Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

कथा :बोक्सिनी-आमा

Published on 3:00:00 PM //

गुरुदत्त ज्ञवाली
त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट स्नातक गरेपछि दिनेश घर फर्के ।  उनको घर गुल्मी  जिल्लाको ग्वादी गाबिसको तल्लो ग्वादी हो । दिनेश अर्थात् दिनेश ज्ञवाली एउटै छोरो, एउटै सन्तान बाउ–आमाको  पढेपछि कतै नोकरी नपाउञ्जेल गाउँकै सामाजिक काममा लागेका । माओबादी जनयुद्धले चरम उत्कर्षको रुप लिएको थियो । पढे लेखेको युवा ,यताउति गर्दा गर्दै माओबादी नेताको सम्पर्कमा पुगे । संगतै त हो ,खेलखेलैमा सबले उनलाई माओबादी भन्न थाले । कतिबेला कसरी माओबादी भए दिनेशले पत्तै पाएनन् । क्रमशः उनी युवा नेतामा गनिए ।
तत्कालीन शाही सेना, माओबादीको अन्त्य गर्न बिभिन्न प्रपञ्चका साथ गाउँ गाउँमा गस्ती गर्न थाल्यो । कहिले रिडी बजार, कहिले थोर्गा, याडुङ्ग, कोलौदी, सेनाले छापा मार्दै घर खानतलासी गर्दै हिड्न थाल्यो । पार्टीको काममा नजिकै कालीगण्डकी पारिको स्याङजा कोटाकोटबाट कार्यक्रम सकेर दिनेश घर फर्के तल्लो ग्वादी । घर आउँदा झमक्कै साँझ परेको थियो । दिनभरको घरतिरको हाल खबरबाट उनी बञ्चित थिए । घर पसेर भात खाईवरी सुते । थाकेको हुनाले मस्त निद्रामा परे ।
मध्यराततिर कसैले ढोका हान्यो र दिनेशलाई बोलायो । मस्त निद्राबाट ब्युँझेर दिनेश बाहिर निस्के । लाग्यो होला कोही साथी भाइ आए होलान् । दलान आगन र बाटामा शाही सेना थिए , दिनेश भन्ने तपाइँ हो ? प्रश्न गरे । दिनेश यही हो भन्ने भए पछि पक्डेर लगे । दिनेशका बाबु जसको नाम दधिराम ज्ञवाली हो ,पण्डित र सामान्य ज्योतिषी पनि हुन् । बाबु आमा डराउँदै बाहिर निस्के । तपाईको छोरालाई केही गर्दैनौँ नआत्तिनुस् भनेका थिए सेनाले र पनि बाउ–आमाको मन न हो सिरिङ्ग भैहाल्यो ।
रिडीमा बन्दुक पड्केको तल्लो ग्वादीमा सुनिन्छ । भोलि पल्ट बिहान ४ बजे तिर रिडीको विष्णुपञ्जरमा ४–५ राउण्ड गोली चलेको सुनियो । दिउँसो थाहा भयो ४ जना युवालाई सेनाले गोली हानेर कालीगण्डकीमा बगाएको । दधिरामका बुढाबुढी एवं गाउँलेलाई दिनेशको हत्या भएको भन्ने पक्का भयो, गाउँमा कोलाहल मच्चियो । अरु को को परेहोलान् अन्दाज भएन ।
दिनेशको मृत्यु प्रमाणित भएन । ४ जना युबालाई गोली हानेको र गण्डकीमा बगाएको कुरा सत्य थियो । लास नभेटिएको र मृत्यु प्रमाणित नभएकोले काज किरिया त भएन र पनि बाबु आमा र आफन्तलाई दिनेश ज्युँदो भएको हुन सक्ने कुरामा आशा थिएन ।
