दशैँ खर्च जुटाउन मजदुरी गर्दै छन बालबालिकाहरु
Published on
1:46:00 AM //
विष्णु पौडेल
गुल्मी, कार्तिक ३ । ‘दसैंमा मासु खानु प¥यो, घरमा पैसा छैन, काम नगरे कसरी आउँछ त पैसा ?’ प्युठान स्याउलीवाङका १० बर्से बालक दिनेश बुढामगरले भने, ‘त्यसैले दसैं खर्चका लागि होटलमा भाँडा माझ्दै छु ।’ बाबुले दिनभर मजदुरी गरेको पैसाले साँझ बिहानको छाक मुस्किलले टर्ने गरेको उनले बताए । ‘दसैंमा सबैले मीठो खाने राम्रो लगाउने गर्छन्,’ उनले थपे, ‘एकसरो कपडा फेर्न पैसा पनि नभएपछि दसैंमा मीठो खान खर्च जुटाउन काम गर्ने गर्छु ।’ उनी स्याउलीवाङ–४ को देउराली प्राथमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन् । दसैं तिहारको बिदा भएपछि उनी यसरी सदरमुकाम तम्घासमा मजदुरीका लागि आएका हुन् । उनीमात्रै होइन, दसैं तिहार बिदाको मौका छोपी उनका साथीहरू पनि मजदुरीका लागी तम्घास आएका छन् ।
जुद्धवीर नेपालीले भने, ‘बुबासँग पैसा छैन, उहाँले पनि काम गर्नुहुन्छ, पढ्नका लागि कापीकलम र दसैंमा राम्रो कपडा लगाउने पैसा कमाउन काम गर्न आएको हुँ ।’ उनले टीका लगाउने दिनभन्दा एक÷दुई दिनअगाडि घर जाने बताउँदै कामका आधारमा साहुले पैसा दिन्छु भनेको सुनाए । उनी मात्रै होइन, घरको आर्थिक अवस्था निकै दयनीय भएका कारण प्युठानकै जितुलाल बुढाले पनि झन्डै डेढ वर्षदेखि होटलमा भाँडा माझ्दै आएका छन् ।‘सबै साथी दसैंमा घर जान्छन्, रमाइलो गर्छन्,’ उनले भने, ‘मलाई त यसपालि साहुले घर जान दिएन, अर्काको घरमा काम गर्न बसेपछि भनेको मान्नै प¥यो ।’ उनी गाउँको विद्यालयमा कक्षा ५ मा पढ्दापढ्दै मजदुरीका लागि सहर पसेका हुन् । घरमा आयस्रोतको बाटो केही नभएपछि उनी आफ्ना दाइसँगै तम्घासको एक होटलमा भाँडा माझ्दै आइरहेका छन् ।
उनका दाइले भने, ‘पैसा नभएपछि भाइको पनि पढाइ बिग्रियो, भाइले पनि पढाई छोडेर म सँगै काम गर्दै आइरहेको छ ।’ उनीहरूजस्तै गुल्मी जिल्लासँगै सिमाना जोडिएका प्युठान र बागलुङलगायतका जिल्लाबाट विद्यालय उमेरका बालबालिकाहरू मजदुरीका लागि तम्घास आउने गरेका छन् । गुल्मी जिल्लाका पनि अधिकांश दलित तथा विपन्न परिवारका बालकहरू मजदुरीका लागि सदरमुकाम आउँछन् ।
जिल्लाको अम्मरपुर गाविस राङदलका १२ वर्षीय कुमाल समुदायका बालक पनि पढ्ने रहर हुँदाहुँदै सदरमुकामको एक होटलमा भाँडा माझ्ने गरेका छन् । नाम नभनी उनले भने, ‘पढ्नलाई कापीकलम किन्ने पैसा छैन, बुबाले दिनभरि अरूकोमा काम गर्नुहुन्छ ।’ उनीजस्तै दजनौं बालबालिका दसैं खर्च तथा अन्य खर्च जुटाउन गुल्मी सदरमुकाम तम्घासमा मजदुरी गर्ने गरेका छन् ।
बालमजदुरको संख्या एकिन नभए पनि दर्शनौं बालबालिका जिल्लाको सदरमुकामसहित अन्य ग्रामीण बजारहरूमा मजदुरी गरिरहेका छन् । उनीहरूले होटलमा भाँडा माझ्ने, गिटी कुट्ने, गाडीबाट सामान झार्ने तथा निर्माणसम्बन्धी विभिन्न काम गर्ने गरेका छन् । मजदुरीका लागि सहर पस्नु उनीहरूको रहर होइन, बाध्यता हो । जिल्लामा निर्माणाधीन अधिकांश सरकारी कार्यालयहरूमा पनि विद्यालय उमेरका बालबालिका मजदुरका रूपमा काम गरिरहेका छन् । तर, बालबालिकाको पक्षमा काम गर्ने बताउने ती कार्यालयहरूले पनि अहिलेसम्म केही गरेका छैनन् । जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन अवस्थामा रहेका जिल्ला अदालत, नेपाल दूरसञ्चार प्राधिकरणको शाखा कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला विकास समितिको चमेना गृह (क्यान्टिन) सहित सरकारी तथा अधिकांश निजी भवनहरूमा पनि बालबालिकाहरूले मजदुरी गरिरहेका छन् ।
उनीहरूले सिमेन्टका बोरा बोक्ने, छड बोक्ने, गिटी फोर्ने, बालुवा बोक्ने, गिटी, बालुवा, सिमेन्ट मुछ्नेलगायतका काम गर्ने गरेका छन् । बालबालिकाको पक्षमा काम गर्ने दाबी गर्दै गठन भएको जिल्ला बालकल्याण समितिको पनि यसतर्फ ध्यान पुग्न सकेको छैन । समितिका अध्यक्षमेत रहेको प्रमुख जिल्ला अधिकारी कवीन्द्र नेपाललाई जिल्लामा कति बाल मजदुर भन्ने पत्तो छैन । ‘जिल्लामा कति मजदुर बालबालिका छन् र तिनको अवस्था कस्तो छ भन्ने त अहिले थाहा छैन,’ प्रजिअ नेपालले भने, ‘त्यसका लागि बालकल्याण समितिले कार्ययोजना बनाएर काम सुरु गर्दै छ ।’