ओझेलमा पर्दैछ धार्मिक क्षेत्र रेसुङ्गा
Published on
7:50:00 PM //
धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रमणीय क्षेत्र भए पनि रेसुङ्गा ओझेलमा परेको छ । ऋषिमुनिहरूले तपस्या गरेका स्थान, दुई सय वर्षअघिका शिलालेख र भग्नावशेष घरका प्रमाणहरू, रमणीय देखिने हिमालहरूले रेसुङ्गालाई निकै मनमोहक बनाए पनि प्रवर्द्धनको अभावमा पर्यटक आउन सकेका छैनन् । रेसुङ्गा जंगलमै बसेर २ सय ५० वर्ष अगाडि शशीधर स्वामीले तपस्या गरेकाले पनि यसको धार्मिक महत्त्व बढी छ ।
धार्मिक महत्त्वसँगै यसको पर्यटन विकासका लागि रूरू-रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले पूर्वाधार निर्माण, मन्दिरहरूको जीर्णोद्धार, सडक र व्यवस्थित पार्कहरूको निर्माण गरेपछि यस क्षेत्रमा पर्यटकीय सम्भावनाहरू बढ्दै गएको र विभिन्न गोष्ठी, सम्मेलन र बैठकका लागि पनि रेसुङ्गा छनोटमा पर्ने गरेको रूरू-रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष निमबहादुर पाण्डेले बताए ।
रेसुङ्गा क्षेत्रको विकासका लागि रेसुङ्गा संरक्षण समितिले समेत महत्त्वपूर्ण कार्यहरू गर्दै आएको छ ।त्यस्तै धार्मिक रूपमा हिन्दु धर्मका सबै तीर्थस्थलहरूबाट ल्याइएको पानी मिसाएर निर्माण गरिएको स्नान पोखरीमा स्नान गरेमा पाप मुक्त भई मोक्ष प्राप्त हुने जनविश्वासले पनि रेसुङ्गाको महत्त्व बढाएको छ । ३ हजार ४ सय हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा जंगलमा रातो मृग, खरायो, चितुवा लगायतका जंगली जनावरहरू सजिलै देख्न पाइन्छन् ।
रेसुङ्गाको जंगलबाट दुई दर्जनभन्दा बढी खोलाहरू झरनाका रूपमा बग्ने गरेको दृश्यले पनि धेरैको मन जित्ने गरेको छ ।धौलागिरी, अन्नपूर्ण, लगायतका हिमश्रृंखलाहरूले पनि यसको थप आर्कषण बढाएको छ । रेसुङ्गामा झण्डै ३ सयको संख्यामा रातो मृग रहेको अनुमान छ । यहाँ एक सयभन्दा बढी प्रजातिका रूखहरू रहेको जिल्ला वन कार्यालयले जनाएको छ ।
स्रोत:कान्तिपुर
0 प्रतिकृयाहरु