विदेशको जागिर छाडेर तरकारी खेतीमा
Published on
9:48:00 PM //
बिरेन्द्र के.सी
रोजगारीका लागि मलेसिया गएका भोजराज पौडेलले सोचेजति पैसा कमाउन सकेनन् । ४ वर्षअघि घर फर्केर ६ महिनापछि फेरि बिदेसिने सुरसार कसेका उनलाई साथीभाइले नजान सल्लाह दिए । 'उनीहरूकै सल्लाहमा तीन वर्षदेखि तरकारी खेती गर्दै आएको छु,' उनले भने, 'अहिले राम्रै कमाइ भएको छ । विदेश जाने मनै मरेर आएको छ ।' उनले वर्षमा घर खर्च कटाएर ८५ हजार रुपैयाँ बचत हुन थालेको बताए ।
.jpeg)
उनीसँगै सात वर्षदेखि ५५ घरपरिवारले मिश्रति खेती प्रणाली अपनाएर वर्षमा ६० हजारदेखि ५ लाख रुपैयाँसम्म कमाइ गरेका
छन् । यसले गाउँमा खुसीसँगै परिवर्तन ल्याएको छ । चार वर्षभित्र विदेश जान छाडेर १५ जना युवाले यहाँ खेती गर्न थालेका छन् । 'तरकारी र सुन्तलाबाट समूहले वर्षमा २ करोड ५० हजार रुपैयाँसम्म आम्दानी गरेको छ,' शिवशक्ति मिश्रति कृषक समूहका अध्यक्ष रेवतीराज पौडेल भन्छन्, 'सात वर्षदेखि मिश्रति प्रणाली अपनाएर खेती गर्न सुरु गरेका हौं ।' वर्षमा २/४ लाख कमाइ घरमै बसेर हुन थालेपछि विदेश जाने युवाको रुचि घटेको बताउँदै उनले न्यून आय भएका परिवारको जीवनस्तर उकासिएको जानकारी दिए ।
यहाँ उत्पादित सुन्तला र तरकारी जिल्लाको आन्तरिक बजारदेखि पाल्पाको तानसेनमा बिक्री हुने गर्छ । अर्का युवा कृषक चिरञ्जीवी पौडेलले १ हजार २ सय सुन्तलाका बोटबाट बर्सेनि २ लाख र तरकारी खेतीबाट डेढ लाख जति आम्दानी गर्दै आएको बताए ।
'१३ रोपनी बारीमा मिश्रति खेतीले परिवारका लागि छाक टार्न र दुई चार पैसाका लागि अब वैदेशिक रोजगारीका लागि धाउनु परेन,' उनले भने, 'मेहनत गरे यहीँ विदेशको जत्तिकै कमाइ गर्न सकिन्छ ।' उनको बारीमा लसुन, बेसार, अदुवा, पिँडालु, आलु कोभी, गोलभेंडा उत्पादन भइरहेको छ ।
जिल्लामै सबैभन्दा धेरै सुन्तला उत्पादन हुने यस गाउँका सबैको घर सिमेन्ट लगाएर छानो जस्तापाताले छाइएका छन् । '५ वर्षअघि मलेसियामा खासै कमाइ नभएपछि गाउँ र्फकेर छिमेकीसँग ऋण काढेर खेती गरेको हुँ,' पौडेलले भने, 'अहिले खान, लाउन र छोराछोरीलाई पढाउन समस्या छैन ।' सुन्तलाको बिरुवा रोपेको तीन वर्षमा फल्ने स्थानीय खुमबहादुर रेश्मीले बताए । 'मिश्रति खेती प्रणालीका लागि गाउँ नमुना भएको छ,' कृषि प्राविधिक दधिराम गौतमले भने ।
0 प्रतिकृयाहरु