ग्रामिण सडकहरु बन्द हुँदा खाध्यान्न ढुवानीमा समस्या
Published on
11:45:00 PM //
घनश्याम गौतम
वर्षाका कारण पहिरो र खोलाबढेपछि जिल्लाका अधिकांश ग्रामिण सडकहरु अबरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा दुर्गम क्षेत्रहरुमा खाध्यान्न ढुवानीमा समस्या भएको छ । आधा दर्जन भन्दा बढी स्थानमा पहिरो र खोला बढेपछि तिन दिन देखि अबरुद्ध जिल्लाकै ठुलो सडक रिडी रुद्रवेणी शान्तिपुर सडक खण्ड खुल्न नसक्दा सयौं यात्रु समस्यामा परेका छन् । दैनिक १ सय ३० भन्दा बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने सडकको रिडी रुद्रवेणी खण्डमा मात्र आधा दर्जन पहिरो गएका छन् ।

जिल्लाको निर्वाचन क्षेत्र नं. १ र बाग्लुङ्गका समेत एक दर्जन बढी गाविसमा खाध्यान्न ढुवानी हुने जिल्लाकै महत्वपूर्ण सडक बन्द हुँदा खाध्यान्न ढुवानीमा बढी समस्या पर्ने गरेको छ । रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डमा यात्रु ओसारपसार र खाध्यान्न ढुवानीका लागि गरी दैनिक १ सय ३० भन्दा बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने गर्दछन् । तिन दिन देखि २ सय बढी सवारी साधन र हजारौं यात्रुहरु बाटोमै अलपत्र पर्ने गरेका छन् । बिरामी र गर्भवती महिलाहरुलाई बढी समस्या पर्ने गरेको छ ।
त्यस्तै जिल्लाको पश्चिमी क्षेत्रमा सवारी संचालन हुने तम्घास, सिमलटारी, तम्घास पुर्कोटदह सडक खण्ड पनि आंशिक रुपमा खुलेका छन् । पनाहा खोला बढे पछि पुर्कोटदहसम्म सवारी चल्न सकेको छैन् । त्यस्तै निस्ती खोलामा आएको बाढीका कारण जिल्लाकै दुर्गम क्ष्ँेत्र नेटा दर्लिङ्ग सम्म चल्ने सवारी साधन पनि चल्न सकेका छैनन् । गौडाकोट देखि मजुवासम्मको सडक पनि पहिरोका कारण दुई दिन देखि अवरुद्ध छ ।
आयातित खाध्यान्नमा निर्भर हुने जिल्लाका चार दर्जन बढी गाविसमा सवारी साधन ठप्प भएपछि खाध्यान्न ढुवानीमा समस्या थपिएको व्यवसायीहरुको गुनासो छ । अधिकांश सडकमा ठुला ठाढा खोलाहरु पर्ने गरेकाले पानी रोकिएपनि खाध्यान्न ढुवानीमा समस्या हुने गरेको छ । ‘अब दशैं अगाडी खाध्यान्न ढुवानी गर्न सक्ने अवस्था नै छैन’, दुर्गम ह्वाङ्दीका व्यवसायी हरी अर्यालले भने, ‘अब यस क्षेत्रमा खाध्यान्न देखि प्याकेजिङ्ग फुडहरुको समेत मुल्य बढ्ने गर्दछ ।’
खोलाहरु बढेर सडक अवरुद्ध भएपछि दुर्गम क्षेत्रका सर्वसाधरणहरु सदरमुकाम आउन समेत दुई दिन लाग्ने गर्दछ । खोला र पहिलाकै कारण सडकहरु अवरुद्ध हुँदा वर्षातको तिन महिना बिरामी, सुत्केरी र बृद्धबृद्धाहरु बढी प्रभावित हुने गरेका छन् ।