घटना घट्रदै गए भन्ने कि बढ्रदै गए भन्ने तर समय बित्दै गयो । कैँयौ ठाउँमा युद्ध भए, हजारौँ नागरिक मरे, मारिए । माओबादी मरे, सेना प्रहरी मरे, क्रस फायरमा निर्दोष नागरिक मरे । कसैलाई मारेर, नदीमा,खोलामा  फालिन्थ्यो कसैलाई पुरपार पारेर छोडिन्थ्यो ।
पाल्पा हुँगीको तल कालीगण्डकीको किनारमा जसलाई हुँगीघाट भन्दछन् २ वटा लास गदी किनारमा देखियो । गाउँलेहरुको घुइँचो लागेको थियो हेर्नकोलागि । नजिक जान डराए । एक जना सुरो युवकले नजिकै गएर हेरे, छामे र पल्टाए । एउटा लास, लासै थियो, अर्को चाहिँको ढुकढुकी बाँकि भएको अनुमान भयो । हेर्न गएका मान्छे उत्सुकताका साथ नजिक गए, राम्ररी हेर्दा उ ज्युँदो रहेछ तर बेहोस् । धेरै चहलपहल गर्न हुन्नथ्यो । मरेको लासलाई नदीमै धकेलिदिएर बाँचेको मान्छेलाई सामान्य प्राथमिक उपचार गरियो । त्यो मान्छे ३–४ घण्टा पछि होसमा भनुँ कि अर्धचेतनामा आयो त्यस पछि दर्शक आ–आफ्नो गन्तब्यतर्फ लागे । हुँगीघाटमा रहेको कृष्ण मन्दिरका भक्तिनीहरुले सामुहिक जीवन बिताउँछन् त्याहाँ । ती भक्तिनीले त्यस मान्छेको स्याहार–सुसारको जिम्मा लिए । मान्छे युवकै थिए, पूर्ण चेतनामा आए । हिँडडुल गर्न सक्ने भए र केही दिन पछि त्याहाँबाट हिँडे भक्तिनीआमाहरुलाई पछि भेट्न आउने बाचा गरेर ।
भक्तिनीहरुमध्ये ढकाल्नी आँबैले ती युवकलाई राम्ररी स्याहार गरिछन् । बिदाई हुने बेलामा गहभरि आँसु गरिन् । ती युवकलाई यो पनि भन्न भ्याइन् कि सुस्मिता मेरो देवरकी छोरी हो, बाबु संग जोडा मिल्ने, के गर्ने दैवले संगै पारिदिए हुने थियो । युवकले ढकाल्नी आँबैसंग आफ्ना कुरा मोटामोटी गरेका थिए । ती युवक दिनेश ज्ञवाली थिए । ग्वादी घर । ढकाल्नी आँबैको घर पाल्पा डम्मक, छोरा छोरी नभएको, पतिको देहान्त भइसकेको, भक्तिनीको रुपमा कालीगण्डकीको किनार हुँगीघाटमा बसेकी । जिल्लाले स्याङ्गजा तर्फ ।
दिनेश लगायत ४ जना युवालाई रिडी, विष्णुपञ्जरमा सेनाले गोली हान्यो र तिनलाई नदीमा धकेल्यो । दिनेशको खुट्टामा गोली लाग्यो, छातीमा ताकेको गोली छलिएछ । अरु साथीको लासको सहाराले बग्दै–बग्दै हुँगीघाट पुगे र किनारा लागे, संयोगले उनी बाँचेका हुन् ।
उनी त्याहाँबाट हिँडेर गल्याङ बजार पुगे । उनको सहयोगी कोही साथी थिए । गल्याङमा एउटी किशोरीले जिम्मा लिइन् र बुटवल जाने बसमा चढेर पाल्पा बर्तुङ झरे । बर्तुङमा गस्ती गरेका शाही सेनासंग बच्नु थियो । संयोग लु १ च १३१३ नं को सेतो कार बर्तुङमा रोकिएको थियो । किशोरी भनु कि ती युवतीले कारवाला संग  कुरा गरिन् । कार बुटवलतिर झर्दै रहेछ , तानसेनबाट फर्केको । बिरामी छन् अवस्था नाजुक छ, समय ठीक छैन  सामान्य संकेत गरिन् । कारवालाले स्वीकार गरे । कार रुपनदेही शङ्करनगरको रहेछ । बाटामा पुरै कुरा भए । कार मदनलाल पौड््यालको  थियो साथमा अर्जुन ज्ञवाली पनि । अर्जुृन ज्ञवाली सित खसाखुसु भयो , कुरो मिल्यो   सबै कुरा अरुका कानमा परेनन् पनि ।
