सरकारले सकेन, जनताले देखाइदिए
Published on
9:30:00 PM //
जलयातायात संचालनको कुनै नीति छैन, सरकारको । त्यसैले जलयातायातका बारेमा सरकारले कुनै सम्भावना पनि देखेको छैन । हवाई यातायातको कुरा छाडौं, स्थल यातायातको सुविधा पनि जनतालाई दिन नसकेको सरकारले जल यातायातको सम्भावना देखोस् पनि कसरी ? तर जनताले आफै जल यातायात संचालन गरेर सरकारलाई सवक सिकाएका छन् । जलयातायात संचालन गरेर सर्वसाधारणहरु हिडेर ५ घण्टा लाग्ने दुरीमा २० मिनेटमा नै पुग्ने गरेका छन् । कसरी चलाइएको छ जल यातायात ? यसै सम्बन्धमा तयार पारिएको रिपोर्ट ।
नेपालमा ठूला ठूला नदीहरु भएपनि सरकारले जलयातायतको परिकल्पना नै गरेको छैन । तर स्याङ्जा, पर्वत र गुल्मीका बासिन्दाहरुले जलयातायात संचालन गरेर सरकारकै आँखा खोल्ने प्रयास गरेका छन् । स्याङ्जाको मिर्मी आधिमुहानदेखि पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतिबेनीसम्म संचालन भएको जलयातायातले नेपालका अन्य क्षेत्रमा पनि जलयातायात संचालन हुन सक्ने संभावना उजागर गरेको छ ।
हवाई यातायातको कुरा त यहाँका बासिन्दाका लागि कल्पना बाहिरकै कुरा भयो । सरकारले सडक यातायातको सुविधा समेत उपलब्ध नगराएपनि जनता आफै जुटेर यहाँ जलयातायातको विकल्प खोजेका हुन् । यसरी संचालन गरेको जलयातायत अहिले नेपालकै नमुना जलयातायतको रुपमा बिकसित भएको छ ।
अहिले स्याङजाको मिर्मिदेखि पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतिबेणीसम्म संचालित जलयातायातका कारण तीन जिल्लाका बासिन्दाका लागि निकै सहज भएको छ ।
कालीगण्डकी ए परियोजना सम्पन्न भएपछि बाँधका कारण पानी थुनिएर करीब ७ किलोमिटर अगाडी सम्म ताल बनेपछि कालीगण्डकी प्रभाबित क्षेत्रका सेतिबेनी र मिर्मि आँधिखोला मुहान क्षेत्रका बासिन्दाको सकृयतामा जलयातायात संचालन गरिएको हो । तर वर्षाको समयमा भने परियोजनाका बाँधका ढोका खोल्दा स्टीमर बगाउँदै आएको छ भने जलयातायात प्रभावित हुने समेत गरेको छ ।
यो जलयातायातबाट तीन अंचलका तीन जिल्ला गुल्मी, स्याङ्जा र पर्वतका २५ गाविसका जनतालाई प्रत्यक्ष फाइदा पुगेको छ । सेतिबेणी पर्बतका स्थानीय समाजसेवी हिमलाल न्यौपानेको सकृयामा जलयात संचालन सम्भव भएको हो ।
जलयातायातका कारण कालीगण्डकी नदी ३ जिल्लाका लागी राष्ट्रिय राजमार्ग जस्तै भएको छ । पैदल हिडेर ४ देखि ५ घण्टा लाग्ने बाटोमा अब जलयातायातका कारण २० मिनेटमा नै पुगिने भएको छ । ९ बर्ष अगाडि यहाँका बासिन्दाको अवस्था निकै पीडादायी थियो । तर अहिले कालीगण्डकीमा जलयातायात संचालन हुँदा निकै राहतको अनुभब गरेका छन् । एक किलो सामानको ५ रुपैयाँ तिरेर भरियालाई डोकोमा सामान बोकाएर घर लैजाँदा सामानको भाउ पनि निकै महंगो पथ्र्यो । जलयातायात सेवा नहुँदा सेतिबेनीमा एककिलो नुनको ९ वर्ष अगाडि नै १८ रुपैयाँ पर्ने गरेको थियो ।
कालीगण्डकीमा जलयातायात संचालन भएपछि जलयात्रा गर्नेको संख्या पनि बढेको छ । जलयात्राका शौखिनहरु र नेपालमा जलयातायातको अनुसन्धान गर्नेहरुको पनि आजभोलि कालीगण्डकीमा भिड लाग्ने गरेको छ । कालीगण्डकी जलयातायातका कारण स्थानियबासिन्दाको आवश्यकता मात्र पूर्ति भएको छैन, जलयात्रा गरेर आनन्द लिने सपना पनि नेपालमै पूरा हुन थालेको छ । कालीगण्डकीमा संचालनमा रहेको मिनि पानीजहाजका कारण जहाज चढ्न अब समुद्र खोज्दै जानु नपर्ने भएको छ ।
