धेरै पैसा कमाउन डर लाग्छ (सेलरोटी बेचेर करोडपती)
Published on
2:52:00 PM //
दुई वर्षअघिसम्म सविता श्रेष्ठ बन्द भैसकेको श्री डिस्टिलरीको सहायक पदमा काम गर्थिन्। उनका श्रीमान् त्यही कम्पनीमा गार्डको काम गर्थे। दुवै जनाको आम्दानी उनीहरूका लागि दुःखपूर्ण जीवन जिउने आधार थियो। अचानक उनीहरूको रोजगारी गुम्यो। सरकारले कर नतिरेको तथा अन्तःशुल्कको नक्कली स्टिकर प्रयोग गरेको भन्दै सरकारले कम्पनीमा ताला लगाएपछि सयौं मजदुरसँगै उनीहरू बेरोजगार हुन पुगे। तीन छोरा-छोरीलाई उच्च शिक्षा पढाउने बेलामा जागिर गएपछि के गर्ने भन्ने अन्यौल उत्पन्न हुनु स्वाभाविक हो। बेरोजगारीले थलिएका बेला उनले सेलरोटी पकाएर डिपार्टमेन्टल स्टोरहरूलाई बेच्न थालिन्। उनको सेलरोटी यति चर्चित भयो कि सविता श्रेष्ठ दुई वर्षभित्र करिब-करिब करोडपति भएकी छिन्। हरेक मानिसको जीवनमा अप्ठयारा दिन आउँछन्, तर प्रत्येक अप्ठयाराले नयाँ सिर्जना बोकेको हुन्छ भन्ने राम्रो उदाहरण बनेकी छिन्- सविता।
आज करिब-करिब करोडपति हुनुभएको छ, कस्तो लाग्छ ?
खुसी लाग्छ । हिजो दुई जनाले जागिर खाँदा पनि तीन छोरा-छोरीलाई पाल्न र पढाउन कठिन थियो । दुई वर्षभित्रै जीवन फेरियो। ईश्वरले हेरे भन्ने लाग्छ ।
ईश्वरले दिएका हुन् कि मेहनतले कमाउनुभएको ?
मलाई त इश्वरले नै हेरेका हुन् भन्ने लाग्छ । मजस्ता सबै महिलालाई सेलरोटी पकाउन आउँछ, तर सबैले त्यसलाई व्यवसायमा परिणत गर्न सकेका छैनन्। अहिले त मेरो रोटी भन्ने बित्तिकै बजारमा तुरुन्तै सकिन्छ। यो ईश्वरको कृपा नभएर के हो त ?
उपयुक्त समयमा उपयुक्त काम थालेर सफल भएको भन्ने लाग्दैन ?
म जम्मा तीन कक्षा पढेकी मान्छे । बल्लबल्ल लेखपढ गर्न सक्छु । कस्तो राम्रो दिनमा काम सुरु गरिरहेछु भन्ने लाग्छ ।
सेलरोटीको व्यवसाय गर्नुपर्छ भन्ने कुरा दिमागमा कसरी आयो ?
अचानक फ्याक्ट्री बन्द भयो । सरकारले ताला लगाइदियो । हामी त रातभरि रोएर बस्यौं । भोलिदेखि के गर्ने भन्ने हाम्रो दिमागमै आएन । केही हुन्छ कि भनेर मैले अगरबत्ती फ्याक्ट्री र गुडिया बनाउने काम गरें, तर त्यसमा सफल हुन सकिन । मेरा हाकिम सा'ब -अशोक प्रधान) ले नजानेको काम गर्न मरिहत्ते गर्नुभन्दा जानेको काम गर्नुपर्छ, तिमी साह्रै मिठो सेलरोटी पकाउँछौ, त्यही बेच भन्नुभयो । उहाँकै सुझावमा यो काम गर्न थालेकी हुँ ।
सेलरोटी बनाउन कहाँ सिक्नुभयो ?
नेपाली महिलालाई सेलरोटी बनाउन कसैले सिकाउनुपर्छ र ? श्री डिस्टिलरीमा जागिर भए पनि म उहाँहरूको घरमा काम गर्थे । विशेष अवसरमा विशेष परिकार बनाउँदै जाँदा सबै परिकार बनाउन सिकेँ । मजस्ता महिलाले सेलरोटी मात्र होइन, सयौं परिकार बनाउन जान्दछन् । त्यसका लागि कसैले तालिम लिइरहनुपर्दैन ।
आज तपाईंले पकाएको सेलरोटी हातहातै बिक्री हुन्छ, प्रारम्भिक अवस्था कस्तो थियो ?
मैले यो काम थालेको दुई वर्ष मात्र भयो । पहिलो दिन चारवटा फिनी र चारवटा सेल बोकेर भाटभटेनी डिपार्टमेन्टल स्टोर पुगें, तर त्यसका सञ्चालक मीनबहादुर गुरुङ अफिसमा हुनुहुँदो रहेनछ । भोलिपल्ट पनि फेरी चारवटा फिनी -पत्रे) र चारवटा सेलरोटी पकाएर लिएर गएँ, फेरि भेटिनँ । लगातार चार दिन गएपछि त्यहाँका कर्मचारीलाई मेरो माया लागेछ, उनीहरूले चार घण्टा कुराएपछि साहूलाई भेटाइदिए । मैले आफ्नो समस्या राखें । उहाँले रोटी र फिनी भाँचेर चाख्नुभयो । रोटी लिन मान्नुभएन, किनभने उहाँकै आफन्तले सेलरोटी बनाउँदा रहेछन् । फिनीचाहिँ राखेर जाऊ भन्नुभयो। भोलिपल्ट चारवटै फिनी बिक्री भएछ। त्यसपछि दिन दिनै बिक्री बढ्दै गयो ।
पहिलो कमाइ सम्झनुहुन्छ ?