शंकरनगर पुगेर अर्जुन ज्ञवालीको घरनेर कार रोकियो । दिनेश घाइते अवस्थामै थिए, एक महिना अर्जुन ज्ञवालीकहाँ आराम गरे । अर्जुन ज्ञवाली र परिवारबाट समेत पूर्णरुपमा मानवीय सहयोग मिल्यो । युवक तन्दुरुस्त भए र गए, कहाँ गए थाहा भएन । साथमा छोड्न आएकी युवती, नाम सुस्मिता ढकाल बेला–बेलामा आउँिथन् र दिनेशको उपचारमा सहयोग गर्थिन् , उनी पनि आफ्नो कार्यक्षेत्रतर्फ लागिन् ।
दिनेश पार्टी सम्पर्कमा आए, बुटवलमा । सुस्मितासंग फेरि भेट भयो त्याहाँ । हुँगीघाटमा ढकाल्नी आँबैले भनेको कुरा दिनेशले झल्याँस्स संझे र भने “ तपाईँ सुस्मिता ढकाल हो ?”
“ हो कसरी जान्नु भो ? ”
“तपाईको घर डम्मक हो ?”                                              
  “हो ” ।
“अनि तपाईँकी ठूली आमा हुँगीघाटको राधाकृष्ण मन्दिरको आश्रममा हुनुहुन्छ भक्तिनीको रुपमा ?”
हो , सुस्मिता दङ्ग परिन् र बुझिन् , ठूलीआमाले सबै कुरा भन्नुभएको रहेछ । त्यसै दिनबाट पार्टी मर्यादाभित्र रहेर दिनेश र सुस्मिताको हिमचिम बढ्यो । केही महिना पछि पार्टीले अलग–अलग जिम्मेवारी हेर्ने गरी काठमाण्डुतिर खटायो, साथमा अरु थुप्रै साथी थिए । दिनेश र सुस्मिता त थिए नै, जनयुद्ध सकिएको थिएन ।
छोरो दिनेश हराएको १ बर्ष नाघिसकेको थियो । बाबु दधिराम ज्ञवाली छोराको खोजीनीतिमा निकै दौडधुप गरे । हुँगीघाटमा एउटा युवक झण्डै मृत अवस्थामा भेटिएको पनि थाहा पाए । त्याहाँ गएर बुझ्दा हुलिया त लगभग मिल्यो तर यकिन भएन । ढकाल्नी आँबैलाई बाहेक दिनेशको बिषयमा धेरैलाई थाहा थिएन, तर संयोग ढकाल्नी आँबैको पनि केही महिना पहिले देहान्त भएको रहेछ । दधिराम छोराको खोजीमा निकै धाए तर अहँ केही मेसो आएन । बूढा ; बूढा त के भन्ने ५५–६० उमेरका छन् , अर्धपागल जस्तो भए । भनिन्छ आमा बाबु मरेको पीडाभन्दा छोराछारीको पीडा कष्टकर हुन्छ । त्यसमा पनि ठर ठेगान नभएको तर मृत्युको संभावना भएको दिनेशको बारेमा बाबुआमालाई कति पीडाबोध भयो होला ? त्यो कुुरा त मुटु भएको मान्छे सबैले बुझ्दछ ।
दधिराम भौँतारिँदै बुटवल पुगे । शाही सेना, जन सेना, तथा माओबादी पार्टी सबै तिर बुझे , अहँ कतै पत्ता लागेन । उनी आफै ज्योतिष हुन् ।  झार फुक, टुनामुना आखत सबै हेर्न जानेका मान्छे हुन् , तर ती सबै तिद्या आफुलाई पर्दा निकम्मा भए । बूढा प्रायः सिल्लीजस्ता भए । कसैले दिनेश नामको मान्छे त केही महिना पहिले यतै थिए अचेल देखिएका छैनन् शायद काठमाण्डुतिर गए कि ? भन्दै हिँड्यो । बुढा झनै झसङ्ग भए । उनलाई दिनेश ज्यूँदै छ भन्नु भन्दा पनि म¥यो अरे भन्ने समाचार बढी पत्यारिलो लाग्दथ्यो शायद  र पनि दिनेश नाम सुन्दा नमरेको आशा लाग्यो । दिनेश नामका मान्छे कति हुन्छन् कति, भाउँ हो भाउँ होइन भन्दै उनी बिना योजना काठमाण्डुतिर भष्मै सित लागे ।