सरकारले गरेन सहयोग
कालीगण्डकीमा संचालित जलयातायातले नेपालका अरु ठाउँमा पनि जलयातायात सम्भव भएको कुरा प्रमाणित गरिदिएको छ । तर सरकारले अहिलेसम्म जलयातायातका सम्बन्धमा नीति निर्माण नै गरेको छैन । सरकारले जनतालाई मोटरबाटो दिएन । जनता आफै जलयातायात संचालन गर्न कस्सिए । सरकारले जलयातायात संचालनका लागि सहयोग गर्ला भन्ने आशा थियो, जनतालाई । तर सरकारले उल्टै असहयोग ग¥यो ।
तत्कालीन समयमा कालीगण्डकीमा जलयातायात संचालनका लागि स्वीकृति लिन स्थानीय हिमलाल न्यौपानेको अगुवाईमा पटकपटक जलस्रोत तथा यातायात मन्त्रालयमा धाएपनि मन्त्रालयले कालीगण्डकीमा जलयातायात संचालनको स्वीकृती दिएन । तत्कालिन जलस्रोत मन्त्री विजयकुमार गच्छेदारले नेपालमा जलयातायात संचालन गर्ने नीति नभएकोले कालीगण्डकीमा जलयातायात संचालनको लागी मन्त्रालयले स्विकृती नदिने बताएपछि ठूलो आशा लिएर मन्त्रालय पुगेका जनता छाँगाबाट खसे झैँ भए ।
सरकारले जलयातायातको स्वीकृती नदिएपनि टोलीले पालैपालो मन्त्रालय धाउन छाडेन । हिम्मत नहारी २ महिना सम्म मन्त्रालय धाएपछि जलयातायत संचालनको स्वीकृति दिन सरकार बाध्य भयो । जनताको लगातारको दवाबका कारण सरकारले अनुमति दिएपछि कालीगण्डकीमा जलयातायात संचालन भएको हो । सरकारको अनुमति पाएपछि पहिलो पटक पोखरा फेवातालबाट एउटा हाते डुङ्गा ल्याएर कालीगण्डकी जलमार्गमा परिक्षण गरिएको थियो ।
कालीगण्डकीमा जल यातायत शुरु भएपछि यातायात सेवाबाट बञ्चित यहाँका जनता औधी खुसी भए । जनताको माग र चाहना बढ्दै गएपछि बिस्तारै अन्य डुङ्गा थपेर दैनिक जल यातायत संचालन गर्न थालियो । सानो डुङ्गाबाट मात्र यात्रा संचालन गर्न कठिन हुँदै गएपछि भारतको कोलकात्ता, मुम्बई लगायात बिभिन्न ठाउँमा संचालित यातायातको अबलोकन गरेर कालीगण्डकीमा ईन्जिन स्टिमर संचालन गरियो । जलयातायत संचालनको अनुभब नभएका कारण संचालक समितिले भारतको कोछिघाटमा जलयातायात संचालन गर्दै आएका अनुभवी मिस्त्री बोलाएर कालीगण्डकी जलमार्गको अवलोकन गरायो ।
त्यसपछि मिर्मिमा नै ठूलो डुङ्गा तयार पारेर ईन्जिन फिट गरी जलयातायात संचालन गरिएको हो । बस, ट्रक, जिपको ईन्जिन प्रयोग गरेर मोटरबोट निर्माण गरी जलयातायात संचालन गरिएको छ । ईन्जिन स्टिमरको परीक्षणसंगै बनाएका २० देखि ३० जना अटाउने डुङ्गा सानो भएकाले बढी क्षमता भएको डुङ्गा निर्माण गरी संचालन गरियो ।
आजभोलि संचालनमा रहेका डुङ्गाहरुले १ सयदेखि डेढ सय जना सम्म यात्रु ओसार पसार गर्दै आएका छन् । मनोरञ्जनका लागि संचालन हुने हाते डुङ्गा परिमार्जित गर्दै कालीगण्डकी जलमार्गमा अहिले प्रमुख यातायतको रुपमा इन्जिन डुङ्गा संचालन गरिएको छ । कालीगण्डकी जलमार्गमा बिहान ७ बजे देखि बेलुका ७ बजे सम्म जलयातायात संचालन हुँदै आएको छ ।
स्थानीय जनताले आफै रकम उठाएर मोटर स्टिमर संचालन गरेका हुन् । ४ हजारको दरले रकम उठाएर जनताले स्टिमर संचालन शुरु गरेका हुन् । शुरुका दिनमा संचालित एउटा मोटर स्टिमरले जनताको चापलाई थाम्न नसकेपछि ठूलो खालको स्टिमर डुङ्गा संच्ाँलन गरिएको छ । जनताको माग बढ्दै गएपछि अहिले कालीगण्डकी जलमार्गमा ९ वटा ईन्जिन मोटरबोट संचालनमा छन् । एउटा मोटरबोट निर्माणकालागि १५ देखि २० लाख रुपैयाँ लगानी लाग्ने भएपनि बिभिन्न ७ वटा समुहको लगानीमा जलयातायात संचालन गरिएको छ ।
