मेरो संसार पनि सुन्दर छ
Published on
2:04:00 AM //
अपांगता भएका मान्छेलाई देशले मान्छेको व्यवहार गर्दैन । राज्यले दृष्टिविहीनलाई पनि सुलभ शिक्षा दिनुपर्यो, बाटोघाटो र यातायातमा पहुँच हुन सक्ने बनाउनुपर्यो, अपांगतामैत्री पाठ्यक्रम हुनुपर्यो । भन्न मात्रै राज्यले 'सबैलाई शिक्षा' भन्छ । त्यसो हो भने मैले पनि त छामेर पढ्न पाउनुपर्यो नि !
जन्मँदै दृष्टिविहीन गुल्मी, दरबार देवस्थानकी निर्मला ज्ञवालीले हातका औंलाहरूको स्पर्शले आफ्नो 'अपांगता'लाई पराजित गरिन् । उनी स्पर्श र आवाजबाटै संसार बुझ्छिन् । स्पर्श र आवाजकै सहायतामा ब्रेललिपिका किताबविनै उनले ०५५ सालको एसएलसीमा प्रथम श्रेणी हासिल गरिन् । सयौँ प्रतिस्पर्धीलाई उछिनेर छात्रवृत्तिमा अमेरिकाको कोलोराडो स्टेट युनिभर्सिटीबाट स्नातक गरिन् र अब स्नातकोत्तरको तयारीमा छिन् । हाम्रो समाजमा हेयका दृष्टिले हेरिने र त्यस्तै व्यवहार गरिने अपांगलाई अमेरिकाको नेसनल डेमोक्रेटिक कमिटीले सन् १९८० को दशकदेखि 'फरक क्षमता भएका' पदावलीको प्रयोग गर्यो । त्यहीँदेखि फरक क्षमताका व्यक्तिलाई सम्मानको दृष्टिले हेर्नुपर्ने धारणाको विकास भएको हो । फरक क्षमता भएकी नेपाली चेली निर्मला अहिले आप्रवासीका लागि अन्तर्राष्ट्रिय संस्था आइओएम, झापा कार्यालयमा काम गर्छिन् । बाल्यकालदेखिका आफ्ना संघर्षका दिनबारे निर्मलाको संस्मरणः
मेरो संसार साह्रै साँघुरो छ, स्पर्श र आवाजको संसार मात्रै मेरो हो । जन्मँदादेखि नै मेरो लागि संसार अँध्यारो थियो, 'आमा' शब्द पनि मैले अँध्यारोमै सिकेँ । मेरा बा, दाइ र दिदी पनि दृष्टिविहीन हुनुहुन्छ । बुबाको पछि टाइफाइटले आँखाको दृष्टि गुम्यो भने हामी तीनजना जन्मैदेखि दृष्टिविहीन थियौँ । केही जान्ने भएपछि म सोच्थेँ- मान्छे भगवान् भनेर मरिहत्ते गर्छन्, भगवान् हुन्थे भने एउटै परिवारका चार-चारजनाको आँखाको ज्योति किन खोस्थे ?
हाम्रो घरनजिकै विद्यालय थियो । घरमा 'सबैलाई पढाउनुपर्छ' भन्ने मान्यता थियो । मेरा साथीहरू स्कुल पुग्थे, ठूलो आवाजमा चिच्याउँदै । कहिलेकाहीँ हाम्रै घरको आँगनमा आइपुग्थे- गट्टा खेल्न । मेरो संसार पनि धेरै बिरानो थिएन, मजस्तै मेरा दाइ, दिदी र बुबा हुनुहुन्थ्यो । हामी पिँढीमा गफ गरेर समय बिताउँथ्यौँ । आफ्नै उमेरका साथीहरू नभए पनि एक्लो महसुसचाहिँ भएन । खेल्न आउने साथीहरू पिँढीमा उक्लेर 'कखग' पढ्न थाल्थे, म सुनिरहन्थेँ । स्कुलबाट मास्टरले पढाएको आवाज पनि घरैसम्म सुनिन्थ्यो । मेरा कान चनाखा हुन्थे, त्यो आवाज सुन्न । आँखाले काम नगर्ने भएपछि कान बढी चनाखो हुँदारहेछन् । मास्टरले बोलेका शब्दहरू ध्यानपूर्वक सुन्थेँ । स्कुलबाट आएको आवाज र साथीहरूले पढेको आवाजकै भरमा मैले 'कखग', 'एबिसी' सिकेँ । आमा भन्नुहुन्थ्यो- जीवनमा साना-साना अवसर पनि छोड्नुहुन्न है नानी ।
