडिवुटीको अर्को भण्डार मानिने
मदाने लेकमा वन मन्त्रालयवाट आएका सरोज कोईरालाको नेतृत्वमा स्थानीय सरोकारवालाहरुको एक टोली स्थलगत अध्ययनमा पुगेको जिल्ला वन कार्यालयका सहायक वन अधिकृत कर्णवहादुर पाण्डेले जानकारी दिनुभयो ।
गुल्मी जिल्लालाई आयुर्वेदिक औषधी उद्योग क्षेत्रको रुपमा पहिचान गराउन जिल्ला विकास समितिले करिव डेढ लाख रुपैयाँ वरावरको जडिवुटी प्रशोधन गर्ने मशिन प्रदान गरेपनि भवनको अभावमा प्रयोगमा ल्याउन नसकिएको डा. ज्ञवालीले गुनासो गर्नुभयो । रकम अभावका कारण निर्माणाधिन भवन अलपत्र रहेकोले यसतर्फ जोड् दिन संवन्धित पक्षको ध्यानाकर्षण गराईएको छ । त्यस्तै गौमुत्र समेत भारतवाट ल्याउने परिपाटीको अन्त्य गरी रेसुङ्गाको वनमा छाडिएका गाईहरुको मुत्र प्रशोधन गरी प्रयोगमा ल्याउनुपर्नेमा समेत सहभागीहरुको जोड थियो ।
गुल्मीमा नुनढेकी, घोडाताप्के, तुलसी, सिउँडी, भिर सिउँडी, रुँदेलो, चिराईतो, कालाजिरो, सुनगाभा, वज्रदन्ती, पाती, असुरा, कालसिन्की, गानेगुज्रो, टिमुर, सुनकाउली, सतुवा, घिउकुमारी, वाँको, हर्रो, वर्रो, पाँच औँले लगायतका थुप्रै प्रजातिका औषधीजन्य जडिवुटीहरु त्यत्तिकै खेर गईरहेको छ । सामुदायिक वनले वर्षमा एकचोटी उपभोक्ताहरुलाई दाउराका लागि वन फडानी गराउँदा रुखको माया गरेर वन फडानीको मापदण्ड तोकेपनि जडिवुटी प्रति ख्याल नगर्दा वन फडानीका क्रममा ससाना जडिवुटीहरु फडानी हुने गरेका छन् ।
कार्यक्रममा जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकरप्रसाद गौतम, सहायक जिल्ला वन अधिकृत कर्णवहादुर पाण्डे, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य जनार्दन घिमिरे, जिल्ला जडिवुटी प्रशोधन केन्द्र गुल्मीका अध्यक्ष खड्ग केसी लगायत विभिन्न कार्यालय तथा संघसंस्था प्रतिनिधी एवं सरोकारवालाहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य केन्द्रका प्रमुख डा. दिनेश ज्ञवाली र कार्यक्रम संयोजक कमलप्रसाद आचार्यले सहजीकरण गरेका थिए ।
0 प्रतिकृयाहरु