विदेशबाट फर्केका महिला भन्छन्- खाडीको पीडाभन्दा आधा पेट जाती
Published on
9:53:00 PM //
भरत पाण्डेय,
गाउँको मजदुरीभन्दा विदेशबाट टन्न धन कमाएर ल्याई सुखजिलो गरेर जीवन बिताउने सपना बोकेकी गुल्मी हस्तीचौर–३ की देवकुमारी कुमाल अहिले विदेश भन्ने शब्द सुन्न पनि सक्दिनन्। तीन महिनासम्म साउदीको बसाइमा यातनाबाहेक केही पनि सम्झन सक्दिनन्।
साउदी अरबबाट पैसा आउने दिन गन्न शुरु गरेका श्रीमान् र छोराछोरी देव कुमारीले प्राण मात्रै लिएर फर्केपछि ठूलो चिन्तामा परे। ‘ऋण खोजेर साउदी पुगेको, ऋण तिर्न त परै जाओस् साउदीमा सहेको यातनाको उपचार गर्ने पैसा नभएर अहिले छटपटीमै बाँच्नुपरेको छ, बरु यहाँ छँदा त मेलापात गरेर दुई छाक सजिलै खाएका थियौँ’, कुमालले रुँदै भनिन्– ‘अहिले न काम गर्न सक्ने ज्यान छ, न उपचार गर्ने धन।’ साउदी अरब जाँदा लागेको ऋण कसरी तिर्ने हो, कुमाल परिवारलाई ठूलो चिन्ता छ।
दार्जीलिङ माईत भई आफ्नै गाउँकी एक महिलाले धेरै धन कमाउने प्रलोभन देखाएकाले ऋण खोजी विदेश पुगेकी कुमालले त्यहाँ पुगेको २ महिना काम गरेपछि पैसाको साटो यातना भोग्न थालिन्। साउदीमा घरेलु कामदारको रुपमा काम गर्दा मालिकले बलात्कारसम्म गरेपछि उनी आत्महत्या गर्ने स्थितिमा पुगिन्। तर आत्महत्या पनि गर्ने ठाउँ नभएपछि बल्लतल्ल बाँचेर घर फर्केकी उनलाई अहिले ठूलो समस्या कसरी उपचार गर्ने भन्ने छ।
देवकुमारीजस्तै वैदेशिक रोजगारीको सिलसिलामा कुबेत पुगेकी रुरु गाविस थोर्गा रिडीकी ३० वर्षीया देवी ज्ञवालीको जीवनकहानी पनि उस्तै छ। कुमाल र ज्ञवाली मात्रै होइन, अवैधानिक तरिकाले विदेशमा जाने धेरै महिलाहरूले खाडी मुलुकमा यातना सहेर फर्कनुपरेको छ। नेपाली महिला भारतको बाटो हुँदै गैरकानुनी तवरले खाडीमा पुगेपछि विभिन्न समस्यामा परेका हुन्।
जिल्लामा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या ५ हजारभन्दा बढी रहेको र अधिकांश महिलाहरू घरेलु कामदारको रुपमा भारतको बाटो भएर जाने गरेका पिपुल फोरमकी जिल्ला संयोजक सञ्जीवनी अर्यालले बताउनुभयो। अर्यालका अनुसार फर्किएकाहरू पनि घरेलु कामदारको रुपमा गएर विभिन्न पीडा भोगेको र कागजी प्रक्रिया नपुगेकै कारण कुनै क्षतिपूर्तिविना पीडासहित स्वदेश फर्कन बाध्य हुने गरेका छन्।
घरको आर्थिक अवस्था कमजोर र महिला हिंसाको कारणले गर्दा महिलाहरू कानुनी प्रक्रिया नबुझी लुकेर विदेशमा जानुपरेको र त्यहीँ लुकेर जाने कारण नै जीवन बर्बादीको बाटो भएको विदेशबाट फर्केका महिलाहरूको बुझाइ छ। बच्चा हेर्ने भनेर दुबई पुगे पनि सक्ने नसक्ने सबै घरका काम गर्नुपरेकोले २ महिनामै नेपाल फर्केकी अर्खले गाविस वार्ड नं. ७ निवासी ३२ वर्षीय सीता भण्डारी एक थरी आश्वासन दिने र अर्को थरी काम लगाउने गरेपछि काम गर्न गाह्रो हुने बताउनुहुन्छ। ‘बच्चा हेर्ने भिसा लगाएर दलालले लग्यो तर त्यहाँ पुगेपछि गर्ने नगर्ने सबै काम गर्नुपर्यो, अनि त बस्न सक्ने कुरै भएन’, भण्डारी भन्नुहुन्छ– ‘आर्थिक अवस्था वा व्यवहारले पीडित बनाएर विदेश जान चाहने हामी महिलालाई लुकेर जानुपर्ने बाध्यता हट्यो भने पनि हामी ढुक्कसँग जान्थ्याँै, कानुनीरुपमा समस्या समाधान हुन्थे।’