१२ छात्रछात्रा कक्षा कोठामै एकै साथ बिरामी
Published on
9:04:00 PM //
घनश्याम गौतम, ५ असार(गुल्मी)
गुल्मीको ठुलापोखरा निम्न माध्यामिक विद्यालयका १२ जना छात्रछात्रा आज दिउँसो कक्षामा पढ्दै गरेको अवस्थामा एकैपटक विरामी परेका छन् । कक्षा ४ मा पढ्ने ९ छात्रा र ३ छात्रलाई एक्कासी टाउको दुख्ने, बान्ता हुने, पेट दुख्ने, रिंगटा लाग्ने भएर विरामी परेका हुन् । दरबार देविस्थान उपस्वास्थ्य चौकीका सिनियर अहेव नारायण अर्यालले छात्रछात्रामा मास हिस्टेरिया भएकोले एकै साथ सबैजना बिरामी परेको बताउनु भयो ।
एकै साथ बिरामी परेका सबैलाई उपस्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । अस्पतालमा ल्याएका मध्ये १ जना बाहेक अन्य सबै सामान्य अवस्थामा फर्किएको अर्यालले जानकारी दिनुभयो । किशोर किशोरीहरुको मानसिक परिवर्तनका बेलामा यस्तो रोग देखिने र यो एक जनामा देखिएपछि अन्यलाई समेत प्रभावित गराउने भएकाले आज यस्तो रोग देखिएका सबैलाई तत्काल उपचारको व्यवस्था गरिएको पनि अर्यालले बताउनु भयो ।