फाइदा र खतरा उत्तिकै
कालिगण्डकीमा संचालित जलयातायातका कारण सेतिबेनीमा रहेको भगवान बिष्णुको शिला शालिग्रामको दर्शन गर्न आउनेको संख्या पनि निकै बढेको छ । यातायातको असुबिधाका कारण ओझेलमा परेको शिला शालिग्रामको महत्व पनि जलयातायात संचालन भएपछि अझ बढेको छ । सेतिबेनीमा रहेको शिला शालिग्राम दर्शन गरेमा साक्षात बिष्णुको दर्शन गरे सरहको पुन्य मिल्ने मान्यताका साथ हिन्दुधर्मालम्बीहरु यहाँ आउने गर्छन् । अहिले शिला शालिग्रामको दर्शन गर्न आउनेहरुको संख्या बढेकाले सेतिबेनी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न पनि स्थानियबासिन्दाहरु कस्सिएका छन् । कालीगण्डकीको तिरमा रहेको शिला शालिग्रामको दर्शन गर्न बैशाख, असोज, कार्तिक, मंसिर र फागुनमा दैनिक हजारौ पर्यटक सेतिबेनी आउने गरेका छन् ।
जलयातायात संचालन भएपछि उपचार नपाएर अकालमा ज्यान जाने क्रम पनि रोकिएको छ । बिरामी र सुत्केरी महिलालाई अस्पताल पु¥याउन सजिलो माध्यम नै जलयातायात भएको छ । जलयातायत कै कारण मिर्मिको आधिखोला मुहान र सेतिबेनीको मुहान बन्दरगाह जस्तै भएको छ । २५ गाविसका जनता र व्यबसायीहरुले माल सामान ढुवानी र स्टोरकोलागि मिर्मिको आधिमुहान र सेतिबेनीलाई बन्दरगाह जस्तै बनाएका छन् ।
जलयातायातबाट २५ गाविसका जनतालाई प्रत्यक्ष फाईदा पुगेपनि यात्रा पूर्णरुपमा सुरक्षित भने हुन सकेको छैन । भरपर्दाे तरिकाले मोटरबोट संचालन गरेको जलयातायात समितिले दाबी गरेपनि यातायातलाई सुरक्षित र व्यवस्थित पार्न थप पहलको खाँचो छ ।
जलयातायतकालागि अनिवार्य लाईफ ज्याकेट, हेलमेट जस्ता सामाग्रीहरु प्रयोग नभएका कारण दुर्घटना भएमा ज्यानै जाने खतरा छ । कुनै कारणबस दुर्घटना भएमा नदीमा पौडिन जान्नेले त ज्यान जोगाउला तर पौडिन नजान्नेको अकालमा ज्यान जाने अबस्था छ । केहि बर्ष अघि बोट पल्टिदा केहि व्यक्तिको मृत्यु समेत भएको थियो भने लाखौ रुपैयाँको माल सामान डुबेको थियो । त्यसपछि केहि समय जलयातायत नै बन्द गरिएको थियो । गत वर्ष पनि वर्षायाममा दुईवटा स्टीमर बगेका थिए । यात्रुहरु स्टीमरमा चढ्न र ओर्लनको लागी पनि राम्रो ब्यबस्था गरिएको छैन । चढ्ने र ओर्लने ठाउँ व्यवस्थित नहुँदा यात्रुहरु चिप्लीएर नदिमा खस्ने खतरा छ ।
पानी परेको समयमा यात्रुहरु पानीमै रुझेर यात्रा गर्नु पर्ने बाध्यता छ । जलयातायातका लागि टिकट काट्ने काउण्टर पनि बनाइएको छैन । जसको मोटरबोट हो, उसैले यात्रुहरुसंग पैसा लिने भएकाले दुर्घटना भईहालेमा यात्रुको बारेमा जानकारी पाउन मुस्किल छ । जिल्ला विकास समिति स्याङ्जाले भने कालीगण्डकीमा जलयातायात संचालन गर्दा कर लिने गरेको छ । नयाँ मोटरबोट संचालन गर्दा दुई हजार र प्रत्येक ट्रिपको ३० रुपैयाँ कर जिविस स्याङ्जाले लिंदै आएको छ । सरकारले कर मात्र असुल्नुको सट्टा यस्ता जलयातायातको आफैले जिम्मा लिएर व्यवस्थित रुपमा संचालन गरेमा जनताले निश्चय पनि अझ राहत पाउने थिए ।
ह्वाईट हिमाल डट टि.भीबाट (www.whitehimal.tv)
0 प्रतिकृयाहरु