काठमाण्डु शहरमा दिनेश नामको मान्छे खोजेर भेटिने वा साध्य लाग्ने कुरो थिएन । दधिराम यसै भौँतारिँदै हिँडे । र केही दिन बिते । एक दिन पुरानो बसपार्क तिर पुगेका मात्र के थिए एउटा बस गोदावरी तर्फ जान तयार थियो । के मन चलेछ कुन्नि, उनी ख्वास्स त्यस बसमा चढे । ललितपुरको हात्तीवन, कर्मनाशा पुल नजिकै पुग्दा कण्डक्टरले पैसा माग्यो । उनले मेसो नपाइकनै यहीँ सम्म हो भन्दै त्याहीँ झरे । उनको यात्रा न गोदावरी सम्म थियो न त हात्तीवन सम्म नै ।
दधिरामसंग धेरै पैसा थिएन, बिखर्चीको समस्या आउँदै थियो । उनको पुरा होश हवाश उडेको थियो र पनि बिहोशै भने थिएनन् । दिनेश छोराको बिषयमा भने कुरा राख्न बिराउन्नथे । एकोहोरिएका उनका आँखा यज्ञ प्रसाद मरासिनीका आँखामा झ्याप्प जुधे । यज्ञ प्रसाद, अर्घाखाँची ढिकुरा घर भै पिपरा कपिलवस्तुमा बसोबास गर्दछन् । हात्तीवनमा समेत घर छ उनको । उनी खेमराज मरासिनीका पिता हुन् ।, नाति नातिनीलाई भेट गर्न हिँडेका । पिपराबाट हात्तीवन जाँदा संयोगले गोदावरीको गाडी एउटै परेछ दधिराम संग । संगै झरे । प्रशङ्गवश कुराकानी भयो । यज्ञ प्रसादलाई टिठ लागेछ, संगै आफ्नो घरमा लगे । दधिरामको मन हलुङ्गो भयो ।
ज्योतिष बिद्या र झारफुक आदि जानेका दधिरामले हात्तीवनको सडक छेउमा आफ्नो पेशा शुरु गरे । यज्ञप्रसाद मरासिनीको घरमा सानो कोठा सस्तो भाडामा तह प¥यो । दिन भरको सडक ज्योतिषी रोजगारबाट २–४ सयको जोहो पनि भयो । तत्काललाई उनले ग्वादीको घर, श्रीमती ,दिनेश आदिलाई मनमा च्याँप्दै पीडा निलेर
बसे ।
छोरो हराएको, छोराको खोजीका लागि हिँडेका पति पनि हराएका र घरमा एक्लै भएकीले मन बुझाउने ठाउँ नभएको अवस्थामा आमाको हालत कस्तो भएको होला , मन भएका मान्छेले मात्र बुझ्ने कुरो हो । दिनेशकी आमालाई छिमेकीले  मन बुझाइदिने टाउँ सकिएको थियो । हुँदा हुँदा उनको मानसिक बिचलन समेत भयो र दुनियाँको नजरमा पागल भईन् । घरमा भएको एउटा भैँसी छिमेकीले बेचिदिए । उनको मन बुझाउन शिक्षक नारायण ज्ञवालीले सके सम्म प्रयत्न गरेका हुन् तर सकेनन् ।
