Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जाँच दिन जाँदा परेँ प्रेममा, ८ कक्षा पढ्दा नै प्रेम प्रस्ताव

Published on 12:36:00 AM //


पहिलोपटक 'प्रेम' शब्दसँग परिचय हुँदा म आठ कक्षामा पढ्थेँ। मेरै क्लासमा पढ्ने एक जना केटाले मलाई 'तिमीलाई प्रेम गर्छु' भनेर पत्र लेखेको थियो। खाममा मसँग मिल्ने अर्कै साथीको नाम लेखिएको उक्त पत्रमा सम्बोधन भने मलाई गरिएको थियो- 'माई डियर मञ्जु' भनेर। तर, मलाई उसको त्यो तरिका मन परेन, पत्र हेडसरलाई दिएँ। उसले सजाय पायो। पछि ऊ लाजले गुल्मी छाडेर पाल्पामा पढ्न गयो।
मञ्जु पौडेल, गायिका
अरु केटाहरूका पत्र पनि आए। तर, मलाई तरंगित गर्ने प्रेम एसएलसी दिँदाखेरी भेटिएको एउटा केटासँग भयो। ऊ अर्कै स्कुलबाट एसएलसी दिन त्यहाँ आएको थियो। हामी बस्ने ठाउँनजिकै डेरा लिएर बस्थ्यो। संयोगले हाम्रो परीक्षा दिने हल एउटै थियो। बोलेका थिएनौँ, यसो हेराहेर भएको बेला आँखा जुध्थ्यो, भित्रभित्र कस्तो-कस्तो लाग्थ्यो। मेरो मनमा प्रेमको सारंगी रेटिन थालिसकेको त्यतिबेला पत्तो पाएँ, जब म उसको नजिक पुग्थेँ। नभेट्दा हेरौँ-हेरौँ लाग्ने उसको नजिक पुग्दा बोल्न गाह्रो हुन्थ्यो। एउटै हलमा परीक्षा दिइरहेका बेला पनि ऊ कहिलेकाहीँ मतिर हेर्थ्यो, म पनि हेरिरहन्थेँ। जब आँखा जुध्थ्यो, लेख्ने ऊर्जा बढेको महसुस हुन्थ्यो। कहिलेकाहीँ ऊ चाँडै लेखिसकेर निस्किन्थ्यो, त्यसपछि मेरो पनि कलमको रफ्तार बढ्थ्यो। म पनि चाँडै सकेर बाहिरिन्थेँ। ऊ मलाई कुरिरहेको हुन्थ्यो, सँगै घर जान्थ्यौँ। परीक्षा हलदेखि घर पुगुन्जेलसम्मको दूरी डेटिङ थियो हाम्रो। तर, कहिल्यै उसले 'मन पराउँछु' भनेन। म कसरी भन्न सक्थेँ र? परीक्षा सकिएको दिन चिठी लेखेछ। मेरो छ कक्षा पढ्दै गरेकी बहिनीको हातमा त्यही चिठी थमाएछ, 'तिम्रो दिदीलाई देऊ' भन्दै। बहिनीले चिठी ल्याई, त्यतिबेला बाआमा र म सँगै बसिरहेका थियौँ। मैलेभन्दा पहिले बाले हेर्नुभयो पत्र। त्यसपछि त आर्मीमा जागिरे बाबाको आँखा राता भइहाले। पत्र पठाउने केटाको नाम भन्दै सोध्नुभयो, 'त्यसलाई तँ चिन्छेस्?' मैले नाइँ भन्न सकिनँ। टाउको हल्लाएँ। बाले थाहा पाएर त्यसलाई केही गर्लान् भन्ने डरले उसलाई कहिल्यै भेट्न गइनँ। उसले के बुझ्यो कुन्नि? फेरि पत्र लेख्ने प्रयासै गरेन। डरले पहिलोपल्ट पलाएको प्रेम पनि हुर्काउन सकिनँ।
बुटवलमा कक्षा ११ मा पढ्दाखेरि फेरि एकजनासँग चक्कर चल्यो। हामी सँगै पढ्थ्यौँ। ऊ सधैँ चिटिक्क परेका लुगा लगाउँथ्यो, मिठो बोल्थ्यो। थाहै नपाई म ऊसँग नजिकिएछु। त्यस्तै एक वर्षजति त्यो प्रेमको सामप्यी महसुस गर्न पाएँ। हामी प्रायः एउटा रेस्टुरेन्टमा छोटो समयका लागि भेट्थ्यौँ। भविष्यका योजना, कल्पना आदिमा एकछिन हराउँथ्यौँ, त्यसपछि छुट्टिन्थ्यौँ। पछि घरबाट विवाहका लागि मलाई दबाब आउन थाल्यो। त्यसपछि ऊसँग कुरा गरेँ। ऊ पनि राजी भयो, घरपरिवार सबै राजी भए। पछि जात-गोत्र मिलाउँदै जाँदा शर्मा भने पनि ऊ हाम्रै जातको (पौडेल) रहेछ। त्यसपछि हामीलाई लाज लाग्यो। नजिकिँदै नजिकिएनौँ।
बेलुकी प्रायः एकजना साथी र म बुटवलको मिलनचोकमा कुल्फी खान आउँथ्यौँ। एकजना केटा पनि प्रायः त्यही टाइम मिलाएर इभिनिङ वाक गर्न हिँडेको भन्दै हामीकहाँ आउँथे। चिनजान भए पनि सँगै झ्याम्मिएर हिँड्नुपर्ने कुनै साइनो थिएन। कहिलेकाहीँ हामीले खाएको कुल्फीको पैसा पनि तिर्थे। मलाई लाग्थ्यो, मेरी साथीको आफन्त होला। तर, एक दिन अकस्मात् मेरो दिदीभिनाजुले विवाहको कुरा गर्नुभयो। केटा माग्न आएको छ भन्नुभयो। 'कस्तो रहेछ हेरौँ न' भनेको त त्यही कुल्पि्कको पैसा तिर्ने मान्छे! म त छक्कै परेँ। घरपरिवार र दिदीभिनाजु मेरो विवाह उसैसँग गरिदिन राजी भइसकेका रहेछन्। मेरो पनि भर्खरै प्रेम टुटेको थियो। त्यसपछि नाइँनास्ति गर्ने अवसरै पाइनँ। त्यतिबेला १९ वर्षकी थिएँ।

नागरिक शुक्रबारबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग