खानेपानी आपूर्तिको सम्भाव्यता पत्ता लाग्यो
Published on
3:11:00 PM //
अनिल खत्री
वर्षौंदेखि खानेपानीको अभाव रहेको गुल्मीको दौँगा गाविसमा खानेपानी आपूर्तिको सम्भाव्यता पत्ता लागेको छ ।
काठमाडौँबाट आएका प्राविधिकको टोलीले स्थलगत निरीक्षण गरेपछि खानेपानी समस्या समाधानको विकल्प पत्ता लागेको हो । स्थलगत निरीक्षणका क्रममा दौँगा गाविसकै बलेवा खोक्का मुहानमा प्रतिसेकेन्ड झन्डै २० लिटर पानी रहेकाले उक्त पानीलाई लिफ्ट सिस्टममार्फत गाविसमा पानी पुर्याउनसकिने प्राविधिक दीपक छामिछानेले जानकारी दिनुभयो ।
लिफ्ट सिस्टममार्फत पानी निकाल्न मुहानदेखि टंकीसम्मको उचाइ पाँच सय मिटर र पाइपको लम्बाइ १८ सय मिटर लाग्ने भए पनि सजिलै पानी निकाल्न सकिने प्राविधिक जितेन्द्र महर्जनले जानकारी दिनुभयो । पानीसँगै लघु जलविद्युत्समेत निकाल्न सकिने प्राविधिकको भनाइ छ ।
खानेपानी योजना सफल भएमा दुईदेखि तीन घन्टा लगाएर एक गाग्री पानी ल्याउनुपर्ने बाध्यता हट्नुका साथै गाविसका करिब सात सय घरपरिवारका पाँच हजार उपभोक्ताको खानेपानीको माग पूरा हुनेछ । यसरी आफ्नै गाउँमा खानेपानी मुहान रहेको थाहा पाएपछि दौँगाका बासिन्दा� खुसी भएका छन् । उनीहरूले सम्भाव्यता अध्ययन गर्न पुगेको प्राविधिकसहितका जिल्लास्थित राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई भव्यताका साथ स्वागत गरेका थिए ।
सोही अवसरमा नेपाली कांग्रेस गुल्मीका सभापति तथा जिविसका पूर्वसभापति चन्द्र केसीले हरेक चुनावमा सबै दलका नेताहरूले समस्या समाधानको कुरा गरे पनि ठोस रूपमा राज्यको ध्यान कहिल्यै नपुगेको गुनासो गर्दै यस प्रारम्भिक अध्ययनले नयाँ सम्भावनाको ढोका खोलेकाले आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । गाविस सचिव जुद्धबहादुर पछाईले यस किकिमको अध्ययनले गाविसमा खानेपानी आउने आसा पलाएको बताउनुभयो ।
यस्तै प्राविधिक दीपक लामिछाने, जितेन्द्र महर्जन, नेपाली कांग्रेस गुल्मीका उपसभापति तथा तम्घास बृहत् खानेपानीका अध्ययक्ष भुवनप्रसाद श्रेष्ठ, नेपाल तरुण दलका अध्यक्ष खिलध्वज पन्थी, दौँगा गाविसका पूर्वअध्यक्ष तथा एमाले नेता लोकबहादुर ज्ञवाली, एकीकृत नेकपा माओवादी १५ नम्बर इलाका इन्चार्ज चिन्तामणि ज्ञवाली, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष कृष्णबहादुर सोमरे, प्रगतिशील पत्रकार संघका जिल्ला सचिव हरि न्यौपानेलगायतले योजना सफल पार्न सबैले आफ्नोतर्फबाट सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
उनीहरूले योजना सफल भए गाविसका बासिन्दाको खानेपानीको समस्या टर्ने बताए ।
0 प्रतिकृयाहरु