दशैँ आउँदा तिहार आउँदा मेरै झल्को आउँछ होला
Published on
5:53:00 PM //
-जीवन शर्मा अर्याल
दशैँ आउँदा तिहार आउँदा मेरै झल्को आउँछ होला
पिना सुक्दा काग कराउँदा मेरै झल्को आउँछ होला
रंग फेर्दा पधेंरोले घर पोतिंदा कमेरोले
लट्ठो बाट्ने खर कटाउँदा मेरै झल्को आउँछ होला
बाटोघाटो खन्दै साथी दशैँ आयो भन्दै साथी
पिङ हाल्न बाँस ढलाउँदा मेरै झल्को आउँछ होला
खेतैभरी धान फल्दा सेल रोटीका चुल्हो बल्दा
देउसीभैलो गीत बजाउँदा मेरै झल्को आउँछ होला
छोराछोरी उफ्रीउफ्री बाबुआमा परी कुप्री
जमरा टीका पर्साउँदा मेरै झल्को आउँछ होला