यसरी भयो हर्दिनेटामा बस दुर्घटना
Published on
5:30:00 PM //
म ट्रक चालक हुँ। केहिदिनको विदामा अर्घाखाँची मरेंग–७ को घर गएको थिएँ। आईतबार बिहान करिव ६ बजेतिर तम्घासबाट बस चढेर बुटवल हिडेको थिएँ। सबै सिट भरिएको थियो। म बसको ढोका नजिकै डण्डी समाएर उभिएको थिएँ।
सुरुमा बस सामान्य गतिमा थियो। एउटा ट्रकले दुईजना यात्रु उठाएपछि बसका चालक ट्रकले यात्रु चोर्यो भन्दै रिसाए। साँघुरो सडकमा उनले हर्न बजाएर ट्रकलाई उछिन्न खोजे। करिव २० मिनटसम्म ट्रक उछिन्न प्रयास गरे। पहाडी सडकमा खाली ट्रकलाई यात्रुले भरिएको बसले उछिन्न गाह्रै पर्छ। तर उनले जवर्जस्ति उछिन्ने प्रयास गरे। जव ट्रक उछिनेर मात्रै के भ्याएका थिए अगाडीबाट मोटरसाईकल आयो। बस करिव ६०/७० किलोमिटर प्रति घण्टाको गतीमा थियो। बाईक अत्तालिएर कुनाको नालिमा पल्टियो। बस ब्रेक पनि नलगाई उत्तिकै तेज गतिमा सोझै ढिकबाट तल खस्यो।
मैले टाउको माथिको डण्डी समाएको थिएँ। बस पहिलो भर्ल्याङ् खादा मेरो टाउको ठोक्कियो, तर मैले डण्डी पक्रेर शरिरलाई नियन्त्रणमा लिएँ। तल पुग्दासम्म बसले करिव ७/८ भर्ल्याङ् खाएको थियो। बसको मध्य भाग फुटेर बसबाट उछिट्टिएर मान्छेहरु खस्न थाले। यतिबेलासम्म म पुरै होसमा थिएँ। अचानक मैले समाएको डण्डी भाँचियो। म पनि बसको ढोकाबाट उछिट्टिएर बाहिर हुत्तिएँ। टाउको र निधारमा चोट थियो। म उठेर हिँडे। माथि निस्कन लाग्दा भिरमा दुई बर्षकी बच्ची अड्केर रोएको देखेँ। उनको टाउकोमा चोट थियो, रक्ताम्य थिईन्। उनलाई उठाएर सुरक्षित ठाउँमा राखेँ। गाउँलेहरु आएर मलाई माथि सडकमा निकाले। मेडिकलमा एउटा नदुख्ने सुई लगाएर मलाई गाडीमा मिसन अस्पताल ल्याइयो।
म आफू पनि सवारी चालक भएकोले बस ड्राइभरको चाला मलाई निको लागेको थिएन। उनी ट्रकलाई थप यात्रु खोस्न नदिन र उछिनेर रिस फेर्ने धुनमा थिए। चालकले रिसलाई नियन्त्रणमा राख्नु पर्छ। तर उनले रिस फर्न खोज्दा यति धेरै मान्छेको ज्यान गयो।
घाईते विकसंग मिसन अस्पतालमा गरिएको कुराकानिमा आधारित : गोकुल विक (घाईते)
साभार: दैनिक पत्रीका