हाम्रो काका झवेन्द्र ज्ञवालीले पहिले दाइदिदीलाई र पछि मलाई काठमाडौं ल्याएर दृष्टिविहीनहरू पढ्ने लेब्रोटरी मावि कीर्तिपुरमा भर्ना गरिदिनुभयो । सुरुमा म तीन कक्षामा भर्ना भएँ । एक वर्ष मैले अरू दृष्टिविहीन साथीहरूसँगै पढेँ । दाइदिदीले मलाई ब्रेललिपिमा अक्षर चिन्न सिकाउनुभयो । दिदी -सीता ज्ञवाली) दृष्टिविहीन भएर पनि स्नातकोत्तर गर्ने पहिलो नेपाली महिला हुनुहुन्छ । पाँच कक्षाबाट मैले आइडियल मोडल स्कुल, झम्सिखेलमा पढेँ । त्यहाँ म मात्रै दृष्टिविहीन थिएँ । ६ सय विद्यार्थीमध्ये म एक्ली दृष्टिविहीन थिएँ । सुरुसुरुमा साथीहरूले मलाई अनौठो व्यवहार गर्थे, पछि राम्रै गर्न थाले । एउटै कक्षा, एउटै डेस्कमा बसेर लेख्ने, पढ्ने साथीहरू र मैले लेख्ने अक्षर एउटै थियो । ती शब्दको अर्थ एउटै हुन्थ्यो । तर, लेख्ने तरिकाचाहिँ फरक । साथीहरू मसी भएको कलमले लेख्थे । मचाहिँ स्लेटमा 'स्टाइलस'बाट लेख्थेँ । साथीहरू अक्षर देखेर चिन्थे मचाहिँ औंलाले स्पर्श गरेर । हामी सबैको सपना उस्तै थियो, रहर उस्तै रंगीन थियो- पढेर केही हासिल गर्ने, जागिर खाने र जीवनको रथ गुडाउने । साथीहरू विभिन्न रंगका, फिल्मका, हिरोहिरोइनका कुरा गरिबस्थे । म तीमध्ये कुनै पनि रंग छुट्याउन सक्दिनथेँ । कुनै हिरो वा हिरोइनलाई पर्दामा देख्न सक्दिनथेँ, आवाज मात्रै सुन्थेँ । साथीहरू सपनामा 'आमा देखियो, बाबा देखियो, सुन्दर ठाउँ देखियो' भन्थे । साथीहरू मलाई सोध्थे, 'तँचाहिँ के देख्छेस् सपनामा ?' म अनुहार बिगार्दै भन्थेँ, 'अल माई डि्रम्स आर ब्ल्याक एन्ड ह्वाइट ।' उनीहरू अचम्म मान्थे । जन्मैदेखि आँखा नदेख्नेले मैले कसरी सपना देख्नु ? मेरो सपनामा दृश्य आउँदैनन् । कुनैवेला सपनामा बा-आमाले बोलाएको आवाज सुन्छु, त्यत्ति हो ।
विज्ञान, गणित, लेखाजस्ता विषयमा म अलमलिन्थेँ । ती विषयमा चित्र र रेखाका माध्यमबाट पढ्नुपथ्र्यो । त्यो मेरो लागि असम्भव थियो । त्यतिवेला म निकै रोएकी थिएँ । सोचेकी थिएँ- मैले हिँड्ने बाटो पनि आँखा देख्नेहरूका लागि मात्रै रहेछ । मैले पढ्ने किताब पनि आँखामा 'ज्योति' भएकाहरूका लागि मात्रै रहेछ । स्पर्शका माध्यमले पढ्ने किताब थिएनन् । मलाई कि कसैले पढेर सुनाइदिनुपथ्र्यो कि पाठ भरिएको क्यासेट सुन्नुपथ्र्याे । ब्ल्याकबोर्डमा लेखिएका कुरा साथीहरूले हेरेर बुझ्थे, म सुन्थेँ मात्रै । तर, बुझ्ने कुरा एउटै हुन्थ्यो । एसएलसीमा विज्ञान, गणित, लेखाजस्ता विषयमा देख्न नसकेकै कारण ६५ नम्बरजतिको प्रश्न मैले छाड्नुपर्यो । त्यसवेला साह्रै निराशा लाग्यो । तैपनि मैले ६४ दशमलव २८ प्रतिशत अंक ल्याएँ ।
