बिद्यालयमा सफा र स्वस्थ्य प्रतियोगिता
Published on
7:19:00 PM //
घनश्याम गौतम
विद्यालयमा हुने धेरै प्रतियोगिताहरूको बारेमा त सुनिएकै हो । बौद्धिक क्षमता विकास, खेलकुद, सांस्कृतिक र रचनात्मक क्रियाकलापका प्रतियोगितासँगै गौंडाकोटका मावि र प्राथमिक विद्यालयहरूले भने विद्यालयमा अर्को एउटा प्रतियोगिता थपेका छन् । त्यो हो सफा र स्वस्थ्य प्रतियोगिता ।
प्रतियोगिताले विद्यालयमा अध्ययनका लागि आउने विद्यार्थीहरूमा सधै सफा र चिरिच्याट्ट पर्ने बानी नै बसेको छ । सदरमुकाम तम्घासबाट २० किलोमिटरमा रहेका गौंडाकोटका राजा रुन्खा, म्यालपोखरी मावि र माइकास्थान प्राथमिक विद्यालयले बालबालिकाहरूलाई स्वस्थ र सफा राख्न दुई वर्ष देखि यस्तो अभियान चलाएका हुन् । विपन्न र दलित बस्तीका बालबालिकाहरूमा प्रतियोगिताको निकै सकारात्मक प्रभाव देखिएको छ । विद्यालयमा आउने विद्यार्थीहरूसँगै घरका साना बच्चा र अभिभावकमा समेत सरसफाइको चेतना बढेको छ ।विद्यालयहरूले नेपाल रेडक्रस जिल्ला शाखाको सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार केन्द्रको सहयोगमा यस्तो प्रतियोगिता सुरु गरेका हुन् । प्रत्येक वर्ष सबै विद्यालयबाट तीन जना विद्यार्थी उत्कृष्ठ ठहरिन्छन् । म्यालपोखरी माविका प्रधानाध्यापक मीनबहादुर बस्नेतका अनुसार उत्कृष्ठ हुनका लागि बालबालिकाहरूले एक वर्षसम्म नियमित रूपमा हातखुट्टाका नङ काट्ने गरेको, नियमित दाँत माझ्ने गरेको, आफू दिनहुँ सफा हुने र सफा लुगा लगाउने, कपाल कोर्ने र हात धुने तरिकाका बारेमा समेत राम्ररी ज्ञान हुनुपर्दछ । 'विद्यार्थीको एक वर्षसम्मको सबै क्रियाकलाप हेरेर सफा र स्वस्थ विद्यार्थी छनोट गर्ने गरेका छौं', बस्नेतले भने, 'अघिल्लो वर्षको तुलनामा यस वर्ष यसको प्रभाव अभिभावक स्तरसम्म पुगेको छ ।' सरसफाइसम्बन्धी केही प्रश्न तयार गरेर विद्यार्थीहरूमाझ प्रतिस्पर्धासमेत गराउने गरिएको राजारुन्खा माविका शिक्षक गोकर्ण थापाले बताए ।५ देखि १० वर्ष उमेरका बालबालिकाहरूम्ााझ दुई वर्षदेखि यस्तो प्रतियोगिता हुँदै आएको छ । प्रतियोगितामा म्यालपोखरी माविका ३ सय १३, राजारुन्खा माविका २ सय ९५ र माइकास्थान प्राविका झण्डै १ सय ४० विद्यार्थी सहभागी भएका थिए । रेडक्रसका सामुदायिक स्वास्थ्य तथा प्राथमिक उपचार कार्यक्रमका फिल्ड अधिकृत दीपक पोखरेलका अनुसार सुरुमा विद्यार्थीहरूलाई चेतना जगाउनै अप्ठ्यारो परेको भएलपनि पहिलो वर्षको प्रतियोगितापछि विद्यार्थीहरूमा आफै चेतना बढेको छ । 'सुरुमा किन यस्तो गाविस छनोट गरिएछ जस्तो लाग्यो', पोखरलले भने, 'अहिले त विद्यार्थीहरूबाटै यो चेतना र अभियान अभिभावकमा समेत पुगेको छ ।' विद्यालयमा देखिएको प्रभाव हेरेर अन्यत्र पनि यसको विस्तार गर्न सकिने उनले बताए ।गौंडाकोट-२ का अभिभावक टहलबहादुर थापाले भने, 'अहिले त दलित बस्तीमा वरिपरि कतै फोहोरसमेत देखिंदैन', उनले भने, 'केटाकेटीहरूसमेत हामीभन्दा सफा देखिन थालेका छन् । गाउँमा तालिमप्राप्त २३ जना प्राथमिक स्वयंसेवक तयार भएका र उनीहरूले गाउँ-गाउँमा पुगेर स्वास्थ्यसम्बन्धी जनचेतना विस्तार गर्ने फिल्ड अधिकृत कोइरालाले बताए ।
0 प्रतिकृयाहरु