Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सिंगो गाउँलाई तीन भाइको एउटै आरन

Published on 1:50:00 AM //

भरत पाण्डेय,  
प्रायः भालेको डाँकोले बिहानीको संकेत गर्छ तर जुभुङ-७ ठूलाचौरका बासिन्दालाई भने एकाबिहानै उठाउँछ आरन र फलाम पिटेको आवाजले । चाहे हिउँद होस् या बर्खा, गर्मी होस्, ठण्डी होस् या झमझम झरी लागोस् ठूलाचौरका बलबहादुर कामीका ३ भाइ छोराको दैनिकी भने भालेको डाँकोसँगै फलाम पिट्ने कामबाट शुरु हुन्छ । 
अघिल्लो साँमु एकपेट ढिँडो परेको हो या होइन तर ६३ वर्षीय गोकर्ण ५७ वर्षीय नरबहादुर र ४४ वर्षका सुर्जे कामीलाई घामको झुल्कोले धर्ती छुन नपाउँदै घन हिर्काउन नसकेमा बिहानको माड लगाउने बाटै बन्द हुन्छ । तीन भाइ मात्र होइन उनीहरुका करिब तीन दर्जन सन्तान पनि सेतै फूलेको बूढो ज्यानले घन हिर्काउन सकेन भने भोकभोकै दिन कटाउनुपर्छ ।
न झरी ओत्ने कुनै ओत छ न चिसो सिरेटो छेक्ने छेको नै सिङ्गो आकाशलाई आरनको छानो सम्झेका उनीहरुले बिहान साढे पाँच बजेदेखि बेलुका ६ बजेसम्म एकोहोरो घन हिर्काइरहनुपर्छ । नामैले ठूलाचौर ठूलोचौरको एक कुना पा पञ्चायतको पालामा बुबालाई कमाइ खान पञ्चले दिएको एक टुक्रा जमिनमा छानो हाल्न नसकेर खुल्ला आकाशमुनि बनाएको आरनमा घन ठोक्न शुरु गरेपछि मात्र वरिपरिका छिमेकीलाई थाहा हुन्छ आरन खुल्यो उज्यालो भएछ । सेतै फुलेका ६३ वर्षीय गोकर्ण कामीले आँखा मिच्दै घरबाट आरन ल्याएर भाइहरुलाई बोलाउँछन् अनि शुरु हुन्छ उनीहरुको दिनचर्या ।
कालै बनेका फलाम काट्ने अजम्बरी हात र मैला लुगासँगै कम्मरमा बाँधिएको पटुकी पनि रंग नछुट्टिने भैसके पनि काँसजस्तै सेतै फूलेको कपालबाट टाढैबाट चिनिन्छन् उनीहरु। बाबुको बिँडो थाम्न १५ वर्षको उमेरदेखि घन हान्न शुरु गरेका गोकर्ण आफ्नो जिन्दगीका ६३औं खुट्किला पार गरिसक्दा घनको पिटाइले खिइएको फलामझैँ खिइँदै गएको जीवनले दुनियाँका हँसियामा धार लगाइरहे पनि आफ्नो जीवनको धार भने कहिल्यै लगाउन पाएनन् । रेतीको रेटाइले जति भाँडा चम्काए पनि र जति धारिलो पारे पनि रातदिन फलामसँग पौँठेजोरी खेल्दाखेल्दै न त आफ्नो जीवन चम्कियो न धारिलो बन्यो नै । बरु एकछाक टार्नको लागि दिनभरि बगाएको रगत-पसिनाले आफ्नै जीवनको धार बिस्तारै कुडिदै जान थालेपछि बल्ल चाल पाए यो पेसा नगर्नेहरुले जीवनलाई बदलिसके तर आफू भने मेहनत गरेर पनि विष्टकहाँ ज्यू-हजुरी नगरी छाक टार्नुछैन । हे यो सधैँ कति फलाम पिटिराख्ने भनेर हिँडेका दमालीहरुले अहिले बसी-बसी पेन्सन थाप्छन् तर आरनको सृष्टि धान्न बाउबाजेले गरेको पेसा छोड्न हुन्न भनेर यही गरियो चाडबाड आयो भने अरुकहाँ हात थाप्नुपर्छ- निन्याउरो मुख लगाउँदै भन्छन् ६३ वर्षीय गोकर्ण ।
