भोगाई परदेशी जिबनको !!
Published on
6:05:00 PM //
-कृष्ण पोखरेल "एकल यात्री "
बिगतका दिनहरु पनि कति छिटो पुरानो भै दिए । अस्ति भर्खर जस्तो लाग्छ घरबाट सुँक्क सुँक्क गर्दै आँखाबाट आँसु झार्दै बिदाई भएको । हेर्दा हेर्दै अब फेरी फर्किने दिन पनि आइसकेछ । आफ्ना परिवार साथी भाईहरुसंग टाढा भएर फेरी नजिक हुन पाउनु यो पनि जिवनको एउटा रमाइलो पल हो । जति पिडा आफ्नो परिवारसंग टाढा हुनु पर्दा हुन्छ त्यो भन्दा धेरै खुसि केहि समय परिवारसंग बिताउँदाको दिनहरुमा हामीले पाउछौ । त्यही खुसिको अनुभब गर्ने फेरी अर्को मौका मैले पाएको छु । बर्षौ देखि देखेका खुल्ला आँखाका ति सपना, आफ्नै मनलाई गरेका बाचाहरु कसम पुरा गर्ने दिन नजिकिँदै गर्दा मनमा एउटा अनौठो हलचल मचिएको छ ।
सुरुका केहि दिनहरुका यादहरु ताजा भएकाले बिताउन गाह्रो भएता पनि पुराना दिनहरु फर्केर हेर्दा सबै दिनहरु एकदम उत्कृष्ट र सम्झन लायक थिए । सायद कतार सानो क्षेत्रफल भएको देश र साथी भाईहरु धेरै भएकाले होला प्रत्येक हप्ताको अन्तिम दिन सजिलै दोहामा जमघट हुने भएकाले समय बिताउन खासै गार्हो भएन । त्यसो त मसंगै मेरो गाउँले साथीहरु भएकाले पनि विदेश को आभास नभएको हुन सक्छ । घर फर्किने भन्दा कसको मन फुरुङ्ग नहोला र त्यस्तै फुरुङ्ग हुनेहरुमा भर्खर म पनि थपिएको छु ।
मित्रहरु हामीले जिउने एकबार को जिन्दगिमा यस्तो मिलन र बिछोडको दिनहरुको मिठो अनुभबहरु संगाल्न पाउनुलाई मैले अबसरको रुपमा लिएको छु । परिवारको माया, देशको माया, आफ्नो ठाउँको माया, समयको महत्व, जिमेवारीको बोध, पैसा चिन्ने अनि संसार देख्ने चिन्ने बुझ्ने अनि सम्झने अवसर हामीले विदेश आएर नै पाएका हौ । त्यसैले सुरु देखि नै मैले बिदेशिनुलाई एउटा अवसर र अनुभब को रुपमा लिएको थिए र लिईरहेको छु ।
अब म केहि दिन पछि फर्किदै छु यो कारणले हैन तर सकारात्मक भई सोच्ने हो भने मैले विदेश आएर धेरै खुसिहरुको अनुभब पाए । आफ्नै देशमा हाम्रो आवश्यकता पूर्ति गर्ने सक्ने आयमुलक रोजगारको व्यवस्था र सिप, कला अनि शिक्षाको सहि मुल्यांकन नँहुदा हामी बिदेशिनु बाध्य भयौ । हामीले आफ्नो देशमा आफ्नो सहि मुल्यांकन नभएका कारण बिदेशिएका हौ । भन्छन नि जिउने कला जान्ने हो भने संसारमा नै जन्नत को मजा छ त्यसैले हामी दुनियाको जुन सुकै ठाउँमा भए पनि खुसि साथ रहन सक्छौ र खुसिसंग दिनहरु बिताउनु नै हाम्रो पहिलो उदेश्य हुनु पर्दछ । आखिर हामी यो सब केहि खुसि हासिल गर्नका निम्ति नै हो र यो कुरा भुल्नु हुदैन कि जति दिनहरु बितेको छन् ति आफ्नै दिन हुन् । त्यसैले हरेक दिन केहि न केहि मिठो सम्झनाको साथमा बिताउन सकियो भने जिवन को सहि अर्थ थाहा पाउन सकिन्छ । म पनि हरेक पल जिवनलाई माया गरेर जिउनको लागि कोसिसमा छु र सोहि जिवन व्यतित गरिरहेको छु।
भन्छन छोरा भएर आकाश छुने आँट हुनु पर्छ । म जहाजको सहाराले आकाश छुदै आए अनि फेरी आकाश छुदै जादै छु अनि बादल माथि बाट मेरो सानो मायालु संसार लाई नियाल्ने छु । अनि फेरी एउटा अर्को मिठो अनुभब संगालेर छोटो समय को लागि पुनः यहि फर्किने छु ।
मुसीकोट:-३ रानीचोक चौर , गुल्मी
हाल दोहा कतार
0 प्रतिकृयाहरु