गरिबलाई रुवाउँछ तिजले
Published on
1:03:00 AM //
गगनशिला खड्का/नयाँ पत्रिका
गुल्मी, २ असोज
झपक्क गरगहना, झिलिमिली पहिरन, दायाँ हातमा फूल अक्षताको थाली, बायाँ हातले लर्केको सारी सम्हाल्दै मन्दिर धाउनेको लर्को । अनि पूजा सकेर घरमा पाहुनालाई थरीथरीका परिकार खुवाउने चटारो । एकथरी महिलालाई भ्याईनभ्याई भयो तिजमा । तर, एकथरीका लागि भने तिजमा न व्रत न मन्दिर दर्शन । तिजमा बढेको महँगो लवाइखुवाइले छरछिमेकको दाँजोमा खर्च गर्न नसक्दा गुल्मी तम्घासकी मिना खत्री यसपालि माइत जान पाइनन् ।
पुर्कोटदह घर भई तम्घास-६ मा डेरा गरी बस्ने खत्रीलाई अरूजस्तै चिटिक्क पर्न नसकेपछि माइती नै जान मन लागेन । 'दुई वर्षअघिसम्म त आफ्नै माइत दौडेर गइन्थ्यो, आइन्थ्यो,' खत्रीले भनिन्, 'अहिले त दिदीबहिनी गहना कपडाले झपक्क भएर आउँछन् । जमानाले माइतै जान नसक्ने बनायो ।'
'धनीमानीका लागि तिज रमाइलैसँग आउँछ, जान्छ, तर आफूजस्ता कसरी दुई छाक टारौँ भन्नेहरूका लागि मेलापर्व कहिल्यै नआए पनि हुन्थ्यो जस्तो लाग्छ,' उनी भन्छिन् ।
प्युठानको खारबाट तम्घास बजारमा डेरा गरी बसेकी साइँली विक मंगलबार तम्घासको क्याम्पस रोडमा सिमसिमे पानीका बीच हथौडाले ढुंगा कुट्दै थिइन् । छेवैबाट सयौँ महिला रातो सारीमा ढल्कँदै ओहोरदोहोर गरे । कति छेवैका पसलमा गहना कपडा छान्न व्यस्त छन् । तर, उनलाई भने एक मात्र सुर्ता छ, साँझ छोराछोरी पाल्ने खर्च कसरी जुटाउने ? 'तिजमा माइत जाने रहर कसलाई लाग्दैन र ! तर, माइती टाढा छ, बाटोखर्च छैन,' साइँली भन्छिन्, 'काम गरेको साँझ केटाकेटी पाल्दा ठिक्क हुन्छ । '
रिडी बगरमा बालुवा चाल्दै गरेकी जुना राईको दुःख झन् पीडादायी छ । श्रीमान्ले छाडेर गएको १२ वर्ष भयो । फर्केर आएनन् । दुई छोरा पाल्न उनलाई तिजले छोएन । पल्लिकोटको जिसी परिवारमा माइती भएकी जुनाको मिस्त्री काम गर्दा गर्दै विवाह भयो । पति पाँच वर्ष सँगै बसे, त्यसपछि गएका फर्केर आएनन् । 'मलाई त त्यो तिजको गीत सुन्दा पनि आँसु आउँछ र एकान्त कुनामा आएर बालुवा चाल्दै छु,' जुनाले भनिन्, 'के तिज मनाउनु, ठेकेदारले भरे खाने खर्च दिए भने यसैले केटाकेटी पाल्ने हो ।'
बाग्लुङ, प्युठानलगायत जिल्लाबाट मजदुरी गर्न तम्घास पसेका धेरै महिला तिजको रमाइलो गर्न नपाएर साँझको छाक टार्न मिहिनेत गरिरहेका छन् । मजदुरी गर्न तम्घास आएका एक दर्जनभन्दा बढी १२ देखि बीस-बाइसे उमेरसम्मका महिलालाई पनि तिज आएन । उनीहरू तम्घासकै विभिन्न घर र होटेलमा छन् ।
निर्माणाधीन जिल्ला अदालतपरिसरमा श्रीमान् र सानो छोरासँग अस्थायी छाप्रोमा बस्दै आएकी दालसरी पुनका छिमेकी साथीभाइ सबै काम छाडेर रमाइलो गर्न माइत गए । तर, उनी भने मुटु गाँठो पारेर गिट्टी कुट्दैै थिइन् । रोल्पाको सिउरी गाविसबाट तम्घासमा मजदुरी गर्न आएकी पुनको पनि बाटोखर्च जुटाउन नसकेर यसपालिको तिज छाप्रोमै एक्लै बित्यो । माइतीमा बिताएको विगतको तिज सम्झेर आँखा टिलपिल पार्दै पुनले गरिबका लागि चाडपर्व दसासरी भएको बताइन् । 'पोहोर त घरगाउँमै रमाइलो थियो, अहिले पनि सबै छिमेकी गए,' उनले भनिन्, 'जाँदा गाडीमा तीन दिन लाग्छ, एक दिन हिँड्ने हो, आउँदा जाँदा ६ दिनको बाटोखर्च कसरी जुटाउने ? बाँचिएछ भने अर्को साल गइएला नि !'
पछिल्लो समयको भड्किलो तिज न्यून आय भएकाका लागि निकै समस्या भएको छ । पहिला-पहिला सबै दिदीबहिनी माइतीमा भेला हुने, वर्ष दिनसम्म घरमा बेहोरेका बेदना गीतमार्फत व्यक्त गर्ने गर्थे । 'तडकभडक देखाउने पर्वका रूपमा परिणत हुँदा तिजले धेरै गरिब महिलालाई रुवाएको छ,' लेखिका यमुना अर्याल भन्छिन्, 'पहिला-पहिला तिज मनका बह फुकाएर दिदीबहिनीले मन हलुका पार्ने र एक दिन भए पनि दुःखपीडा बिर्सेर केही सन्तोषको अनुभूति गर्ने पर्व थियो, अहिले गीतसँगै गहना कपडा प्रदर्शन गर्ने माध्यम बनिदिँदा गरिबका लागि यो पर्व समस्या भएको छ ।'