Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"म बिदेश जान्न, गाउँमै पानीघट्ट चलाएर बस्छु"

Published on 12:04:00 PM //


प्रेम सुनार
गुल्मी, भदौ २० । "म विदेश जान्न!" " बिदेश गएका मेरै साथीहरु १०-१२ हजार मासिक कमाउन नसकेर ८-९ महिनामै फर्केका छन् । म बरु गाउँमै पानीघट्ट चलाएर बस्छु" ह्वाङ्दीका एक १८ बर्षिय किशोरले भनेको भनाइ हो यो । विज्ञान र प्रविधिको विकाससँगै अन्य गाउँमा भित्रिएका डिजेल र बिजुलीबाट सञ्चालित कुटानी-पिसानी मिलहरु आय लगत्तै परम्परागत ढिँकी, जाँतो र पानी घट्ट विस्थापित हुने अवस्थामा छन् । तर विकट गाविस ह्वाङ्दीमा भने पानी घट्टा सञ्चालन क्रम बढ्दो छ । ६-७ हजार लगानीमा मासिक १५ देखि २० हजारसम्म कमाउन सक्ने भएपछि त्यहाँका निम्न आय भएका मानिसहरुले पानी घट्टा टोल–टोलमा सञ्चालन गर्न थालेका छन् ।
सदरमुकाम तमघासदेखि घमिरसम्म पुग्दा डिजेलबाट चल्ने कुटानी पिसानी मिलको धुँवा र ध्वनी प्रदुषण नियाल्दै अर्खवाङ छिचोलरे ह्वाङ्दी पुग्दा भने त्यो स्थिती देख्न परेन । ह्वाङ्दी गाविस भवन नजिकै वडा. नं १ का झमन सिँ बुढा मगरले करिब १२ हजार लगानी गरेर २ वटा पानी घट्टा सञ्चालन गरी सरदर मासिक १५ हजार रुपैयाँसम्म आम्दानी लिने गरेको जानकारी पाइयो ।
“यही १५ हजार महिनाको आम्दानी लिन मानिसहरु एक डेढ लाख खर्चेर खाडी मुलुक गएका छन्" बुढा मगरले भने मैले त्यस्तै १०-१२ हजार लगानी गरेर यहीँ नै त्यती आम्दानी लिने गरेको छु । स्थानीय सिसौको काठको डुँड बनाएर पानी खसालेका उनले पाइप र पानी घट्टाको पोरा आधुनिक प्रबिधि भए अलि छिटो पिस्ने र आम्दानी बढ्ने बताए । हामीसँगै पुगेका नेकपा एमाले नेता हिरा एसी भन्दै थिए “पानी घट्टा परम्परागत रुपले मात्र महत्तपूर्ण छैन डिजेलबाट चल्ने मिलहरुको ग्याँस, धुवाँ र ध्वनीको प्रदुषणको तुलनाले पनि महत्तपूर्ण छ । उनले थपे आर्थिक रुपमा पनि पानी घट्टा मितव्ययी छ ।
एक त लगानी कम दोस्रो मिलमा प्रति पाथी १० रुपैँया लिइन्छ भने पानी घट्टामा जम्मा ५ रुपैयाँ । प्रशस्त ठाडा खोलाहरु भएको ह्वाङ्दीमा असार देखि मंसिरसम्म १८ वटा पानी घट्टा चल्दा रहेछन् । पानी सुक्छ त्यसैले ६ महिना पानी घट्टा चलाएको आम्दानीले वर्षभरीको खर्च पु¥याउछौ बुढा मगरले भने । १८ वर्षिय मानबहादुर वि.क. परम्परागत शैलिका पानी घट्टाका सामग्रीहरु आधुनिक बनाउने काममा जुटेका छन् ।
"बाबुले वर्षभरी ५०औं घरधुरी बालिघरे काम गर्दा हामी छोराछोरी पाल्नै गार्हो थियो", वि.क .ले भने - "मैले वालिघरे गर्दिन यिनै पानीघट्टा लगायत आरनका अन्य काम गरेर मासिक सरदर २० हजार जती कमाउछु ।" सरकारी निकायले लगानी गरिदिन सके उनले आफ्नो बिकट गाउँ ह्वाङ्दीमै त्यो आरनलाई उद्योगका रुपमा विकास गरेर मासिक ५० हजार भन्दा बढी रकम कमाउने सपना देखेका छन् ।
