घाँस काट्दै भिडियो च्याटमा
Published on
9:50:00 PM //
बिरेन्द्र के.सी
तस्बिर: ईन्टरनेटबाट |
सात समुद्र पारिको छोरा सँगै अगाडि नै बसेजसरी अनुहार हेर्दै नरपानीकी ४५ वर्षीया शान्ति केसीले पनि सञ्चो बिसञ्चोको खबर लिने गरेकी छन् । ल्यापटपको भिडियो च्याटबाट आफूले खाना पकाउँदै गरेको सबै दृश्य छोरालाई देखाउँदै कुराकानी गर्न पाउँदा उनी दङ्ग छिन् । भनिन्, 'भिडियो च्याटबाट विदेशमा रहेको छोरासँग यसरी कुरा गर्न पाउँदा घरमै भएको अनुभूति हुन्छ ।' रोजगारका लागि ३ वर्षदेखि विदेशमा रहेको छोरासँग उनले ४ महिनादेखि भिडियो च्याटबाट कुरा गरिरहेकी छन् । उनले भनिन्, 'मेरो श्रीमान्ले भारतमा नोकरी गर्नुहुन्थ्यो, घरबाट हिँडेको छ महिना, वर्ष दिनमा कोही लाहुरे आयो भने चिठी ल्याएपछि मन ढुक्क हुन्थ्यो, बोली त परै जाओस् ।' तर अहिले छोराको अनुहार हेर्दै कुरा गर्ने मात्रै होइन, ऊ बसेको ठाउँ, कोठा बिस्तरा, खाना सबै देख्न पाउँदा उनको नियास्रो मेटिएको छ । उनले भनिन्, 'अब पटुकीभित्र रहने मोबाइल पनि पुरानो भइसक्यो ।' जिल्लाका विकट गाउँका वस्तीमा समेत सञ्चारको सुविधा पुग्दा शान्तिको जस्तै धेरै महिलाले विदेशमा रहेका आफन्तसँग ढुक्कले कुरा गर्न पाएका छन् । काम सकेपछि उनीहरू टेलिभिजनको रिमोट हातमा लिएर च्यानल बदल्ने, ताजा समाचार हेर्न अनलाइन खोल्ने र आफन्तहरूसँग भिडियो च्याटमा गफ गर्न ल्यापटप र कम्प्युटर खोल्न थाल्छन् ।
ठाडाकी बिमला भुसालले गाउँमा बिजुली गएपछि सदरमुकामको साइबरमा धाउन छाडेकी छन् । रोजगारका लागि दुबई पुगेका भाइसँग घरमै बसेर इन्टरनेटमा अनुहार हेर्दै कुरा गर्न थालेको बताइन् । ६२ वर्षीया हजुरआमा खगिश्वराले पनि बिमलाले जस्तै नातिको सहायतामा कतारमा रहेका छोरासँग अनुहार हेर्दै सञ्चो बिसञ्चोको कुराकानी गर्छिन् । रोजगारका लागि विदेसिएका र घर छाडेर अन्य पेसा, व्यवसाय र जागिर गर्नेले आफन्तलाई उपहारस्वरूप राम्रो कपडा, घडी, रेडियो ल्याइदिनेले अहिले ल्यापटप, कम्प्युटर, टिभी र राम्रो मोबाइल सेट ल्याइदिने चलन बढ्दै गएको खाँचीकोटका शिक्षक रामबहादुर केसीले बताए । विदेशमा मात्रै नभएर गाउँघरमा रहेका आफन्तहरूसँग कुरा गर्दा भिडियो च्याटबाट गर्ने चलन बढ्दै गएको उनले बताए ।
0 प्रतिकृयाहरु