Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिकट गाउँकी गरिव महिलालाई जीवनदान दिए डा. भुषालले

Published on 11:46:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ १० । बडागाउँ ७ चुँदरीगाउँ दाम्का निवासी गरिब परिवारका लालबहादुर सुनार ओंठ मुख सुकाइरहेका थिए । यो १० दिन अघिको कुरा हो । तमघासको रेसुङ्गा अस्पतालमा ल्याइएकी २४ वर्षिया उनकी पत्नी फुलमति बाँच्ने आशा मारिसकेका उनी अब कतिबेला के हुने हो भन्ने छटपटिमा आफन्तजनलाई भेट्ने र फोन गर्ने काममा व्यस्त थिए ।
गत वर्ष त्यस्तै बेहोस् भएर त्यसै अस्पतालमा ल्याइएका दाजु लोकबहादुर सुनारलाई त्यहाँबाट रिफर गरी पाल्पा पु¥याइएको थियो र उनको मृत्यु भएको थियो । त्यसैले पनि लालबहादुरले श्रीमती फुलमतिको पनि दाजुकै हविगत हुने सोंचेर माया मारेका हुन उनले । दुई दिनसम्म बोल्नु न चटपटउनु बेहोस् भएकी उनलाई रेसुङ्गा अस्पताल तमघासका डा. लक्ष्मण भुषालले पनि माया मारेर पाल्पा रिफर गर्दा बाटोमा परिवारजनले ब्यर्थै दुःख पाउने ठान्दै लगे लैजानुहोस् यदि होइन जे हुन्छ हुन्छ भन्नुहुन्छ भने यहि राख्नुहोस् भनेका थिए । साथमा पैसा पनि छैन के गर्ने हो भन्दै आफन्तजनको नाताले यसै समाचारदातासँग सोध्न आएका लालबहादुरको चेहेराबाट सजिलै बुझ्न सकिन्थ्यो उनी आकुलब्याकुल थिए र त्यसै पनि मान्छेको मनले पाप सोच्ने यथार्थ अनुसार उनले मनमा श्रीमती वियोगको पीडा पालि सकेका थिए । डा. भुषालसँग हामी सोध्न पुग्यौ ।
डा. भुषालले भने “ प्रेम जी आशा कम राख्न सकिन्छ तैपनि यी महिलाको उपचारमा हरक्षण हाम्रो ध्यान छ । बिश्वास लाग्दैन भने पठाउनुहोस् पाल्पातिर ।” उनले थपे “काठमान्डौं वा अन्य ठूला शहरमा लगेपनि परिवारको खर्च मात्रै हुने हो कि भन्ने देखेको छु ।”
दुई दिनसम्म बेहोस् फुलमतिको सैह्यामा विशेष निगरानी राखेका डा. भुषालले अनेक गरेर तेस्रो दिन होस्मा ल्याए । ढाडबाट पानी झिकेर परिक्षण गर्दा बल्ल बिमार पत्ता लाग्यो उनलाई सिरियस खालको मेनेजाइटिस रोगले गालेको रहेछ । डा. भुषाल भन्छन् ढाडबाट पानी भिक्ने काम तमघासमा हामीले पहिलो पटक सुरु गर्यौ र फुलमतीको केसबाट सफल पनि भयौं । सिरियस मेनेनजाइटिस रोगले ग्रस्त बिरामी मध्ये ५० प्रतिशतको मृत्यु हुने गरेको छ , डा. भुषालले थपे “यतिबेला हामीकहाँ पाँच जना मेनेनजाइटिस रोगका बिरामी भर्ना भएका छन् तीमध्ये फुलमतिको अवस्था चिन्ताजनक थियो । ”
बडागाउँको एक सामान्य निजी स्वास्थ्य संस्थामा जँचाएर औषधी खुवाएको साँझँदेखि नै फुलमती– ए बाबा ,,,,,,,,,, गरेर चिच्याउँदै एक्कासी बेहोस् भएकी थिइन् । पखाला लागेको विमारीलाई ज्वोरोको औषधी दिएजस्तै पनि हुन सक्छ । तर डा. भुषालले त्यो स्वास्थ्य संस्थालाई दोष दिन चाहेनन् । डा. साब कतै औषधीको असरले त होइन भन्ने प्रश्नमा भुषालले टाउको मात्रै हल्लाए ।
तेस्रो दिनदेखि चौबिसै घण्टा उनको उपचारमा लागेका डा. भुषालले उनलाई निको पारेरै छाडे । श्रीमतीको आशा मारिसकेका लालबहादुरले आज आइतबार उनको हात समाउँदै घर फर्किने क्रममा भन्दै थिए “डा. भुषालले मेरी पत्नी फुलमतीलाई नवजिवन दिनु भयो, यो गुन अर्को जुनीमा पनि सायद तिर्न नसकिएला ।” अनि श्रीमती फुलमती भन्दै थिइन् “श्रीमान् बालबच्चाको बिचल्ली हुने भयो भन्ने सोंचेकी थिए तर आज स्वस्थ महसुस गरी घर फर्किदै छु ।” उनको भनाई थियो “बिमारी हुँदा कोहि पनि आत्तिएर धामी झाँक्री र जुन पायो उही अस्पतालमा नजाउन् र ठूल– ठूला अस्पताल पनि नधाउन् । ”
ग्रामिण क्षेत्रमा अझै पनि धामी झाँक्रि गराउने र स्थानीय स्वास्थ्य चौकीकै भर परेर रोग पाल्ने चलन रहेको छ । फुलमतीको पनि लामो समयदेखि स्थानीय तहमै भर परेर बिमार छिप्पाएको डा. भुषालले बताए । डा. भुषाल पाल्पा युनाइटेड मिसन अस्पतालमा एम.डि. गरी केहि समय त्यहाँको अनुभव बटुलेर आफ्नै गृह जिल्लाका नागरिकहरुलाई सेवा गर्ने उद्देश्यका साथ त्यस अस्पतालमा कार्यरत छन् । उनी तमघासका व्यवसायी नन्दराम भुषालका छोरा हुन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग