गाउँ घुम्दै पैसा कमाउँदै
Published on
1:24:00 AM //
गगनशिला खड्का
गाउँघरमा युवाको उपस्थिति पातलो देखिन्छ । नेपालमा केही गर्न सकिँदैन भन्नेहरू विदेश गएपछि उनीहरूको उपस्थिति पातलो देखिनु स्वाभाविकै हो । उनीहरू सीपमूलक तालिम सिकेर स्वदेशमै केही गरौँ भनेर सोच्नै छाडिसकेँ ।
तर, स्वदेशमै बसेर केही गरौँ भन्नेहरू पनि त नभएका होइनन् । त्यस्तैमध्येका प्रतिनिधिपात्र हुन्, कैलालीबाट गुल्मी आइपुगेका नरबहादुर ताम्राकार, अनिल ताम्राकार, प्रकाश ताम्राकार र लटे ताम्राकार । उनीहरूले भारतको उत्तराञ्चल प्रदेशमा रहेको अल्मिडा कारखानामा तामाबाट विभिन्न सामग्री बनाउन सिके । सीप सिकेपछि घर र्फके । आफूले सिकेको सीप गाउँघरमै प्रयोगमा ल्याए ।
उनीहरूले तामाबाट रोँचे, खड्करा, गाग्री, ताउला, फिल्टर, पूजा र सजावटका सामग्री बनाउन जान्दछन् । गुल्मीका गाउँ-गाउँमा भेटिने उनीहरूले तामाबाट बनाइने सामग्री बनाइदिएबापत राम्रै पारिश्रमिक पाउँछन् । त्यही पारिश्रमिकबाट आफू पालिएका छन् । परिवारका अन्य सदस्य पालेका छन् । अनि बालबच्चा पढाएका छन् ।
विदेश गएर कमाउनेले पनि त यत्ति नै हो गर्ने । 'विदेशमा जानेले अरूको आदेशमा काम गर्नुपर्छ । उनीहरूको हेलाहोचो सहनुपर्छ,' नरबहादुर ताम्राकारले यसरी मनको बह पोखे । तर, गुल्मीका गाउँगाउँमा भेटिने कैलाली मालाखेतीका यी चार ताम्राकारलाई त्यस्तो पिरलो छैन । उनीहरूले गाउँगाउँ घुमेर टुटेफुटेका तामाका पुराना भाँडावर्तनबाट नयाँ रोँचे, खड्करा, गाग्री, ताउला, फिल्टर, पूजा र सजावटका सामग्री बनाउँछन् । ३० वर्ष अघिदेखि उनीहरूले यो काम गर्दै आएका हुन् ।
काम नपाइएला भन्ने चिन्ता छैन उनीहरूलाई । उनीहरू यही काम लिएर १५ जिल्लाको गाउँगाउँ घुमिसकेका छन् । त्यसैले आफूले जानेको सीप जोगाइराख्न उनीहरूलाई सजिलो भएको हो । पुराना तामाका भाँडावर्तनबाट नयाँ बनाउन पाउँदा स्थानीयलाई उत्तिकै फाइदा पुगेको सेवाग्राहीको भनाइ छ ।
चारैजना ताम्राकारसँग वर्षदिन खान पुग्ने उब्जनी हुने जग्गा जमिन छैन । 'जमिन थुप्रै भयाको भए खनी-खोस्री गरिन्थ्यो, त्यो पनि भएन । बाउबाजेले जस्तै घरमै गाग्री र ताउला बनाएरमात्रै गुजारा चलेन,' नरबहादुरले भने ।
आफूले सिकेको सीपलाई घरमै बसी-बसी उद्योगका रूपमा चलाउने रहर छ, अनिल ताम्राकारलाई । रहर पूरा गर्न १०/२० हजार रुपैयाँले भ्याउँदैन । उनले भने, 'ठूलो लगानी गर्न सकिँदैन । सरकारले हामी कालीगढलाई प्रोत्साहनस्वरूप कुनै कार्यक्रम ल्याएको छैन ।'
हिजोआज सबैले सिल्टी र प्लास्टिकका भाँडा प्रयोग गरेको देखिन्छ । तर, तामाको भाँडाको महत्त्व बुझ्नेले यसको प्रयोग गर्दै आएका छन् ।
0 प्रतिकृयाहरु