परीक्षामा आँखा देख्ने र नदेख्नेले एउटै प्र्रश्नपत्र हल गर्नुपर्ने अवस्था छ । हाम्रो कुरा सुन्ने कसले ? ब्रेललिपिको माध्यममा कुनै पनि किताब नेपालमा पाइँदैन । आँखा देख्नेहरूले जुन किताब पढ्छन् हामीले पनि त्यही पढ्नुपर्छ । एसएलसीको सफलताबाट पढाइप्रतिको विश्वास अझै बढ्यो । मैले सोचेँ, 'म देख्न सक्दिनँ । कसैका हातखुट्टा नचल्लान्, कसैले नसुन्लान् । ती अंग त माध्यम मात्रै रहेछन्, संसार बुझ्ने र सिक्ने त मन-मस्तिष्कले नै रहेछ । आत्मविश्वासी मन र विवेक भरिएको मस्तिष्क भयो भने मान्छेले जुन क्षेत्रमा पनि प्रगति गर्न सक्छ । म स्पर्श र आवाज अनुभूतिकै माध्यमले मस्तिष्कलाई निर्देशन गर्न सक्छु ।' म आँखाले सपना देख्न सक्दिनँ, मनले देख्छु । पखेटा फिँजाएर टाढा पुग्ने सपना देखेकी छु मैले । मेरा सपना मैले बोल्ने र सुन्ने आवाज र स्पर्शको सहायताले पूरा गर्छु । कतिपय दृष्टिविहीनले कुनै मौका पाएका हुन्नन् । पढ्ने मौका त परै जाओस्, कतिलाई घरभित्र थुनेर राखिएको हुन्छ । त्यति पीडादायी अवस्था उसका लागि अरू के होला ? अरू दृष्टिविहीनभन्दा म आफूलाई निकै भाग्यमानी ठान्छु ।
केहीअघि शाखा अधिकृतको जाँच दिएँ । हाम्रा लागि पढ्ने किताब छैन, कसरी जाँचमा सफल हुनु ? मैले सबै प्रश्न हल गर्न सकिनँ । अपांगता भएका मान्छेलाई देशले 'यो पनि मान्छे हो' भन्ने व्यवहार गर्दैन । राज्यले दृष्टिविहीनलाई पनि रोजगार दिनुपर्यो, सुलभ शिक्षा हुनुपर्यो, बाटोघाटो र यातायातमा अपांगको पनि पहुँच हुनुपर्यो, अपांगमैत्री पाठ्यक्रम हुनुपर्यो । अपांगता भएका व्यक्तिलाई राज्यले स्वीकार गर्नुपर्यो । भन्न मात्रै राज्यले 'सबैलाई शिक्षा' भन्छ । मैले पनि त छामेर पढ्न पाउनुपर्यो नि ! मलाई थुप्रै किताब पढ्ने इच्छा छ, तर कसरी पढ्नु ?
म आफ्ना लागि आफैं खाना बनाउँछु, कपडा धुन्छु । मेरा कोही सहयोगी छैनन् । अरू वेला आफ्नो काम त आफैं गर्न सक्छु तर सेतो छडी लिएर सडकमा बाटो काट्न खोज्दा कसैको सहयोग पाउँदिनँ । कतिले त सहयोग गर्नुस् भन्दा उल्टै छडी खोसिदिने, लडाइदिनेसम्म गर्छन् । बाटोमा हिँड्दा थुप्रैपटक धारिलो ढुंगा र सिसाले गोडा काटेको छ । सार्वजनिक बसमा यात्रा गर्न पनि गाह्रो छ । ड्राइभरहरू दृष्टिविहीनहरू नचढे हुन्थ्यो भन्ने ठान्छन् । 'सिट खाली छैन' भन्छन् । कतिपयले छीःछीः र दूरदूर गर्छन् ।
मान्छेहरू दृष्टिविहीनले पनि थुप्रै काम गरी भनेर अचम्म मान्छन् । तर, मैले के-के न गरेजस्तो लाग्दैन । यो सबै मेरो मिहिनेतको फल हो । देख्नेहरूले ८० प्रतिशत काम हेरेर गर्छन्, हामी छामेर । मलाई कुनै काम असम्भव लाग्दैन ।