दिनेशकी आमा उमेरले ५० बर्ष हाराहारीकी हुन् । त्यो दिन एका बिहानै उठेर उनी घरबाट हिडिन् छोरो खोज्न भनेर । होस हवास ठीक ठाउँमा थिएन , मेरो दिनेश खोई ? यति मात्र प्रश्न गर्दथिन् सबैसंग । उनी रिडी बजारमा पुगिन् । रिडी पुग्न घरबाट लगभग १ घण्टाको बाटो हो वरालो । कति समयमा त्याहाँ पुगिन् र कति दिन रिडीमा कसरी बिताईन् । एवं रितले उनी त्यसै हालत तथा हविगतमा तानसेन पुगिन् र केही महिना त्यतै बरालिईन् सडक पेटीमा सुतेर । पछि कसरी बुटवल झरिन् , केही महिना बुटवलको बस पार्कमा देखिन्थिन् ।
दिनेशको मावल अर्थात आमाको माइत पाल्पाको लघुवा हो । नेपाल थरका माइती हुन् । आमालाई कसैले चिनेछ वा लख काटेछ र एक जना युवाले न्यु इरा होटलमा पु¥याइदिए । त्यस होटलका धनी माधव नेपाल लघुवाका हुन् । माधव नेपालले ती महिलालाई चिनेनन् शायद । भुल्ली, फोहोरी, बहुलाही, कुरुप , यस्तै यस्तै । आमाले चिनिन् , “ माधव हौ ? मेरो दिनेशलाई देख्यौ ? ” माधव अलमल्लमा परे । माधवले कुनै समयमा ग्वादी बसेर पढेका थिए र दिनेशलाई  चिनेका पनि थिए । दिनेश काठमाण्डुमा छ भन्ने सुनेको अनुमानमा माधवले ती महिला अथवा दिनेशकी आमालाई काठमाण्डु सम्मकोे टिकट काटिदिएर बसमा चढाउन समेत सहयोग गरे । उनले गर्न सक्ने पनि त्यत्ती थियो ।
काठमाण्डु पुगेर दिनेशकी आमा २ – ४ महिना सडकका पेटीमा सुत्दै जुठो पुरो खाएर बाँचिन् । २२ ÷२४को युवक देख्यो कि मेरो दिनेश भनेर झ्वाम्मै समात्ने समस्याले उनी डरलाग्दो किसिमको चर्चामा त आईन् , सो उमेरको सेरोफेरोका युवाहरुलाई भने नजिकबाट हिँड्न धौ धौ परेको थियो । र पनि उनलाई बुझ्ने  चेष्टा कसैले गरेन ।
दिनेशको घरजम भयो । समय बितेकै थियो । सुस्मितासंग जनवादी शैलीमा बिबाह भएको थियो । पार्टीको काम र आफ्नो पार्ट टाइम काम समेतको चाँजो मिलाउने प्रयत्न गरे । संयोगले हरि चौधरीसंग भेट भयो । हरि चौधरी अर्थात हरि सर पहिले रुपन्देहीको शंकरनगरस्थित प्यारामाउण्ट बोर्डिङ्ग सकूलमा पढाउँथे । त्याहाँ हुँदा दिनेशसंग परिचय भएको थियो । त्यतिबेला हरि सर इमाडोल गाबिसमा पर्ने हात्तीबन ललितपुर स्थित लिटिल एञ्जेल्स स्कुलमा पढाउँथे । दिनेश पनि हात्तीबनको कर्मनाशा पुल पारि हरि सर बस्ने घरमै डेरा गरी बसे । बिहानको पार्ट टाइम जागिर लिटिल एञ्जेल्समै पाइयो शिक्षकमा । हरि सरले दिनेशलाई सक्दो सहयोग गरे । दिनेश दम्पत्तीमा पुत्री लाभ भैसकेको थियो भन्ने कि छोरी पाएका थिए भनौ न र छोरी त छ महिनाकी पो भैसकेकी रहीछ ।  सुस्मिता कोठामै भुल्थिन् तर दिउसो दुबै जनाको काम पार्टीले खटाए अनुसार जनताकोे सेवामा हुन्थ्यो । दिनेश, मान्छे त्यस्तै हुन् कि ब्यस्तताले हो वा के कारणले हो घरपरिवार तथा बाबु आमाको सम्झना हुँदा हुदै पनि खबर गर्न मेसो पाएको देखिएन । यो पनि हुन सक्थ्यो सुरक्षाको कारणले खबर गरेनन् तर कसो कसो भुमिगत अवस्थामै पनि स्कूलमा जागिर चाहिँ पाए ।
