गजल
Published on
2:35:00 PM //
-हरि मानन्धर “विवश”
लप्का–लप्का लप्किएर, बल्नु हो कि जीवन
समर्पित भई लप्का भित्रै, जल्नु हो कि जीवन
बसन्तमा फूलदेखि, छुट्टिएका पात
साउनको झरी भित्रै, गल्नु हो कि जीवन
खडेरीमा विना पानी, रूख सुके पछि
झरी पर्दा मक्किएर, ढल्नु हो कि जीवन
भन्न पनि गाह्रो भयो, जीवन कस्तो कस्तो
काँडा अनि फुल बीचै, फल्नु हो कि जीवन
धेरै भयो जिन्दगीको, अर्थ खोज्ने भाको
जस्तो पर्छ टर्छ भन्दै, चल्नु हो कि जीवन
0 प्रतिकृयाहरु