बाबुबाजेले फलाम पिटेरै मरे पनि आफूहरुको भने यो रहर नभएर बाध्यता भएको बताउँछन् उनीहरु । अन्य जातिका झै पढेर ठूलो मान्छे बन्न आफूहरु पढ्नको लागि विद्यालय गएको तर स्कुलमा भएको अमानवीय व्यवहारका कारण बीचमै पढाइ छाडेर फेरि फलाम समाउनुपरेके हो भन्छन् माइला भाइ ५७ वर्षीय नरबहादुर कामी । अरु स्कुल जाँदा हामी पनि गइयो तर अरुभन्दा चार हात पछाडि बसाल्ने सरहरु नबोल्ने पानी खान पनि नपाइने कसरी पढ्न सकियोस्- बाल्यकालमा स्कुल पढ्न जाँदाको दुःख सम्झँदै उनले भने- अहिलेको जस्तो भापो । सबैको हेलाले पढ्न नसकेपछि फेरि खलाँती चलाउन थालियो ।
यति समस्या भोगेर फलाम पिट्दै गुजारा गर्ने उनीहरुको बिरामी पर्दा भने आफ्नो र परिवारको बिचल्ली हुन्छ । अब हामी त दिनभरि काम गरेर साँझ छाक टार्ने जात परियो तर खानबाहेक अरु खर्च पुग्दैन’ बिरामी परेको अवस्था सम्झँदै उनले भने- बिमार भए पनि कतिले लौन मेरो त यति काम जसरी पनि गरिदे भनेपछि बिस्तारामा परेर उठेको ज्यानले घन हिर्काउनुपर्छ । ला तँ बिमार भइछस् दबाई गर भनेर एक पैसा दिन्नन् ।
अर्काका भाँडा पिट्ने त्यसमा पनि वर्षभरि गरेको कामको ज्याला एक वर्षपछि पाउने एक डोको मकै । त्यसबाट जेनतेन परिवारको खरो मात्र धाने पनि गाउँका ठूला मान्छेको चेतनाका कारण घरेलु कृषि औजार र हातहतियारमा िसंगो गाविस धाने पनि आफू र आफ्ना सन्तान भने सधैँ भोकै-नाङ्गै बस्न बाध्य हुनुपरेको भन्छन् ५८ वर्षीय भाइ नरे कामी । सबै परदेश पसेर पनि राम्रै कमाएका छन् भने हामी पनि सक्थ्यौं नि सबैका लागि भनेर सृष्टि धानियो- समाजप्रति रोष प्रकट गर्दै उनले भने- वर्षंभरि काम गरेर एक डोको मकै पनि दिन नमानेपछि हामी दुखियाका जहान सधैँ भोकै नाङ्गो ।
जिजु-पुर्खाका पालादेखि नै यही समस्या सहँदै आए पनि पछिल्लो समयमा फलाम तताउन गोल नै नपाइएपछि आफैलाई पनि पेसा धान्न समस्या भएको बताउँछन् उनीहरु । अहिलेसम्म त जेनतेन गरियो तर अहिले जंगलमा गोल काट्नै दिन छाडे । हाम्रो त गोल भए कमाएर खाने गोल नभए भोकभोकै त्यसैले गर्दां घर-घरमा आगो बालेका गोल खोजेर काम चलाइन्छ -उनीहरु भन्छन् । यही समस्याले नै युवाहरु अहिले आरन पेसा छाडेर परदेश पस्न थालेकोले आफ्ना ३ भाइको शेषपछि यो पेसा गर्ने कोही नभएको उनीहरुको भनाइ छ ।
अरुका लागि फलाम कुट्दाकुट्दै छाला मात्रै बाँकी राखे पनि जीवन परिवर्तन गर्न नसकेको र दुःख-पीडामा कसैको सहयोग पाउन छाडेपछि भावी सन्ततीलाई यसमा कहिल्यै नलगाउने प्रण उनीहरुको छ । आफैले जग्गा कमाउन नसकेर पञ्चले दिएको सरकारी जमिनमा आरन चलाउनुपरेको छ बालबच्चाले पढ्न पाएनन् यति गर्दागर्दै पनि अझ जसका भाँडा कमाउनुपर्छ उनैले जंगलबाट गोल दिन बन्द गरे’ तीनै दाजुभाइले एउटै स्वरमा आक्रोश पोखे- अब हामीले गर्न छाडेपछि त फलामका भाँडा चाहिनेले आफ्नै अगेनामा फलाम पोल्छन् बाहिर उदिनढुंगामा पिट्छन् र भाँडा बनाउँछन् के गर्ने त ?

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग