युवायुवतीले ल्याए गाउँमा रौनक
Published on
2:17:00 AM //
घनश्याम गौतम
गुल्मी, कार्तिक ५ - लामो समयदेखि युवाविहीन गाउँ दसैंसँगै भरिभराउ हुन थालेका छन् । धेरै समयदेखि सहरका रैथाने भएका युवायुवती गाउँ प्रवेशसँगै गाउँको रौनकता बढेको छ । दसैं र युवाको आगमनले गाउँमा छुट्टै चहलपहल छ । गाउँको चहलपहलसँगै सहर बजार सुनसान बनेका छन् ।

रोजगारी, अध्ययन, व्यापार व्यवसाय लगायतका कामले सहर रोज्नेहरू प्रायः वर्षमा एकपटक दसैंमा मात्र घर र्फकने भएकाले गाउँहरू भरिभराउ हुन थालेका हुन् । सहरको कोलाहल, कामको व्यस्तता, तनावपूर्ण दिनहरूलाई बिर्संदै दसैं मनाउन गाउँ पसेकाहरूको फुर्सदले उत्साह र उमङ्गसमेत बोक्ने गरेकाले केही दिनका लागि भए पनि गाउँ रमाइलो हुने अर्जैका सुरज भण्डारीले बताए ।
'म आएको पाँच दिन भयो,' भण्डारीले टेलिफोनमा भने, 'अघिपछि गाउँ आउन मनै लाग्दैन,' उनले भने, 'दसैंमा भने कहिले गाउँ पुगौं, पुगौं जस्तो हुन्छ ।'
वर्षौंदेखि बिछोडिएका साथीसंगीहरूको भेटघाट, सम्बन्ध विस्तारका कारण पनि सहरमा बसेर गाउँ फर्केकाहरूलाई केही दिन गाउँको बसाइ रमाइलो नै लाग्ने गर्दछ । 'तर पूर्वाधार र प्रविधिको विकासमा भएको ढिलाइले भने दिक्कै लाग्ने गर्दछ,' जुभुङ्गकी सीता थापाले भनिन्, 'अब धेरै युवापुस्तालाई प्रविधिबिना टिक्नै नसक्ने बनाइदियो ।' शुक्रबार गाउँ फर्किएकी थापाले सहरमा मोबाइल र फेसबुकमार्फत हुने साथीभाइको सम्बन्ध गाउँमा प्रत्यक्ष हुने भए पनि त्यो सीमित मात्र हुने बताइन् । 'त्यो मात्र नरमाइलो हो,' उनले थपिन, 'अरू त सबै रमाइलै छ ।'
गाउँको चहलपहलसँगै सहरमा सुनसान धेरै बढेको छ । सवारी साधनमा बाहेक अन्य क्षेत्रको व्यापार व्यवसाय घट्दो छ । पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकासले पनि सदरमुकाममा व्यापार व्यवसाय घटाउँदै लगेको व्यवसायीको अनुभव छ । 'ठूला बजारहरूबाट सवारी साधनले सीधै ग्रामीण क्षेत्रमा मालसामान ढुवानी गर्न थालेपछि तम्घासको व्यापार पहिला जस्तो छैन,' तम्घासका व्यवसायी तेजेन्द्रकुमार श्रेष्ठले भने, 'अहिले त बजारमा भन्दा गाउँमै व्यापार राम्रो हुन थाल्यो ।'
पछिल्लो एक सातामा जिल्लाका रिडी, खैरेनी, शान्तिपुर, मजुवा, वामीटक्सार, वीरबास, सिमलटारी लगायतका ग्रामीण बजारहरूमा भने चहलपहल बढ्दै गएको छ । शान्तिपुरका व्यवसायी दामोदर सापकोटाले सुस्ताएको व्यापार व्यवसाय चाडपर्वमा केही फरक हुने गरेको बताए । 'अहिले चहलपहल बढ्दो छ,' उनले भने, 'दसैंमा युवायुवतीहरूको गाउँ र्फक अभियानले यस्तो भएको हो ।' दसैंबाट सुरु भएको ग्रामीण क्षेत्रको चहलपहल तिहारसम्म नै रहने सापकोटाले बताए ।