कोलोराडो स्टेट युनिभर्सिटीमा छात्रवृत्तिमा स्नातक पढ्न एक सय ८४ जना नेपालीले जाँच दिएकामा २० जना छानिए । सार्क राष्ट्रबाट ६० जनाले त्यो मौका पाए, म पनि छानिएँ । दृष्टिविहीन म मात्रै थिएँ । नयाँ संस्कृति, नयाँ परिवेश, मेरा लागि नौलो थियो । अमेरिकामा पढ्ने विद्यार्थीका लागि थुप्रै सुविधा छन् । ब्रेललिपिका किताब पाइन्छन् । क्यासेटमै हामीले पढ्ने विषय रेकर्ड गरिएको हुन्छ । एकजना मात्रै विद्यार्थीका लागि पनि सबैखाले व्यवस्था हुन्थ्यो । अमेरिकामा पनि सबै शिक्षक उत्तिकै राम्रा हुँदैनन् । पब्लिक स्पिकिङ भन्ने विषयमा एकजना शिक्षिकाले मैले कम्प्युटर चलाउन नजानेकैले साह्रै थोरै नम्बर दिइन् । त्यस्तै एउटा अर्को विषयको जाँचमा मेरो हातमा घाउ भएकाले जाँच दिन अप्ठ्यारो थियो, कसैले पनि प्र्रश्नपत्र हल गर्न सहयोग गरेनन् ।
कोलोराडोमा पढ्दा नील भन्ने साथीले जिन्दगीबाट निराश भएर आफ्नै कन्चटमा गोली हानेर आत्महत्याको प्रयास गरेछ । गोली एकापट्टकिो कन्चट प्वाल पारेर अर्कोपट्ट िनिस्कियो । भाग्यवश भगवान्ले उसलाई बचाए । २३ महिनासम्म अस्पतालमा उपचार भयो, तर २१ वर्षको उमेरमा उसले आँखाको ज्योति गुमायो, दाहिने हातले स्पर्शको अनुभूति गर्न छाड्यो । उसका साथीहरू, बा-आमा निकै दुःखी भए । ब्रेललिपिबाट लेख्न, पढ्न सिक्दै गरेको एक साँझ मैले उसलाई भेटेँ । उसले भन्यो, 'निर्मला, बाहिरी आँखा नहुनेहरू पनि संसार नियाल्न सक्छन् भन्ने मैले आज थाहा पाएँ । मलाई जीवनप्रति आशा पलायो । संसारको महत्त्व अहिले पो बुझ्दै छु । निकै रमाइलो भोगिरहेको छु जिन्दगी । देख्ने अवस्थामा भन्दा मैले अहिले यो संसारलाई सुन्दर अनुभूति गरिरहेको छु, सुन्दर देखिरहेको छु ।' उसको आवाजमा आत्मविश्वास थियो । त्यो साथीको कुराले मलाई दृष्टिविहीन भएकोमा जीवनमा पहिलोपटक सन्तोष लाग्यो । भर्खरै आँखाको दृष्टि गुमाएको साथीले त संसार पहिलेभन्दा सुन्दर देख्छ भने मैले जन्मैदेखि नदेखेको यो संसार झन् कति सुन्दर होला ? त्यस साँझ निकैबेर मैले यही सोचेकी थिएँ ।
मलाई धेरैले सोध्छन्, 'आँखाको दृष्टि खुल्यो भने पहिले के देख्न चाहन्छ्यौ ?' म पहिलेदेखि 'आमा' भन्थेँ । मैले बाँचेको प्रकृतिको रंग कस्तो हुन्छ ? मलाई थाहा छैन । सधैं कुनै न कुनै प्रकारको आतुरी र बेहोसीले घेरिएकी हुन्छ म । म सधैं सतर्क हुनुपर्छ । म बाँचेको, हिँडेको सबै बाटो साह्रै कठिन छ । मेरो थाप्लोमा पढाइ, काम, लामो र अन्धकार भविष्य छ । कामको बोझले सधैं थाकिरहेकोजस्तो हुन्छु । कहिलेकाहीँ यस्तो लाग्छ, 'म लामो समयदेखि बिरामी छु ।'
प्रस्तुतिः दीपक सापकोटा
spkt.deepak@gmail.com
तस्बिरः श्रीधर पौडेल
तस्बिरः श्रीधर पौडेल
0 प्रतिकृयाहरु