लगनखेल बसपार्कमा एउटी देख्दै डरलाग्दी, डरलाग्दो किसिमले हेर्ने, कुरुप पागल महिलाले धेरैलाई हैरान पारिन् भनेर स्थानीय ब्यापारीहरुले गोदावरी लगेर छोड्न बसमा चढाइदिए । बिना भाडाको पेसेञ्जरलाई खलाँसीले अलि पर लगेर झरालिदियो । ठाउँ हात्तीबनको आसपास जस्तो लाग्छ । बुढी २–४ दिन त्यतै भौँतारिइन् । डुल्दै जाँदा कर्मनाशा पुलपारि एउटा मन्दिर र पार्टी पौवा फेला प¥यो । मन्दिर शिवजीको थियो । भक्तजनले दिएको खाएर उनले दिन गुजार्दै गइन् । ओढ्न्े बिछ्याउनेमा भुल्ला लुगा थिए जो अन्य पागलले जस्तै बोकेरै हिँडेकी । उनी दिनेशकी आमा थिइन् , छोरो खोज्दै …….. ।
हरि सरकी श्रीमती र सुस्मिताले काखमा छोरी बोकेर नजिकैको शिव मन्दिरमा गए । हरि सरकी श्रीमतीलाई मन्दिर जाने, तीर्थ ब्रत गर्ने र पूजा आजा गर्ने जस्ता कुरामा आनन्द लाग्छ । साथीको रुपमा सुस्मिता पनि संगै गएकी । सोही मन्दिरको गेटैनेर ती पागल बूढी थिइन् । देख्दै डरलाग्दी, काला गहिरा आँखा, जगल्टै जगल्टा परेको कपाल, केही हराए जस्ती, केही खोजेजस्ती । त्यो रुप देखेर सुस्मिता तर्सिन् । उनी तर्सँदा काखकी छोरी झनै झस्की । फर्केर कोठामा आउँदा सुस्मिताकी छोरीलाई बेस्सरी ज्वरो आयो, शायद सातो गएछ । ज्वरो बढ्दै गयो । ती बूढीलाई देखेर सातो गएको हो, त्यो बोक्सिनी जस्ती छ हेराउनु पर्छ भनेर हरि सरकी श्रीमतीले राय दिइन् । नपत्याउँदा नपत्याउँदै पनि सुस्मिताले स्वीकारिन् । एकै छिनमा हरि सर स्कुलबाट घर आए भात खान । बच्चीलाई ज्वरो आएको , झस्केको, सातो गएको, बोक्सी लागेको जस्ता कुराले हरि सर प्रभावित भए । हुन त बिएससी पढेका सर र पनि समाजसंगै हिँडे उनी , बिश्लेषण गरेनन् ।
भातै नखाइकन फनक्क फर्केर हरि सर एकजना झारफुक गर्ने मान्छे लिन गए । कर्मनाशा पुल नजिकै उनै दधिराम ज्ञवाली सडक ज्योतिष पेशामा थिए । हरि सरले जाउँ भनेपछि च्यात्तै छोडेर हिँडे । गएर सातो फुके, नारी हेरे, आखत हेरे र बोक्सी नै लागेको रहेछ सञ्चो हुन्छ भने । एकैछिनमा बच्चीको ज्वरो पनि घटेको महसुस भयो, गुनै त हो सुस्मिता प्रशन्न भइन् र बूढा बाजेलाई भात खान आग्रह गरिन् । बूढालाई पनि आनन्दै भयो, खाएरै जाने निधो गरे । हरि सर संगैथिए उनकी श्रीमती र सुस्मिता, सुस्मिताकै कोठामा ।