"म बिदेश जान्न !" उनले भने, " बिदेश गएका मेरै साथीहरु १०-१२ हजार मासिक कमाउन नसकेर ८-९ महिनामै फर्केका छन् । म बरु गाउँमै पानीघट्ट चलाएर बस्छु" । उनको त्यो प्रगति नियाल्दै हामी प्रत्येक वडामा सञ्चालित पानी मिलहरु गन्दा २३ वटा पायौँ त्यसमध्ये ह्वाङदीको तल्लो भेग वडा नं १ र २ का ५ वटा घट्टा भने बार्है महिना चल्दा रहेछन् । एसी भन्दै हुनुहुन्थ्यो सहरतिर बसेर पत्रकारिता गर्नु भन्दा यही गाउँमा बस्नुस र घट्टा पनि चलाउनुहोस् पत्रकारिता पनि गर्नुहोस् ।
परम्परागत शैलीका ति पानी घट्टाहरुलाई आधुनिक प्रविधिको विकासमा राज्यले सहयोग गरिदिन सके ह्वाङ्दी सहित त्यत्तिकै खेर गएका अन्य गाविसका ठाडा खोलाहरुबाट निम्न आय भएका मानिसहरुलाई भरपर्दो रोजगार मिल्ने हामीले विश्लेषण गर्यौ ।
वडा नं ७ का दलसिंह बुढाले पनि २ वटा पानी घट्टा चलाएर झण्डै एक दर्जन परिवारका सदस्यहरुको पालन पोषण, पठनपाठन चलाउँदै आउनु भएको रहेछ । “के गर्नु उहि पुरानो शैलीमा चलाउदा खासै आम्दानी छैन उनले भने पाईपबाट पानी र स्टीलका पोराहरु भईदिए राम्रो आम्दानी लिन सकिन्थ्यो । निस्तेखोलाको पानी पानी घट्टामा मात्र सदुपयोग भएको रहेनछ , १५ किलोवाट बिद्युत उत्पादन गरेर हवाङदी र अर्खवाङ गाविसका केहि वडाहरु झिलीमिली भएका पनि रहेछन ।
कुनै समय तमघास जान पाए टिभि हेर्न पाईन्थ्यो भन्ने त्यहाँका मानिसहरु अहिले घर घरमा टिभि, कम्प्युटर राखेर इमेल इन्टरनेटको दुनियाँमा रमाउन थालेका रहेछन् । तर पनि आधुनिक प्रबिधिको विकास सँगै भित्रिएको मनोरञ्जनका साधनले ती गाविसका जनताहरुलाई पनि अल्छिपनामा धकेलेको रहेछ । कुनै समय बिहान भालेले डाँको पूर्व नै ढीँकी जाँतोको आवाज सुनिने बिकट गाविस ह्वाङ्दीमा बिहान ७ बजेतिर उठ्ने र कामतिर लाग्नुपर्ने बालवालिका युवायुवती टेलिभिजन खोलेर झुम्मिने गरेको पाईयो ।
ढिँ की जाँतो गर्न नपर्ने हप्तामा एक दिन घट्टामा गए पुग्ने भएकाले पनि होला भालेको डाँकोसगै उठ्न नपरेको । त्यस निस्तेखोलाको पानी पुर्णरुपमा सदुपयोग गर्न सके लोडसेडिङ्गमुक्त जिल्ला भनिएको सदरमुकाम तम्घासमा छिन छिनमा बत्ती जाने समस्याबाट वाक्क भएका मानिस ह्वाङदी अर्खवाङ्गमा उद्योग ब्यापार गर्न पुग्थे भन्ने हामीले अनुभुत गर्यौ । केहीबर्ष अघिसम्म लामो झुमके बुलाकी, काडे फुली चारनी र आठानीको हारी हातमा छापे औठी , घलेक र गजा भिर्ने ह्वाङदी, अर्खवाङ्ग र नेटा दलिङ्ग तिर आजकाल फेसन पनि तम्घास बुटवल बजारमा भन्दा कम रहेनछ । केही बुढापाका बाहेका युवायुवतीको आधुनिक फेसनसँगै मोवाईल हातहातमा र उनीहरुको चहलपहल देख्दा त्यो बिकट गाउँका मान्छेलाई कसैले पाखे भन्छ भने त्यो भ्रम सिद्ध गरेका रहेछन ।
यता दर्लिङमा पनि ७ वटा पानी घट्टा चलेका रहेछन । स्थानीय माओवादी नेता नर बहादुर श्रीस भन्छन “सधै राजनितीमा हिँडेर खर्च चलाउन मुस्किल परेपछि १०-१२ हजार लगानी गरेर २ वटा पानी घट्टा चलाएको छु । दिनभर गाउँका सामाजिक काममा ब्यस्त भएपनि रातभर पानी घट्टा चलाउछु श्रीसले भने ।” यी माओवादी कार्यकर्ता सहित त्यस क्षेत्रका कांग्रेस  र एमाले कार्यकर्ता प्रतिस्पधात्मक रुपमा आय आर्जन मुलक कार्यमा लागेका छन । त्यसमा राज्यले लगानी र प्रविधी सहयोग गर्न सके बेरोजगारलाई भत्ताको आवश्यकता नर्पला की ?

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग