कृषि प्रविधिले तान्यो किसानलाई
Published on
7:51:00 PM //
अमृता अनमोल
कपिलवस्तुको कोपवाका किसान जयराज चौधरी आइतबार परिवारसहित २ दिनका लागि बुटवल आएका छन् । एक दशक अघि खुट्टा भाँच्चिँदा बाहेक नआएका उनी अहिले उपचारका लागि आएका होइनन् । यहाँ कृषि मेला अवलोकन तथा परामर्शका लागि आएका हुन् ।
'कृषिसम्बन्धी प्रविधि देखाउने र प्रयोग गर्न सिकाउने भन्ने सुनेर दुई छोरासहित आएको हुँ,' उनले भने । सात वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेका उनले मेलामा प्लास्टिकको पोखरीमा माछा पाल्ने प्रविधिले आफूलाई छोएको बताए । 'मेरो खेतमा पानी प्रशस्त छ,' उनले भने, 'यो प्रविधिबाट माछा पाल्न पनि सुरु गर्छु ।'
करहियाका श्यामबहादुर श्रेष्ठ ७ जना साथीसहित आइतबार मेला अवलोकनमा आए । रासायनिक मल नपाउँदा आफूले लगाउने गरेका नगदेबाली प्रभावित भएपछि उनीहरू अर्गानिक मल बनाउने र अर्गानिक खेती गर्ने तरिका सिक्न मेलामा आएका हुन् । 'रासायनिक मलको प्रयोग गरेर मौसमअनुसार अन्न बाली, नगदे बाली र तरकारी खेती गरेका छौं ।'

प्रत्येक स्टलमा निःशुल्क प्रविधिबारे परामर्श दिने, सहुलियतमा औजार तथा प्रविधि किनबेच गर्ने व्यवस्था पनि गरिएको छ । यसले गर्दा मेलामा रूपन्देही सहित कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासी, चितवन, दाङ, स्याङ्जा सम्मका किसान तथा तिनका समूहहरू आएका छन् । बाहिरी जिल्लाबाट आउने नमुना किसान समूहलाई स्टल नराखे पनि मेलामा
आफ्ना प्रविधि देखाउने अवसर दिइएको मेला संयोजक कृष्णकुमार श्रेष्ठले बताए ।
मेलामा पाल्पा मदनपोखराका तरकारी किसान, गुल्मीका अदुवा तथा कफी किसान, सल्यानका तरकारी किसान, चितवनका मह किसान, रूपन्देहीको छपियाका माछा किसान लगायत छन् । किसानलाई लक्षित कृषि क्षेत्रमा प्रयोग भएका आधुनिक प्रविधि तथा पुराना प्रविधिलाई परिमार्जन गरी प्रयोगमा ल्याउन प्रेरित गरी आम्दानी बढाउने लक्ष्यसहित मेलाको आयोजना गरेकाले उनीहरूको अवलोकन र परामर्शलाई ध्यान दिएको संयोजक श्रेष्ठले बताए ।
0 प्रतिकृयाहरु