एक महिनासम्म फिनी पुर्याएपछि हिसाब लिन गएँ, मैले एकैपटक १८ हजार रुपैयाँ पाएँ । मलाई त रिंगटै लाग्यो । मैले एकसाथ त्यति पैसा देखेकै थिइनँ ।
सेलरोटीको व्यवसायचाहिँ कसरी सुरु भयो ?
भाटभटेनीमा सेलरोटी नबिक्ने भए पनि मलाई मेरो रोटीमाथि पूरा विश्वास थियो । त्यसैले अरू डिपार्टमेन्टल स्टोरमा लगेर दिन थालें । उहाँहरूलाई म भाटभटेनीमा पनि बेच्छु भनेर ढाँटे । मीठो भएकाले उहाँहरूले लिन थाल्नुभयो। एक महिनासम्म भाटभटेनीबाट पैसा नपाउने भएकाले पनि बाहिर रोटी बेच्नु बाध्यता थियो ।
अहिले सरदर कति आम्दानी गर्नुहुन्छ ?
म दैनिक ५ सय सेलरोटी र ५ सय फिनी बेच्छु । हाइजेनिक भएकाले दाम पनि राम्रै लिन्छु । दैनिक २५ हजारजतिको व्यापार हुन्छ । म सकेसम्म आफैं खट्छु । तैपनि चार-पाँच जना मानिस राखेकी छु । श्रीमान् पहिले रेस्टुराँमा गार्डको काम गर्नुहुन्थ्यो । अहिले उहाँलाई मेरो अफिसमा रोजगारी दिएकी छु ।
तपाईंको नाममा बजारमा बारा तथा निम्कीहरू पनि बिक्री हुन थालेका छन्, थाहा छ ?
छ, आफन्त र बेरोजगार महिलाहरू मलाई पनि काम दिनु भन्दै आउँछन् । सक्नेलाई काम दिन्छु, नसक्नेलाई आँफै बनाएर बेच भनेर बजार पनि देखाइदिन्छु । आइडिया पनि दिन्छु । त्यही भएर मेरो नाममा ती सामग्री बजारमा गएका हुन् ।
यसरी आइडिया दिएबापत रोयल्टी लिनुपर्छ भन्ने थाहा छ ?
रोयल्टी भनेको के हो, मलाई थाहा छैन । मैले गरेको कामले मलाई पुगेको छ, अरूको मेहनत खाँदा पाप लाग्छ होइन र ? मलाई पनि त अरूले सिकाएका हुन् । आइडिया दिएँ भन्दैमा अरूले कमाएकोमा आरिस गर्नुहुँदैन ।
रोटी बेचेर दुई वर्षमा कति कमाउनुभयो ?
काठमाडौंमा १३ आना घडेरी किनें । छोरी क्याम्पस पढ्न थालेपछि उसलाई स्कुटर किनिदिएँ । रोटीका लागि सधैं मिल जान गाह्रो भएकाले घरमै मिल राखें । दुईवटा छोरालाई विदेश पठाए । आवश्यक सुन र गहना जोडें । आफ्ना सौखका काम यी दुई वर्षमा पूरा गरिसकें ।
बजारमा सेलरोटी बेच्न थालेपछि सिकेको कुरा के हो ?
हामीकहाँ घरेलु सामग्रीको ठूलो बजार छ । शुद्ध एवं सफा घरेलु परिकार बनाउने हो भने मजस्ता धेरै महिला रोजगार हुन सक्छन् । अहिले बजारमा लखामरी, मालपुवा, यामोरी, खुर्मारोटी, ठूलो निम्की तथा अचारको ठूलो माग छ । महिलाहरू घरमा काम छैन भनेर किन त्यसै बस्छन्, म त छक्क पर्छु ।
तपाईं आफैंले धेरै कामदार राखेर बजारको माग पूरा गर्दा हुँदैन ? कमाइ पनि राम्रो हुने, अरूले रोजगारी पनि पाउने, होइन र ?
ठूलो सपना हुँदा कस्तो हुन्छ भनेर देखिसकेको मान्छे । पैसाको पछि लाग्दा श्री डिस्टिलरीको हालत त्यस्तो भयो । मलाई त धेरै पैसा कमाउनै डर लाग्छ । सम्भावना पनि धेरै छ । काम पनि गर्न सकिन्छ । माग पनि आएको आयै छ, तर धेरै पैसा भएर के गर्नु, अरूले नै गरून्, बरु मसल्लाह-सुझाव दिन्छु । रोयल्टी-सोयल्टी पनि चाहिँदैन ।
तपाईले आफ्नो ४५ वर्षे जीवनमा सिकेको कुरा के हो ?
म केही जान्दिनँ, मसँग केही छैन, मेरो रोजगारी गुम्यो भनेर चिन्ता गर्नुहुँदो रहेनछ । जहाँ समस्या हुन्छ, त्यहीँ अझ राम्रो अवसर आउँदो रहेछ । मानिस भएर जागिर मात्र खानुपर्छ भन्ने होइन रहेछ । सबैलाई ईश्वरले केही न केही क्षमता दिएर पठाएका रहेछन्, त्यसको सदुपयोग गर्न जान्नुपर्ने रहेछ ।
(साप्ताहिकका लागि अश्विनी कोइरालाले लिएको अन्तर्वाता )
sabita sharestha lai dhari dhari pargaty ko kamana harda6uuu uha ko bichar lai
ReplyDelete