मन्दिरकी पागल बूढीलाई किन हो किन अघि आएकी युवती र काखकी छोरी प्रति निकै माया जाग्यो । एकै छिन उनको होस फक्र्यो र प्रायः पूरै चेतनशील महिलाको रुपमा आइन् । मनमनै सोँचिन्, मेरो छोरो दिनेश यहाँ भएको भए ………। ती युवती बुहारी र काखकी बच्ची नातिनी भएकी भए ………। धेरै बेर सम्म कुरा खेलाइन् र बरररर आँशु झारिन् ।मनले मानेन र उनी ती युवती बस्ने घर तिर लागिन् जो मन्दिरबाट नजिकै थियो , टुस्स पेटीमा बसिन् । सुस्मिता ती बूढीलाई देखेर फेरि झस्किन् र प्याच्च आवाज निकालिन् । ‘ उ बोक्सिनी आई । ’ हरि सर र उनकी श्रीमतीले समेत आँखा तानेर हेरे । दधिराम बाजेले खोइ केको लागि पात्रो हेर्दै थिए त्यति वास्ता गरेनन् ।
घुर्र मोटरसाइकल आयो र त्यसै घरको अगाडि रोकियो । मोटरसाइकल कुनै साथीको थियो र अहिले दिनेश चढेर आएका थिए । उनी स्कुलमा क्लाश सकेर भात खान घर कोठामा आएका । उता सबैले बोक्सिनीलाई लाम लागेर हेरेका थिए, तब सम्म वल्ला पल्ला घरका छिमेकीको समेत भीड लागेको थियो बोक्सिनी कस्ती रहिछ भनेर ।
दिनेश मोटरसाइकलबाट झर्दै हेलमेट उतारेर मोटरसाइकलमै अड्याए । बूढीले मोटरसाइकलवालालाई एकटकले हेरेकी थिइन्– कतै मेरै दिनेश त होइन ? बूढी आाबैमा एकाएक एक खालको अलौकिक शक्ति उत्पन्न भयो र जुरुक्क उठेर झ्वाम्म दिनेशमाथि झम्टँदै भनिन् , दिने……श, मेरो छोरा………, दिनेश अक्क न बक्क भए । भीड पनि अचम्मै भयो । दिनेशले सम्हालिादै बूढी महिलालाई हेरे, आ……मा……!  आश्चर्य , आमा छोराको संयोग भयो । आमा चिच्याएर रोइन् । दिनेशले आमाको अँगालो हालेर रोए । उता बाहिरको यो हल्ला सुनेपछि दधिराम बाजे भित्रबाट आए । हेर्छन् त आफ्नै श्रीमती , आफ्नै छोरो । बूढा पनि भावुक भए र झ्वाम्म दिनेशलाई समात्दै भने , मेरो छोरा……..।
सडक नाटक त होइन ? धेरेका मनमा शंका जाग्यो । फिल्म जस्तै भयो । दिनेशले सम्हालिँदै सुस्मितालाई परिचय गराए बाउ आमाको । अब भने सुस्मिता रोइन् , हरि सरकी श्रीमती रोइन् र पुरा दर्शक रोए । मान्छे यति रोए कि शायद साउने झरी त्यसरी पर्दैन । लगभग १०० –१५० जना महिला पुरुषको जमघट भैसकेको थियो । सबै रोए, निकै रोए ,हर्षाश्रु धारा बगाएर रोए । थामिनै नसकिने गरि रोए । नारी रोदन त यसरी भक्कानो छोडेर रोयो , धर्ती रोयो ,मानौ आकाश पनि रोयो । एकै छिनमा सबै कोठा भित्र गए र सबैले आ–आफ्ना घटनाको कथा सुनाए । सुस्मिताको नारी हृदय तब सम्म पनि सुँकसुँकाइ रहेको थियो र आमाले धैर्य हुन संकेत गरेकीझैँ लाग्दथ्यो ।
भोलि पल्ट, प्रतिबन्धित पार्टी फुकुवा भएको समाचार आयो । देश शान्ति प्रकृयामा आयो । दिनेशको पनि सरुवा भयो गुल्मी तिरै , गुल्मी जिल्लाको आफ्नो बिभाग हेर्ने गरेर । आमाका आँखामा त्यो दिन पनि गहभरी आँशु त देखिन्थे तर ……।
जनघोष साहित्यिक मासिक
बर्ष १ , अंक ५ , २०६५ जेठ
बुटवल

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग