"हो, म कोठीमा बेचिएकी थिएँ"
Published on
3:20:00 PM //
'नवौं दिन आएको काले भने नरपशु रहेछ । उसलाई मेरो कुनै कलाले छोएन - म नाचगान गर्दै थिएँ, उसले फुतफुती लुगा फाल्यो । कट्टु समेत फाल्यो । पेन्टको गोजीबाट चुरोट र लाइटर झिक्यो । उभिएरै दुई-तीन सर्का तान्यो । अनि ओठमा चेपेर मलाई च्याप्प समात्यो । मेरो लुगा पनि फुतफुती फाल्यो । मैले प्रतिकार गरें, चिथोरें । नङग्य्राएँ, टोकें, अहँ, केही सीप लागेन । कर्याकुरुक पारेर पछार्यो । लडायो । मेरा दुवै हात एक-एकतिर थिच्यो । चुरोटको धुवाँ मेरो नाक र मुखभरि फुक्यो । खुट्टा फटफटाउँदै थिएँ, बुटले नङ, औंलामा थिच्यो । अनेक बिन्ती गरें, रोएँ । मुखबाट फिँज निकालें, मेरा सबै प्रयास निष्फल भए । हात्तीले भुसुनु किचे झैं किच्यो मलाई... ।'
यो आत्मस्वीकृति पूर्वसांसद तथा एमाले नेत्री गौरा प्रसाईंको हो । झापा विद्रोहकी एक पात्र उनी १४ वर्षकै उमेरमा भूमिगत भएकी थिइन्, मोरङको पथरीबाट । स्कुल पढ्दै पञ्चायतविरुद्ध कम्युनिस्ट आन्दोलनमा लागेकी उनी लामो समय जेल परिन् । प्रजातन्त्र पुनर्बहालीपछि सांसद बनेकी उनी हाल एमाले केन्द्रीय सदस्य र अनेम संघकी नेत्री हुन् ।
छिटपुट स्तम्भ लेखनमा समेत चिनिएकी ५३ वषर्ीया प्रसाईंले यतिका लामो समयपछि भूमिगत कालका कथा-व्यथा पुस्तकाकारमा ल्याएकी छन् । 'मेरा जीवनका पाना' मा उनले आफूलाई नढाँटी व्यक्त गरेकी छन् । 'अरू पीडित महिलाहरूको लागि पनि मैले ढाँट्नु हुन्न थियो,' उनले बिहीबारको भेटमा सुनाइन्, 'हो, म कोठीमा बेचिएकी थिएँ ।'
२०२८ यता राजनीतिमै जीवन बिताइरहेकी प्रसाईंको जीवनको सुरुआती कटु भोगाइ उनको परिवारका सदस्यलाई मात्रै थाहा थियो । नारी उत्पीडन र नारीप्रति दृष्टिकोणमा अझै परिवर्तन नआएको दाबी गर्ने उनले आफ्नो आत्मकथा मार्फत 'एउटा चेतना' निर्माण होस् भन्ने चाहेकी बताइन् । झापा विद्रोहका सूत्रधार सिपी मैनाली, मोहनचन्द्र अधिकारी, नेत्र घिमिरे, कृष्ण कुइँकेल लगायतको प्रभावमा आन्दोलनमा लागेकी उनी प्रहरीको आँखा छल्न घरबाट भागेर भारत पस्दा सिलिगुडीस्थित जलपाइगुडी रेल स्टेसनबाट अपहरण परेकी थिइन् । त्यहाँबाट वेश्यालय पुर्याइएकी उनले २२ दिन नारकीय जीवन बिताइन् ।
'एक साँझ डरलाग्दो बिहारी आयो, एक छिन आँखा पल्टाएर मलाई हेर्यो,' प्रसाईंले किताबमा लेखेकी छन्, 'माल त अच्छा रै'छ, ल ठीक पर' भन्दै कपडा फुकाउन थाल्यो । त्यसको ज्यान हेर्दै मेरा हातखुट्टा बाउँडिए । वाक्यै आएन । उसले एकैचोटि यसरी झम्ट्यो कि मेरो त कानबाटै सास गयो । चीलले नंग्राले चेपेर रुवाउँदै आकाशमा उडाएको कुखुराको चल्लाजस्तै भएँ म ।' घर छाडेर निस्केपछि वेश्यालयमा भोगेका पीडा, त्यहाँबाट उम्केपछिको जेलयात्रा, कस्टडीको यातना, घर परिवारसँगको विछोड, प्रवासी जीवन, विवाह हुँदै २०४६ को परिवर्तनसम्म समेटिएको यो आत्मकथा उनले १३ वर्षअघि नै लेखेकी रहिछन् । 'लेखेर पहिलो पटक मैले जेठी छोरी -सञ्जिता) लाई देखाएँ,' उनले भनिन्, 'उनले छाप्नुपर्छ भनिन् ।'
लेख्न भने उनले ३० को दशकमै सुरु गरेकी थिइन् । वेश्यालयबाट निस्केपछि कोलकातामा भेटिएका लक्ष्मण रायमाझीलाई आफ्नो कथा सुनाउँदा डायरी लेख्न अभिप्रेरणा दिएको सुनाउँदै उनले आफ्नै पति गोविन्द कोइरालाले पनि बरोबर प्रोत्साहन दिइरहेको बताइन् । 'उहाँ (पति) ले जति त मलाई अरूले बुझ्नै सक्दैनन्,' उनले भनिन्, 'पार्टी कामदेखि जिन्दगीका सुखदुःखमा हामी सँगै रह्यौं ।' सबै कथा सुने/सुनाएपछि बिहे भएको भन्दै उनले 'धेरैले असली कथा लुकाउने भए पनि आफूमा त्यो ढोङ नरहेको' दाबी गरिन् । 'पञ्चायत फाल्न र प्रजातन्त्र ल्याउन परिस्थितिवश म बेचिएँ,' उनले भनिन्, 'मैले के बिगारेकी थिएँ र डराउने ? जानाजान वेश्यालय गएकी त थिइनँ नि ।'
जनता र कार्यकर्ताले गरेको योगदान र बलिदानको सम्मान गर्ने र त्यसबाट सिक्ने काममा अहिले प्रायः सबै पार्टीहरू चुकिरहेको स्विकार्दै उनले आफ्नै पार्टीभित्र पनि त्यस्तो गलत प्रवृत्ति झ्याँगिरहेको बताइन् । 'मैले यो आत्मकथालाई उहिल्यै पार्टीको सम्पत्ति स्वरूप प्रकाशन गर्नुस् पनि भनेकी थिएँ,' शुक्रबार सार्वजनिक हुने किताबबारे उनले भनिन्, 'तर, वास्ता गरेनन् ।' अन्य निजी प्रकाशनहरूलाई दिँदा सम्मानभन्दा पनि 'व्यापरीकरण र दुरुपयोग' बढी हुने शंकाका कारण यतिका वर्ष पाण्डुलिपि त्यत्तिकै थन्किएको उनले सुनाइन् ।'पछि मेरा यी कथाहरू दुनियाँले पढ्नुपर्छ जस्तो लाग्यो,' साझा प्रकाशनले छापेको किताबबारे उनले भनिन्, 'अनि छापें ।'
कान्तिपुर दैनिक्बाट
0 प्रतिकृयाहरु